विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उनले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताए । मुख्यमन्त्री कार्कीले बिमा कम्पनीले बीमितको भुक्तानी सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गरे । उनले प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितका काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग सहकार्य गरेको घटना सुनाउँदै उनले व्यवसायीलाई आफ्नो पेशामा टिकाउन बिमा कम्पनीको ठूलो भूमिका रहेको बताए । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक एवं जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट बीमित लाभान्वित हुने धारणा राखे ।

एक हजार २ सय पत्रकारको एक वर्षका लागि दुर्घटना बिमामा लाग्ने खर्च प्रदेश सरकारले बेहोरेको जानकारी दिए । उनले महासङ्घले आवश्यकता महसुस गरे कार्यक्रम निरन्तर चलिरहने विश्वास दिलाए । महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, महासङ्घका कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य र कम्पनीका कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले पत्रकार हकहित र बिमा कार्यक्रमको प्रभावकारिताका विषयमा आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको छ । रासस