विजयपुर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरीले सहयोग गरेको छ ।
प्रतिष्ठानले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ । प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, प्रशिक्षार्थी, विद्यार्थी तथा निवृत्त शिक्षक–कर्मचारीको एक दिन बराबरको पारिश्रमिक कट्टा गरी उक्त रकम संकलन गरिएको हो ।
प्रतिष्ठानका अनुसार कुल २ हजार ५०३ जनाबाट संकलित ३७ लाख २ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । यसमध्ये पदाधिकारी तथा शिक्षक–चिकित्सकबाट १० लाख ३४ हजार, कर्मचारीबाट १८ लाख १२ हजार, विद्यार्थी (सुपर स्पेशियालिटी, पीजी तथा इन्टर्न)बाट ७ लाख १५ हजार र पेन्सनर तथा अन्यबाट १ लाख ४१ हजार रुपैयाँ संकलन भएको हो । यसैबीच, प्रतिष्ठानले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न र्यापिड डिप्लोयमेन्ट टिम समेत परिचालन गरेको जनाएको छ ।