वराहक्षेत्र । घरको आँगनमा लहरै सजिएका गमलाहरूमा फूल फुलिरहेका छन् । कुनै गमलामा नयाँ पालुवा पलाएको छ, कुनैमा फूल फुलेका छन् । तर ती फूलमा रमाउने मान्छे घरमा छैनन् ।

आमा भगवती धामी दिनभरि तिनै गमलालाई हेरेर बस्छिन् । “यी गमला उसैले सजाएकी हो” उनी भन्छिन्, “दिनमा यही हेरेर दिन कटाउँछु । यसले छोरी फर्किन्छे कि भन्ने आशा जगाउँछ ।”

रात परेपछि भने उनको नजर भित्तामा टाँगिएको एउटा फोटोफ्रेममा पुग्छ । मदर्स डेमा छोरी रुबिनाले आमालाई उपहार दिएको आमाछोरीको तस्बिर हो, त्यो ।

तस्बिरमा आमा र छोरी सँगै छन् । तर अहिले तस्बिरमा भएकी छोरी घरमा छैनन् । २२ वर्षीया रुबिना धामी दुई सातादेखि सम्पर्कविहीन छिन् । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उनको परिवारले अहिलेसम्म उनी कहाँ छिन् भन्ने पत्ता लगाउन सकेको छैन ।

आमाको मनमा भने एउटै प्रश्न घुमिरहन्छ—‘छोरी कहिले आउँछ्यौ ? भगवान्, मेरी रुबिना कहाँ छिन् ?’ ‘भोलि फेरि कुरा गरौँ है’ रुबिनाले सम्पर्कविहीन हुनुअघि परिवारसँग नियमितजस्तै कुराकानी गरेकी थिइन् । त्यो रात पनि उनले आमाबुबासँग फोनमा कुरा गरिन् । रसुवाको चीन–नेपाल सीमावर्ती पर्यटकीय क्षेत्र टिमुरेमा रहेको कैलाश होटलमा काम गर्थिन् उनी ।

त्यहाँ पर्यटकको चहलपहल बढेको थियो । “होटलमा पर्यटक धेरै आएका छन् । बिहानै उठ्नुपर्छ”–उनले आमाबुबालाई भनिन् र सुत्न गइन् । त्यसै रात जेठी दिदी रोजिनासँग पनि म्यासेन्जरमा कुरा भएको थियो । दिदीले सोधिन्, “तँलाई एक्लै बस्न डर लाग्दैन ?” रुबिनाले सहजै भनिन्, “केको डराउनु र !” केहीबेर कुराकानी गरेपछि उनले दिदीसँग पनि बिदा मागेको रोजिनाले बताइन् । 

त्यो नै दिदी रोजिनासँगको उनको अन्तिम कुराकानी बन्यो । रुबिनाले भनेको ‘भोलि’ अहिलेसम्म आएको छैन । भिडियो हेरेपछि सुरु भयो आतङ्क । भोलिपल्ट बिहान सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको बाढीका भयावह दृश्यहरू देखिए । अनि आमा भगवतीको मन आत्तियो ।

खेतबारीमा काम गरिरहेका पति देवकुमारलाई बोलाएर भनिन्, “छोरीलाई फोन गर्नुस् ।” देवकुमारले फोन गरे । फोन लागेन । घरका सदस्यले पटकपटक फोन गरे । तर रुबिनाको मोबाइलबाट कुनै प्रतिक्रिया आएन ।

वराहक्षेत्र नगरपालिका–३ बीचटोलस्थित धामी परिवारको घरमा अहिले पहिलेको जस्तो चहलपहल छैन । आँगनमा देवकुमार धामी एकोहोरिएर बसेका भेटिन्छन् । छोरीको खबर आउने आशामा उनी मोबाइलतिर हेर्छन् । कहिलेकाहीँ कसैको फोन आउँदा झस्किन्छन् । तर फोनमा रुबिनाको खबर हुँदैन ।

घरभित्र आमा भगवती छोरीले दिएको फोटोफ्रेम हेरेर रोइरहेकी हुन्छिन् । साहिँली दिदी करिना र कान्छो भाइ पनि चुपचाप छन् ।

बाढीले रसुवामा कति ठूलो क्षति ग¥यो भन्ने समाचार उनीहरूले दिनहुँ सुनिरहेका छन् । उद्धार गरिएका मानिसको सङ्ख्या सुन्छन् । शव भेटिएको खबर सुन्छन् । हरेक समाचारसँगै उनीहरूको मनमा एउटै प्रश्न उठ्छ– रुबिना भेटिइन् कि ? तर अहिलेसम्म जवाफ आएको छैन । परिवारका अनुसार रुबिना स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढेकी थिइन् । पढाइपछि रोजगारीका लागि रसुवा पुगेकी उनी टिमुरेस्थित कैलाश होटलमा काम गर्दै आएकी थिइन् ।

एक वर्षअघि मात्रै राहदानी बनाएकी थिइन् । दसैँमा घर फर्किएर फेरि रसुवा जाने र उतैबाट वैदेशिक रोजगारीमा जाने उनको योजना थियो । छोरी सम्पर्कविहीन भएपछि देवकुमार र परिवारका अन्य सदस्य चुप बसेनन् । पति–पत्नी, साली र साढुभाइ गरी चार जना चितवन, काठमाडौँ र नुवाकोटसम्म पुगे । त्यहाँका प्रहरी कार्यालय पुगे । अस्पताल पुगे । बाढीमा ज्यान गुमाएका र सम्पर्कविहीन भएकाहरूको सूची हेरे । तर कतै पनि रुबिनाको नाम भेटिएन । काठमाडौँको शिक्षण अस्पतालमा राखिएका शवहरू पहिचान गर्न खोजे तर भएन । चितवन प्रहरीले डिएनए परीक्षणका लागि देवकुमारको रगतको नमुना लिएको छ । “डिएनए मिलेमा खबर गर्छौं भनेर प्रहरीले भनेको छ”–देवकुमारले ब्लाष्टसँग भने । 

दुई साता बितिसक्यो । भोटेकोशी बाढीबाट मानिसहरू जीवित उद्धार भएका समाचार दिनहुँ आउँछन् । कसैलाई भग्नावशेषबाट निकालिएको हुन्छ । कसैलाई नदीको किनारबाट उद्धार गरिएको हुन्छ । तर रुबिनाको खबर नआएको उनीहरूको भनाइ छ । 

“बेला–बेला मन हरेस खान्छ” देवकुमार भन्छन्, “फेरि बाह्र वर्षमा खोला फर्किएजस्तै कतैबाट कुनै सूचना आउँछ कि भनेर झिनो आशा पलाउँछ ।” छोरीको पीडा लुकाएर पत्नीलाई सम्झाउने प्रयास गरिरहेका देवकुमार आफै भने पटक–पटक आँसु पुछिरहेका छन् ।