काठमाडौं /लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो ।

लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए । आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताए ।

आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् । मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ ।

सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण लोकसेवा आयोगले मागेका पदमा प्रतिस्पर्धा गर्न आवेदन दिनेको संख्या वर्सेनि बढ्ने गरेको छ ।