विजयपुर । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेशकुमार राई (राजेश खिम्दुङ) यौन शोषणको आरोपपछि पार्टीबाट निलम्बित भएका छन् । आरोप लगाउने धरान नगर सहसचिव शुक्रकुमारी पार्टीबाट निष्कासित भएकी छन् ।


पार्टी अध्यक्ष तथा सांसद हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आरोपसम्बन्धी सत्यतथ्य नखुलेसम्म र विषयको टुंगो नलागेसम्म खिम्दुङलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष राईले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ मार्फत सामाजिक समस्या देखिएकाले सत्यतथ्य पत्ता नलागेसम्म कारबाहीस्वरूप निलम्बन गरिएको बताएका हुन् । अध्यक्ष राईले “सामाजिक समस्या देखिएकोले कुरा के हो? सत्यतथ्य पत्ता नलागून्जेल र सो कुराको टुङ्गो नलागून्जेलका लागि राजेश खिम्दुङलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गरिएको सबैमा जानकारी गराउँदछु ।” लेखेका छन् ।


यसैबीच, पार्टी अध्यक्ष राईले शुक्रकुमारी राईलाई पनि पार्टी हितविपरीत अभिव्यक्ति दिएको तथा विपक्षीसँग मिलेर गतिविधि गरेको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको बताएका छन् । उनले शुक्रकुमारी लामो समयदेखि पार्टी हितविपरीत अभिव्यक्ति दिँदै आएको र उनीमा नैतिक तथा सामाजिक विचलन देखिएको दाबी गरेका छन् ।


पार्टीले खिम्दुङ र शुक्रकुमारी दुवैलाई पार्टीको सिद्धान्त तथा नीतिविपरीत व्यक्तिगत विवादमा संलग्न भएको भन्दै कारबाही गरिएको जनाएको छ । अध्यक्ष राईले यो विषय व्यक्तिगत भएकाले पार्टीको कुनै सरोकार नरहेको दाबी गरेका छन् ।


धरान–१७ की ३७ वर्षीया शुक्रकुमारी राईले खिम्दुङविरुद्ध आवश्यक छलफल तथा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी थिइन् । उजुरीमा आफूलाई शारीरिक तथा मानसिक यातना दिएको, अपमानजनक शब्द प्रयोग गरेको, लेनदेनको विषयमा पटक–पटक फोन गरी मानसिक दबाब दिएको तथा फेसबुकबाट तस्बिर लिएर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको आरोप लगाइएको छ ।


खिम्दुङले विरोधीहरूले आफूलाई समाप्त पार्नका लागि उचालेको दाबी गरेका छन् । शुक्रकुमारीले उजुरी दर्ता गर्नुपूर्व सञ्चारकर्मीसँग कुरा गर्दै खिम्दुङले आफूलाई पहिले श्रीमतीका रूपमा राखेको दाबी गरेकी छन् । उनले आफूलाई ‘खेलौना’ जस्तो व्यवहार गरेको र ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाउँदै आफ्नो सुरक्षाको जिम्मेवारी खिम्दुङले लिनुपर्ने बताएकी छन् ।


इलाका प्रहरी कार्यालय धरानका अनुसार उजुरीपछि खिम्दुङलाई बुधबार छलफलका लागि इलाकामा बोलाएको थियो । तर, खिम्दुङ छलफलमा उपस्थित भएनन् । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार खिम्दुङको फोनसमेत सम्पर्कमा नआएपछि प्रहरीले समन्वय गरी उपस्थित गराउने प्रयास गरिरहेको छ । उनले भने, “आज (बुधबार) आउनु भएन । समन्वय गरेर ल्याउने प्रयास गरिरहेका छौँ । आउनु भएन भने ल्याउँछौँ ।” इन्स्पेक्टर राईले उजुरीकर्ताले भरपर्दो प्रमाणसहित जाहेरी दिएमा कानुनअनुसार मुद्दा दर्ता गरिने बताए । उनका अनुसार खिम्दुङ र शुक्रकुमारीबीच यसअघि पनि पटक–पटक प्रहरी कार्यालयमा छलफल भएको थियो । प्रहरीका अनुसार उनीहरूबीच विगतमा सम्बन्धसमेत रहेको देखिएको छ ।