विराटनगर । ६ हजार बढीले अवलोकन गर्दै तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ ।

झी पुचः (नेपाल भाषा तथा संस्कृति सङ्घ) को आयोजनामा विराटनगरस्थित झी पुचः  परिसरमा भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवमा नेवारी खानाका परिकारको साथै अन्य विभिन्न समुदायका परिकार पनि रहेको थियो । महोत्सवमा मैथली परिकार पनि रहेको थियो । महोत्सवमा २० वटा खानाको परिकारसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो । नेवार सामुदायका किशोर किशोरीहरूले ‘धिमे बाजा’ बजाएर महोत्सवमा थप रौनक दिए ।

खानाको परिकारबाहेक महोत्सवमा पर्यटक हाट पनि लागेको थियो । महोत्सवको पहिलो दिन तीन र दोस्रो दिन तीन हजार गरी ६ हजार बढीले महोत्सव अवलोन गरेको कार्यक्रम संयोजक तथा झी पुचः को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि पहिलो पटक भव्य रूपमा नेवाः महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड–१९ ले रोकिएपछिको यो महोत्सव तेस्रो हो । यसपटकको नेवाः महोत्सव भव्य रूपमा सुरु भएको झी पुचः का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।

सोही अवसरमा मन्त्री राजभण्डारीले झी पुचः को नेवारी कलात्मक मुख स्वागतद्वारको पनि उद्घाटन गरेका थिए । झी पुचः मा रहेको सङ्ग्रहालयको पनि प्रमुख अतिथि, अतिथिहरूले अवलोकन गरेका थिए । सङ्ग्रहालयमा नेवारी समुदायको सांस्कृतिक पहिरन र भाँडावर्तनहरू रहेका छन् ।

४२ वर्षअगाडि नेपाल सम्बत् ११०१ अर्थात् वि.सं. २०३८ सालमा मुनाफारहित एवम् तटस्थ संस्थाको रूपमा झी पुचः विराटनगरमा स्थापना भएको हो । झी पुचः ले प्रत्येक वर्ष नेपाल सम्बत्को नयाँ वर्ष (न्हुँ दः), बेल विवाह, ब्रतबन्ध, गाईजात्राजस्ता सांस्कृतिक कार्यक्रमहरू सामूहिक रूपमा आयोजना गर्दै आएको छ ।

नेपाल भाषा, साहित्य, कलाको पनि जगेर्ना पनि गर्दै आएको  झी  पुचः का महासचिव सुरेशलाल श्रेष्ठले बताए ।  नेवाः संस्कृति र भाषाको प्रवद्र्धन तथा जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

news-mofhisj-1

news-3