विजयपुर । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नका लागि चखेवामा रैथाने खाना महोत्सव शुरु भएको छ ।

सोमबार नयाँ वर्ष २०८१ को अवसर पारेर भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ सुरु भएको हो । महोत्सवको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सांसद विनोद वान्तावाले पर्यटनसँगै कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव प्रभावकारी हुने बताए ।

स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जनाइएको छ । महोत्सवमा कोदोको रोटी, ढिडो, वाचिपा, गुन्द्रुक, भुटेको मकै, फापरको रोटी, भेडाको मासु लगायतका रैथाने परिकारहरू मात्र बिक्री–वितरणका लागि राखिएको छ ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार महोत्सवमार्फत स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको हो ।