बैतडी/छाउपडीको अन्त्यका लागि बैतडी जिल्लामा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ । chaupadi महिला हिंसाको अर्को रुप मानिने छाउपडी कुप्रथा अहिले पनि समाजमा व्याप्त रहेकाले यसको अन्त्यका लागि काम गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो । इन्द्रसरा खड्काको अध्यक्षतामा शनिबार सात सदस्य राष्ट्रिय छाउपडी महिला सञ्जाल गठन गरिएको हो जसमा पार्वती भट्ट, सरस्वती भट्ट, मीना चन्द, जानकी बोगटी, अम्बिका भण्डारी, लक्ष्मी विष्ट र वसन्ती भट्ट छन् । बैतडी जिल्लालगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा अझै पनि महिनावारी भएका बेला अलग्गै बस्नुपर्ने र दूध, दही खान नहुने परम्परा रहेको छ । छाउपडीले घरमा बस्दा देवता रिसाउँछ भन्ने पुरातनवादी सोचले महिलाले विभिन्न किसिमका समस्या सहेर बस्नुपरेको छ । जिल्लामा गठन भएको यो समितिले छाउपडीका बारेमा सचेतना फैलाउने कार्य गर्ने जनाइएको छ । रासस