काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको आपूर्तिलाई लिएर पुनः आशंका बढेको छ। अमेरिकाले इरानमाथि लामो समयसम्म नौसैनिक नाकाबन्दी लागू गर्न सक्ने संकेत दिएपछि शुक्रबार तेलको मूल्यमा सामान्य वृद्धि देखिएको हो।
शुक्रबारको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य १ सेन्टले उक्लिँदै प्रतिब्यारेल ८७.०८ अमेरिकी डलर पुगेको छ। यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य ६ सेन्ट बढेर प्रतिब्यारेल ८१.३१ डलर पुगेको छ।
इरान र अमेरिकाबीचको तनावले विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग होर्मुज जलडमरूमध्यमा समेत जोखिम बढाएको बजार विश्लेषण छ। उक्त मार्गमा तेल तथा अन्य वस्तुको आवागमन प्रभावित भए विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्न सक्ने चिन्ता छ। द्वन्द्व सुरु हुनुअघि विश्वमा कारोबार हुने कुल तेलमध्ये करिब २० प्रतिशत यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
अमेरिकाले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने संकेत गरिरहेको छ भने युद्धविरामसम्बन्धी प्रयासमा अवरोध आएपछि क्षेत्रीय तनाव थप बढेको छ। इरानले भने होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ। यी घटनाक्रमले विश्व बजारमा ऊर्जा आपूर्तिको भविष्यबारे अनिश्चितता थपेको छ।
तर विश्वव्यापी तेल माग कमजोर रहने अनुमान तथा अमेरिकामा कच्चा तेलको भण्डार उल्लेख्य रूपमा बढेकाले मूल्यमा ठूलो उछाल आउन भने रोकिएको छ। अघिल्लो कारोबारमा ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य २ प्रतिशतभन्दा बढी घटेको थियो। यद्यपि, साप्ताहिक आधारमा दुवै सूचकको मूल्य करिब ४ प्रतिशतले बढ्ने दिशामा रहेको छ।