हामी सबैको हात–हातमा स्मार्ट फोन छ, हामी फोनमा भएका एपहरू आवश्यकता अनुसार चलाउँछौँ। विश्वव्यापीकरणले गर्दा आज विश्वको एक कुनाबाट अर्को कुनासम्म आपूर्ति शृङ्खला अर्थात् सप्लाइ चेन जोडिएको छ। तर यसको गम्भीर र विरोधाभाषपूर्ण पाटो पनि छ। यो चम्किलो आवरणभित्र लाखौँ कामदारहरू विस्तारै असुरक्षित र अनौपचारिक कामतिर धकेलिँदैछन् ।
आधुनिकताले श्रम बजारमा अनिश्चितता ल्याइरहेको छ । आधुनिक डिजिटल अर्थतन्त्रको सबैभन्दा ठूलो रहस्य नै सायद यही हो । यो एकदमै जोडिएको हाइपर कनेक्टेड एपमा आधारित अर्थतन्त्रमा वास्तवमा रोजगारदाता वा मालिक को हुन्छ ? परम्परागत रूपमा हुने मालिक र श्रमिकबीचको त्यो पुरानो सम्बन्ध यो अवस्थामा आइपुग्दा कहाँ हरायो ? खुकुलो हुँदै गएको यो सम्बन्धले श्रम बजारको पूरै स्वरूपलाई नै परिवर्तन गरिदिएको छ ।
यो रहस्य बुझ्नको निमित्त हामीले विश्वव्यापीकरणलाई बुझ्नु पर्ने हुन्छ । विश्वव्यापीकरण भनेको अर्थतन्त्र, बजार, प्रविधि अनि डिजिटल प्लेटफर्महरू विश्वभरि नै एक–आपसमा जोडिनु हो । यसले राष्ट्रिय अर्थतन्त्रलाई विश्वबजार सँग जोडेर नयाँ अवसरहरू ल्याउँछ, तर अवसर सँगै उत्पादन र रोजगारी को संरचनालाई पूर्णरूपमा बदलिदिन्छ ।
विश्वव्यापीकरणले कामको जोखिमलाई कम्पनीको दायित्वबाट कामदारको काँधमा सारिदिन्छ । युरोपमा डिजाइन भएको एउटा लुगा भियतनाम वा बङ्गलादेशका कारखाना हुँदै अन्त्यमा घरमा बसेर काम गर्ने कामदारहरूले सिलाउँछन् । यो पूरै प्रक्रियामा ठेकेदार र उप–ठेकेदारका यति धेरै तहहरू हुन्छन् कि कामदारको ज्याला र सुरक्षाको जिम्मा लिने मुख्य रोजगारदाता को हो भन्ने कुरा पूरै हराउन पुग्छ ।
अनौपचारिकीकरण भनेको सडकमा बसेर सामान बेच्नु मात्र होइन, नियमित रोजगार सुरक्षा नहुनु, जागिरको टुङ्गो नहुनु, सामाजिक सुरक्षा र लिखित सम्झौता विनाका कामहरू बढ्दै जानु नै वास्तवमा अनौपचारिकीकरण हो । अहिलेका ठूला आधुनिक र औपचारिक भनिने कम्पनीहरू अनि विश्वव्यापी आपूर्ति शृङ्खलाभित्र पनि कामदारहरू कसरी झन् झन् असुरक्षित बन्दै छन् भन्ने कुरा यसले छर्लङ्ग पार्छ । यसले एउटा धेरै पुरानो आर्थिक मान्यतालाई पूरै भत्काइदिन्छ । पहिले पहिले, अर्थशास्त्री आर्थर लुइस का अनुसार ‘आर्थिक विकास हुँदै जाँदा अनौपचारिक काम आफै हराएर जान्छ’ भन्ने विश्वास गरिन्थ्यो । तर यथार्थ अहिले त्यस्तो छैन । जान ब्रेमनले उल्लेख गरे अनुसार ‘आधुनिक पुँजीवाद विश्वव्यापी कडा प्रतिस्पर्धा कन्ट्रयाक्टिङ गर्ने चलनले नै अनौपचारिक कामलाई धेरै बढाइरहेको छ’ अर्थात् विकासले अनौपचारिकता घटाउने होइन बरु नयाँ–नयाँ रूपमा झन् जन्माइरहेको छ ।
गिग इकोनोमी भनेको डिजिटल स्वतन्त्रताको मिथक हो । यो यस्तो श्रम बजार हो, जहाँ मानिसरू छोटो अवधिका काम वा गिग्स गर्छन र ती कामलाई डिजिटल प्लेटफर्महरूले व्यवस्थापन, निगरानी र मूल्य निर्धारण गर्छन् । उच्च प्रविधिको आधुनिकीकरण र कामदारको असुरक्षाबीचको सबैभन्दा ठूलो विरोधाभाष नै यहीँ देखिन्छ । बाहिरबाट हेर्दा यो एकदम नयाँ र आधुनिक लागेपनि यो खासमा परम्परागत अनौपचारिक कामको एउटा नयाँ डिजिटल रूप मात्रै हो । यो प्लेटफर्ममा काम गर्ने कामदारहरूका प्रकार र उनीहरूले दैनिक रूपमा भोग्ने जोखिमहरू पनि एकदमै फरक छन् । जस्तैः यातायात एप चलाउने चालकहरूलाई ट्राफिक, इन्धनको खर्च र रेटिङमा निर्भर हुनुपर्ने वाध्यता छ ।
अनलाइन काम गर्ने फ्रिलान्सर कामदारहरूको आमदानीको कुनै टुङ्गो हुँदैन र रोजगारमा चरम् विश्वव्यापी प्रतिस्पर्धा खप्नु पर्छ । कन्टेण्ड मोडरेटरहरूले गम्भीर मनोवैज्ञानिक तनावसमेत झेल्नु पर्छ । एप जतिसुकै फरक र आधुनिक होस् जोखिम र असुरक्षा हरेक ठाउँमा छ । यही कारणले गर्दा डिजिटल अनौपचारिकीकरण आधुनिक प्रविधि र अत्यन्तै असुरक्षित श्रम अवस्थाको डरलाग्दो मिलन भएको प्रमाणित हुन्छ । एपहरू हेर्दा अत्यन्तै राम्रा र आधुनिक देखिन्छन् । कामदारहरूले एड्भान्स जिपिएस र स्मार्ट फोन पनि चलाउँछन् तर वास्तविकतामा उनीहरू सँग न स्वास्थ्य बिमा हुन्छ, न सशुल्क बिदाजस्ता आधारभूत सुविधाहरू हुन्छन् । यिनको आवरण मात्र आधुनिक हुन्छ तर भित्री अवस्था १५ औँ शताब्दी भन्दा पुरानो हुन्छ ।
अल्गोरिदम डिजिटल श्रमको मालिक बन्दै यसले पूर्ण रूपमा कामलाई नियन्त्रण गर्छ भन्ने कुरा झन् गम्भीर छ । कामदारको आम्दानी पूर्णरूपमा कम्प्युटरले दिने स्वचालित रेटिङ र पल–पलमा फेरिरहने नियममा भर पर्छ । गाडी, इन्टरनेट र इन्धनजस्ता काममा लाग्ने सबै खर्च कामदार आफैले बेहोर्नु पर्छ । उनीहरू कुन स्पिडमा काम गर्दैछन्, कहाँ छन्, भन्ने कुराको लगातार निगरानी भैरहेको हुन्छ । सबैभन्दा डरलाग्दो कुरा त आफ्नो कुरा राख्ने कुनै मौका नदिई स्वचालित रूपमा जरिबाना लगाउने वा एकाउन्ट नै बन्द गरिदिने कामसमेत हुन्छ । कम्पनीहरू परम्परागत रोजगारदाताको जिम्मेवारीबाट पन्छिँदै कन्ट्रोल शतप्रतिशत आफैसँग राख्छन् ।
आधुनिक डिजिटल श्रममा Dependent Contractor (स्वतन्त्र उद्यमी) भनेर श्रमिकमाथि थप दायित्व थोपर्ने काम गरिन्छ । श्रमिकहरू साधन आफ्नै प्रयोग गर्छन् तर काम पाउन, मूल्य तोक्न, नियम मान्न र ग्राहकसम्म पुग्न पूर्णरूपमा प्लेटफर्ममा निर्भर हुन्छन् । अहिले विश्वभरि चलिरहेको श्रम विवादको यो एउटा ठूलो मुद्दा हो । यस्ता कामदारहरूलाई औपचारिक श्रम कानूनको संरक्षण नभई हुँदैन ।
समग्रमा भन्नुपर्दा डिजिटल काम गर्ने कामदारहरूले भोग्ने प्रणालीगत समस्याहरू डरलाग्दा छन् । उनीहरूलाई कर्मचारीको मान्यता र सामूहिक सौदाबाजी गर्ने अधिकार दिइएको छैन । आम्दानी यति अनिश्चित छ कि धेरैजसो श्रमिकको कमाइ जीवन निर्वाह गर्न पुग्ने स्तरभन्दा पनि तल छ । पेन्सन, सुत्केरी बिदा वा दुर्घटना बिमाजस्ता सामाजिक सुरक्षाको नामोनिशान छैन । यसमाथि कार्यस्थलको गम्भीर स्वास्थ्य जोखिम, सुत्केरी र घरायसी कामको बोझले थपेको लैङ्गिक असमानता पनि छ । यी समस्याहरू दिन प्रतिदिन चुलिँदै गएका छन् ।
आधुनिक कामको विश्वव्यापीकरणले निम्त्याएका समस्याहरू समाधानरहित पक्कै होइनन् । समाधानको मुख्य आधार भनेको मर्यादित कामको दृष्टिकोण अर्थात् Decent Work Approach हो । यसका चारवटा मुख्य स्तम्भहरू छन् । रोजगारीको सिर्जना, काममा अधिकार, सामाजिक सुरक्षा र सामाजिक संवाद हो । यो रणनीतिले कामदारहरूको वास्तविक सुरक्षाको लागि एउटा बृहत् विश्वव्यापी सहकार्यको आवश्यकता भएको देखाउँछ ।
ILO Recommendation Number २०४ यस समस्याको समाधानको निम्ति सान्दर्भिक नीति मानिन्छ । यसले अनौपचारिक श्रमलाई एउटा सानोतिनो किनारा लगाइएको मुद्दाको रूपमा हेर्दैन, समावेसी विकासको बाटोमा रहेको एउटा प्रमुख तगारोको रूपमा लिन्छ । यसले सबै सदस्य राष्ट्रहरूलाई ‘कामदारहरूको रोजीरोटी सुरक्षित गर्दै उनीहरूलाई अनौपचारिकबाट अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्र तर्फ लैजान मार्गनिर्देशन गर्छ“ । विशेष गरेर प्लाटफर्ममा काम गर्ने कामदारहरूको हकमा नीतिगत रूपमा केही महŒवपूर्ण कदमहरू तुरुन्त चाल्नै पर्ने हुन्छ ।
१) रोजगारीको अवस्था कस्तो छ भनेर पहिचान गर्न स्पष्ट कानूनी व्यवस्थाहरू हुनुपर्छ ।
२) काममा लाग्ने खर्च कटाएर पनि श्रम कानून २०७४ अनुसार कम्तिमा न्यूनतम् आम्दानी हुने ग्यारेन्टी हुनुपर्छ ।
३) प्लेटफर्महरूले सामाजिक सुरक्षा र दुर्घटना बिमामा अनिवार्यरूपमा रकम जम्मा गर्नै पर्ने नियम ल्याउनु पर्छ ।
४) कम्पनीहरूले प्रविधिको बहाना बनाएर श्रम कानुनको दायित्वबाट नउम्किउन भन्नको लागि अल्गोरिदम र रेटिङ्ग सिस्टममा पूर्ण रूपमा पारदर्शिता ल्याउनु पर्छ ।
आर्थिक वृद्धि मात्र सबै थोक होइन । वास्तविक औपचारिकीकरण भनेको के हो भन्ने बुझ्नु अत्यन्त जरुरी छ । औपचारिककीरण भनेको साना व्यवसायहरूलाई दर्ता गराएर करको दायरामा ल्याउने काम मात्रै पक्कै होइन। वास्तविक औपचारिकीकरण तब हुन्छ, जब कामदारहरूले लिखित सम्झौता, न्यूनतम् ज्याला, सशुल्क विदा र सामाजिक सुरक्षाका सुविधाहरू पाउँछन् । अर्थात् व्यापर मात्र होइन रोजगारी नै औपचारिक हुनुपर्छ ।
त्यसैले आजको मुख्य उद्देश्य आधुनिक प्रविधिको विस्तार मात्र होइन, प्रविधिलाई श्रमिक अधिकार, सामाजिक सुरक्षा र मानव मर्यादासँग जोड्नु हो । विकासको अर्थ एपको सुविधा मात्र होइन, त्यो एप चलाउने श्रमिकको सुरक्षित र सम्मानजनक जीवन पनि हो । वास्तविक विकास त्यतिबेला मात्र सार्थक हुन्छ, जब प्रविधिको उज्यालो एपको पर्दामा मात्र होइन, त्यसलाई चलाउने श्रमिकको जीवनमा पनि पुग्छ ।