विजयपुर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले वानप्लस यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

काठमाडौंँबाट पूर्वी नेपालसहित विभिन्न गन्तव्यमा रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएको वानप्लस यातायात प्रा.लि.का अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनी परिवारले दुःख व्यक्त गरेको छ।

विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रा.लि.को तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष विष्टले बताए। विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै वानप्लस यातायातले बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गरेको छ।

अध्यक्ष विष्टले विपत्तिको समयमा सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितको दुःखमा साथ दिनु र मानवीय सहयोगमा हातेमालो गर्नु महत्त्वपूर्ण हुने बताए। वानप्लस यातायात प्रा.लि.ले प्रभावित परिवारहरूलाई कठिन परिस्थितिबाट छिट्टै सामान्य जीवनमा फर्किन आवश्यक सहयोग, साहस र धैर्य प्राप्त होस् भन्ने कामनासमेत गरेको छ।