भद्रपुर । झापा हल्दीबारीकी एक महिलाको जापानीज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भएको छ । हल्दिवारी–२ निवासी मोहन राजवंशीकी श्रीमती ५७ वर्षीया प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
प्रहरीले दिएको विवरण अनुसार प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा शनिबार मृत्यु भएको जनाइएको छ । हल्दीबारी गाउँपालिका–२ कदमचोकमा व्यवसाय गर्दै आएकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
परिवारले दिएको जानकारी अनुसार प्रमिलालाई एक हप्ताअघि समस्या देखापरेपछि ओमसाइ पाथीभरा हस्पिटलमा चेकजाँच गर्दा देखापरेको थियो । रोग देखापरे पनि घरमा नै बसिरहेको अवस्थामा प्रमिलालाई दुई दिनअघि एक्कासि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । त्यसलगत्तै हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको प्रत्यक्ष समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पु¥याइएको थियो । सेतो लामखुट्टेको टोकाइका कारण सो रोग लाग्ने गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय जिल्लाका मेचीनगर, कचनकवल, बाह्रदशी, हल्दीबारीलगायतका पालिकामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ श्रेष्ठले बताए । यो रोग अझै दुईमहिनासम्म देखिने उनले जानकारी दिए ।