विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जेनजी सहिद दिवस’का अवसरमा २३ भदौमा ओपिडी सेवा बन्द गर्ने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार धरणीधर बरालद्वारा जारी सूचनाअनुसार उक्त दिन प्रतिष्ठानका प्रशासनिक तथा शैक्षिक कार्यालयसमेत बन्द रहनेछन् । यद्यपि, आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ भदौ २३ गते ‘जेनजी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार प्रतिष्ठानले पनि सार्वजनिक बिदा दिने भएको हो ।