धरान । सफा र सुन्दर सहर भनी चिनिएको धरानको ‘विद्रोही चरित्र’ को इतिहास निकै लामो छ ।
२८, मङ्सिर २००८ मा तात्कालीन राजा त्रिभुवन भ्रमणका क्रममा धरान आइपुगेका थिए । पूर्वी तराईको भ्रमणमा रहेका उनलाई धरानमा केही कम्युनिष्ट नेताहरूले कालो झण्डा देखाई विद्रोही चरित्र देखाएका थिए ।
हालको सिंहदेवी चोकभन्दा केही मास्तिर राजा त्रिभुवनसहित सपरिवारलाई कालो झण्डा देखाइएको थियो । कालो झण्डा देखाउनुपर्ने कारणबारे अध्येता हरेराम कर्माचार्य भन्छन्, “राजाको सवारी हुँदा कम्युनिष्ट भनाउँदाहरूले भारत सम्झौता धोका हो भन्ने नारा लगाउँदै राजा त्रिभुवनलाई कालो झण्डा देखाएका थिए भनेर मैले पुस्तकमा पढेको हो । सोही घटनामा तीर्थराज मास्केसहित ८–१० जना पक्राउ परेका थिए रे ।”
राजा त्रिभुवनको टोली पूर्वी तराई भ्रमणका लागि मङ्सिर २५ गते विराटनगर आइपुगेको थियो । टोलीमा राजा त्रिभुवनसहित युवराजधिराज, महिला, कान्छा अधिराजकुमार, सेक्रेटरी गोविन्दनारायण, मिलिटरी सेक्रेटरी मेजर जनरल योगविक्रम तथा आईजीपी नरशमशेर जबरा सहभागी भएको नेपालको राजनीतिक दर्पण भाग १ पुस्तकमा उल्लेखित छ । त्यही क्रममा राजाको टोली धरान सवार भएको थियो । “यसबेला धरानमा स्थानीय प्रहरी प्रशासनले राजा त्रिभुवनको टोलीलाई गार्ड अफ अनरबाट सम्मान पनि चढाएको थियो” गृष्मबहादुर देवकोटाद्वारा लिखित पुस्तकमा लेखिएको छ ।
सोही सवारीको क्रममा धरान बालिका विद्यालय र पिण्डेश्वर विद्यापीठ जाने क्रममा कालो झण्डा देखाइएको थियो । यसबारे कोशी प्रदेशका पूर्व सांसद्समेत रहेका नेपाली काङ्ग्रेसका नेता चन्द्रप्रसाद श्रेष्ठ भन्छन्, “सिंहदेवीबाट सवार हुने वातावरण बनाइएको थियो, त्यसबेला कम्युनिष्टहरूले सिंहदेवीको डाँडोमा कालोझण्डा देखाएका थिए ।” यस्ता विद्रोही चरित्र धरानले बेलाबेला प्रदर्शन गर्दै आइरहेको छ ।
यही चरित्रकै कारण धरान धेरै कुरामा पछाडि परेको तर्क गर्नेहरू पनि छन् भने यही चरित्रका कारण धरानले केही कुरा प्राप्त पनि गरेको उदाहरण छ । २०४९ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाउने एमाले समर्थित विद्यार्थी सङ्गठन थियो ।
प्रधानमन्त्री सवार गाडीमा हिर्काउनसम्म पुगेका थिए । सोही घटनाबारे एमालेका नेता मुरारी सुवेदी भन्छन्, “गिरिजाले मोरङको रङ्गेलीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनी शिलान्यास गरेको हुँदा राजकुमार कार्कीहरूले ब्लाष्ट अभियान गर्दै हुनुहुन्थ्यो । त्यतिबेला हामी विद्यार्थी थियौँ । महेन्द्र क्याम्पसमा काङ्ग्रेसको कार्यक्रममा आएको बेला कालो झण्डा देखाउने र गाडीमा ढ्यापढ्याप हान्दै मूर्दावाद भनेको याद छ ।” उनका अनुसार त्यो बेलामा प्रधानमन्त्रीको सुरक्षा व्यवस्था पनि अहिलेको जस्तो व्यवस्थित हुँदैनथ्यो । “सुरेन्द्र घिमिरेले गाडीमा ड्यामड्याम पार्दै गिरिजाप्रसाद कोइराला मूर्दावाद भनेको याद छ” उनले भने, “यो २०४९ सालको अन्त्यतिरको घटना होला । मैले महेन्द्र क्याम्पसको गेटमै कालो झण्डा गाडेको थिएँ ।”
यता अग्रज पत्रकार गिरिराज आचार्यका अनुसार एमालेहरूले अकारण कालोझण्डा देखाएका थिए । उनले भने, “गिरिजाप्रसादजी बीपीकै शिलान्यासमा आउनुभएको थियो । त्यो बेला काङ्ग्रेसले महेन्द्र क्याम्पसमा कार्यक्रम राखेको थियो । त्यो कार्यक्रममा एमालेहरूले कालो झण्डा देखाएको र लफडा गरेका थिए ।” यस्ता विद्रोही चरित्र अन्यबेला पनि देखाउँदै आएका थिए ।
अनावश्यक विद्रोही चरित्र
२०३७ को जनमत सङ्ग्रहपश्चात् पञ्चायतको निर्वाचनबाट निर्वाचित भएका कृष्णकुमार राईको नेतृत्वमा बनेको स्थानीय सरकारमा काङ्ग्रेसहरूले विद्रोही चरित्र प्रस्तुत गरेका थिए । त्यो बेला नगर प्रमुख रहेका राईले धरानमा पहिलो पटक सडक निर्माणमा जनसहभागिताको कन्सेप्ट ल्याएका थिए । “बाटोको लागि ६०–४० को कन्सेप्ट ल्याएको थियो । त्यसविरुद्ध काङ्ग्रेसहरूले विद्रोही चरित्र देखाएका थिए” तात्कालीन अवस्थाबारे जानकार भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले भने, “तर त्यो विद्रोही चरित्र लामो समय गएन । पछि विरोध त्यसै सकियो ।”
यस्ता विद्रोही चरित्र हालका सांसद् हर्कराज राई (साम्पाङ) ले पनि देखाएका थिए । उनले धरानको खानेपानीको पाइपसम्म काट्ने चरित्र प्रस्तुत गरे । जसले गर्दा उनी प्रहरी हिरासतमा पुग्न बाध्य भए । तर निरन्तर विद्रोह गरेका कारण उनी राजनीतिमा स्थापित मात्रै भएनन् । उनी सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि भएका छन् ।