विजयपुर । कोशी प्रदेशका युवाहरूले गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन सरकारसँग माग गरेका छन् ।
सुनसरी, धनकुटा र उदयपुरका युवाहरूको टोलीले गृहमन्त्री सुदन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै लागूऔषध नियन्त्रण, पुनस्र्थापना सेवा विस्तार तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति अघि बढाउन माग गरेको हो ।
युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने भन्दै प्रभावित व्यक्तिहरूका लागि पुनस्र्थापना सेवा विस्तार गर्नुपर्ने बताएका छन् । गाँजा खेती नियन्त्रण गर्दा त्यसमा निर्भर समुदायका लागि वैकल्पिक आम्दानीको स्रोतका रूपमा व्यावसायिक कृषि प्रवर्द्धन गर्नुपर्ने उनीहरूको माग छ ।
ज्ञापनपत्रमा सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक निगरानी प्रणाली विस्तार, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार र लागूऔषध तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा समेत जोड दिइएको छ ।
युवाहरूले सरकारी कार्यालयबाट नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने माग गर्दै सुनसरी, धनकुटा र उदयपुरका स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
टोलीमा सहभागी सुनसरीका युवा अर्जुन पोख्रेलका अनुसार सुनसरीको कप्तानगञ्जमा भएको घटना तथा धरानमा देखिएको विजयपुरसम्बन्धी समस्याको समाधानका लागि समेत गृहमन्त्रीसमक्ष पहल गर्न आग्रह गरिएको छ ।
पोख्रेलले स्थानीयस्तरमा लामो समयदेखि देखिँदै आएका समस्या समाधानका लागि केन्द्र सरकार, स्थानीय प्रशासन र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।