विजयपुर । झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
मेचीनगर–१२ का २६ वर्षीय सरोज थापा मगरलाई ६ ग्राम २८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । अर्जुनधारा नगरपालिका–८ का २७ वर्षीय महमत सुलेमानलाई २ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उदयपुरको बेलका नगरपालिका–९ बाट ३२ वर्षीय युवराज राईलाई १२ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
६ फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई पनि प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको छ । प्रहरीले झापाबाट चार जना र मोरङबाट दुई जना गरी ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूबाट २२ महिना २६ दिन कैद सजाय तथा ५४ हजार ६ सय १५ रुपैयाँ ३४ पैसा जरिवाना असुल गरिएको छ । उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

































