धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट तीन सय ४१ किलो गाँजा बरामद भएको छ ।

सकारपियो दुर्घटनास्थलबाट शङ्कास्पद अवस्थामा भेटिएका एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मङ्गलबार राति करिब ११:५५ बजे ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा.१३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकै भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट सइ भीमबहादुर श्रेष्ठको कमान्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले गाडी चेकजाँच गर्दा बोरामा प्याक गरी राखिएको तीन सय ४१ किलो गाँजा बरामद गरेको हो ।

दुर्घटनाग्रस्त स्कार्पियो गाडीभित्र भने कोही फेला नपरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै शङ्कास्पद अवस्थामा रहेका मोरङ विराटनगर महानगरपालिका-९ घर भई हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१० बस्ने ३९ वर्षका अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बरामद गाँजा र स्कार्पियोसहित विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।