दशैँअघि धरानबाट सार्वजनिक बस चढेर आप्नो जन्मथलो धनकुटासम्म पुग्दा पहाडी लोकमार्गमा सार्वजनिक सवारीमा अहिले बढ्दै गरेको ट्राफिक निगरानीको प्रत्यक्ष अनुभूति गर्ने मौका मिल्यो । धरानबाट तेह्रथुमको लागि छुटेको बस विगतको तुलनामा निकै खुकुलो र आरामदायी भएको महसुस भयो ।
गत साउन १३ गते पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित अन्य चौधजनाको ज्यान जाने गरी वसन्तपुरबाट धरान आउँदै गरेको बस सिधुवानजीकै दुर्घटनापछि मात्र सुरक्षा सतर्कता केही बढेको उदाहरण थियो त्यो । ठाउँठाउँमा प्रहरी चेक पोस्ट तथा सवारी साधन चेकजाँचका लागि कडाइपूर्वक सडकमा खटिएका ट्राफिक प्रहरीको निगरानीका कारण सार्वजनिक यातायात सम्बद्ध व्यक्तिहरु पनि केही संवेदनशील भएका हुन् कि जस्तो महसुस गर्ने मौका पाइयो । धरानदेखि धनकुटासम्म यात्रा गरुञ्जेल सिट क्षमताभन्दा बढी र हुटमा यात्रु हालेको पाइएन । यो एउटा सकारात्मक पाटो रह्यो तर यसले निरन्तरता पाएन । भर्खर सकिँदै गरेको चाडपर्वलाई दृष्टिगत गर्दा सार्वजनिक सवारी साधनको कमी भएको देखियो ।
चाडपर्वको अवसरमा यातायात व्यवसायीले बाध्य भएर सिट क्षमताभन्दा बढी यात्रु चढाइरहेका छन् भने यात्रुले पनि गाडीका सबै कुनामा अटुञ्जेल चढ्ने कोशिस गरेको पाइयो । ट्राफिक प्रहरी र अन्य जिम्मेवार निकायले यसको सही अनुगमन र नियन्त्रण समयमै गर्न नसके फेरि पनि दुर्घटना निम्तिन सक्छ । पहाडी लोकमार्गमा भन्दा तराईका सडकमा सार्वजनिक सवारीमा कम निगरानी भएको छ । तराईमा धेरै सङ्ख्यामा ट्राफिक प्रहरी भए पनि लाइसेन्स र ब्लुबुक जाँच गर्नेभन्दा अन्य पक्ष कमजोर देखिन्छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इटहरीपूर्व दमकसम्म अत्यन्तै दुर्घटना हुने क्षेत्र हो जहाँ प्रहरीको रिपोर्टअनुसार दैनिक कम्तीमा एक स्थानमा सवारी दुर्घटना हुने गरेको पाइएको छ । त्यसमा पनि जङ्गल क्षेत्र झन् बढी सवारी दुर्घटना हुने क्षेत्र हो । सवारी दुर्घटना हुनुका थुप्रै कारणहरु छन् । लापरवाहीपूर्वक सवारी कुदाउनु नै मुख्य कारण हो तर कहिलेकाहीँ आपूm सचेत हुँदाहुँदै पनि सवारी दुर्घटनामा पर्ने गरेका छन्, सडकवरपर सुकेका रुखहरु, चौपाया पशुहरु र पैदल यात्रुको कारणले । ठूला गाडीहरुको प्रतिस्पर्धाले गर्दा साना गाडीहरु कुनै बेला सडक किनारबाट भाग्नुपर्ने देखिन्छ । सडक छेउछाउका सुकेका रुखहरु कसले काट्ने र कहिले काट्ने, केही टुङ्गो छैन । यसै कारणले हावाहुरी आउँदा र झरीवर्षा हुँदा यस्ता रुखहरु ढल्छन् र सवारी दुर्घटनामा पर्ने गर्दछन् । त्यस्तै चौपायाहरु अव्यवस्थित तरिकाले सडकमा छाड्नु पनि अर्को समस्या हो ।
कहिलेकाहीँ यसरी छाडिएका पशुहरु सडक छेकेर बसेका हुन्छन् त कहिले सवारी साधनलाई नै हान्न आउँछन् । त्यस्तै पैदलयात्रु भने ट्राफिक सचेतनाको कमीले गर्दा हो या साँघुरो सडक भएर हो, दुर्घटनामा पर्ने गरेका छन् । वन कार्यालय तथा सडक विभागलाई थाहा भएर हो या नभएर हो, सडक किनारका रुखहरु काट्ने गरेको पाइएको छैन । सडक विभागको लापरवाहीले गर्दा जोखिमपूर्ण यात्रा गर्न विवश छन् यात्रु तथा सवारी चालकहरु । यस विषयमा समयमै सरकारको ध्यानाकर्षण हुन आवश्यक छ । त्यस्तै हिजोआज सडकमा गुड्ने ठूला सवारी साधनले सडकमा गाडी बिग्रँदा पोखिएको मोबिलमा चिप्लिएर र ओट लगाउन राखिएको ढुङ्गामा ठोकिएरसमेत थुप्रै दुर्घटना भइरहेका छन् ।
बिग्रिएको सवारी साधन बनाइसकेपछि सडकको मोबिल र ढुङ्गा सफा गर्ने जिम्मा कसको हो ? अहिले ढिलै भए पनि पहाडी लोकमार्गमा सुधारका लागि सरकारका निकायहरुमा केही सकारात्मक तत्परता र लगनशीलता देखिएको छ तर यातायातसम्बद्ध संस्थाहरुले यात्रुको सुरक्षा तथा दुर्घटनारहित यात्राका लागि आत्मादेखि जिम्मेवारी बोध नगरेसम्म नियमहरुको परिपालनामा ट्राफिक प्रहरीको कडाइ आवश्यक देखिन्छ । दुर्घटना न्यूनीकरणका लागि पर्याप्त ट्राफिक प्रहरीको पनि अभाव हुनु र भएका पनि शहर केन्द्रित हुनु अर्को समस्या हो ।