धरान कोशी प्रदेशको एउटा महत्वपूर्ण सहर हो । यो सुनसरी जिल्लामा चारकोसे झाडीको उत्तर र महाभारत पर्वतमालामा पर्ने साँगुरी डाँडाको दक्षिणतिर पर्छ । धरान नगरपालिकाको उत्तर–पश्चिमतिर विष्णुपादुका छ । धरानको दक्षिणतिर पर्ने चारकोसे झाडीको दक्षिणतिर इटहरी पर्छ । धरान नगरपालिकाको क्षेत्र अहिले फराकिलो छ, त्यसैले परम्पराअनुसार स्थानीय बासिन्दाहरूले जुन भू–भागलाई धरान भनेर चिन्दछन्, त्यो भू–भाग र धरान नगरपालिकाले घेरेको राजनीतिक धरानको भू–भाग ठ्याक्क चाहिँ मिल्दैन ।

धराने र धरानका छिमेकीहरूले सुरुमा धरान भनेर चिन्ने गरेको ठाउँ खालि धरानको पुरानो बजार र नयाँ बजार मात्र हो । चन्द्र शमसेरले बसालेको हुनाले धरान पुरानो बजारलाई पहिले पहिले चन्द्रपुर बजार भनिन्थ्यो भने १९९० सालको भूइँचालोले भत्काएपछि जुद्ध शमसेरले बसालेको धरान बजारलाई नयाँबजार वा जुद्धनगर भनिन्थ्यो । पञ्चायती व्यवस्था सुरु भएपछि पुरानो बजार र नयाँ बजारका बेग्लाबेग्लै टोलहरूलाई बेग्लाबेग्लै नाम दिइयो । तिनीहरूमध्ये कतिपय नामहरू अझै पनि चलेकै छन् भने कति टोलहरूमा बेग्लाबेग्लै नाउँ पनि थपिएका छन् । 

संवत् १९५८ सालको सुरुमा देव शमसेरले नेपालमा तीन महिनासम्म श्री ३ हुने मौका पाए, तर देव शमसेर जस्ता उदार र सुधारवादी शासकले धेरै दिन शासन गर्न पाए भने राणाशासनको आयु लामो हुँदैन र आफु र आफ्ना सन्तानको श्री ३ हुने पालो आउँदैन भनेर चन्द्र शमसेरले देव शमसेरलाई पदच्यूत गरेर उनी आफै श्री ३ भए । त्यसै क्रममा उनले देव शमसेरलाई धनकुटा लखेटे । धरानको उत्तरतिर साँगुरी डाँडापारि धनकुटा पर्छ । धनकुटा जाने अहिले त पक्की बाटो छ, तर देव शमसेर र चन्द्र शमसेरका पालामा धरानबाट पैदल हिँडेर जानुपथ्र्यो । बाटामा पर्ने दुइटा ठाडा उकाला राति काट्न सजिलो नहुने हुनाले धनकुटा जाने सबैले धरानमा बास बस्नै पथ्र्यो । अर्कातिर नेपाल औलो उन्मूलन सङ्घले औलो नियन्त्रण गर्नुभन्दा अघिसम्म तराईमा औलो लाग्थ्यो । धरानमा चाहिँ औलो पनि नलाग्ने, धनकुटा जानेले बास बस्नु पनि पर्ने, देव शमसेरलाई धनकुटा पु¥याएपछि काठमाडौं र धनकुटाका बीचमा ओहोरदोहोर नगरी नहुने र भारतको नजिकैको सिमानामा भएको रेलको सुविधाले गर्दा धरान नपुगी काठमाडौंबाट धनकुटा पुग्ने अर्को सोझो र सजिलो बाटो पनि नभएकाले चन्द्र शमसेरले धरानमा बस्ती नबसाई नहुने भयो । त्यसै ऐतिहासिक र भौगोलिक कारणले गर्दा चन्द्र शमसेरले संवत् १९६० सालमा धरान पुरानो बजार बसाएका हुन् ।

भारतमा अङ्ग्रेजहरूले नेपाललाई आफ्नो राज्यमा नगाभ्ने निर्णय गरेपछि भारतमा रेलको पटरी बिछ्याउन बेलायती भारतले नेपालसँग काठ किन्यो । काठको आपूर्तिका लागि नेपालका विभिन्न भागमा जङ्गल फाँडियो । वि.सं. १९६० भन्दा अगाडि नै अहिले धरान भएको ठाउँको जङ्गल त्यसै कारणले फँडनी भएको थियो । आरा चिर्न बनाएको काठको चौकीलाई स्थानीय भाषामा अझै धरान भन्दछन् । धरानमा व्यापक रूपमा जङ्गल फँडानी भएको र जताततै आरा काट्ने धरान बनाइएकाले विजयपुरतिर बसोबास गर्नेहरूले धरान जाने भन्दाभन्दै त्यो ठाउँको नाउँ ‘धरान’ रहन गएको भन्ने भनाइ छ । ज्ञानमणि नेपालले चाहिँ मधेसबाट आउने गोरुगाडा अडिने ठाउँलाई थारू भाषामा ‘धर्ना’ भन्छन् । थारूहरूले धरानेहरूका धान, चामल र पराल ल्याउँदा गोरुगाडा अड्याउने ठाउँ भएकाले त्यही ‘धर्ना’ शब्दबाट अवभ्रंश भई ‘धरान’ शब्द बनेको मत अघि सारेका छन् ।

वि.सं.१९६० सालमा धरान बजार बन्नुभन्दा अगाडि धरानको पुरानो बस्ती विजयपुर डाँडो थियो । धरानको हुलाकलाई धेरै पछिसम्म पनि विजयपुर हुलाक भन्ने गरिन्थ्यो । धरानको पूर्वतिर उत्तर–दक्षिण तेर्सिएर बसेको डाँडोलाई विजयपुर डाँडो भनिन्छ । नेपाल एकीकरण कालमा विजयपुर डाँडो विजयपुर राज्यको राजधानी थियो । विजयपुर राज्यको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिममा कोशी नदीसम्म र उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतको पूर्णियाँ राज्यसम्म फैलिएको थियो । पूर्णियाँ, सिक्किम, दार्जिलिङ, असम र बङ्गालका गजेटियर हेर्दा के देखिन्छ भने विजयपुर राज्यको केही भू–भाग कहिले सिक्किम अथवा अर्को देशले जित्ने र कहिले सिक्किमको केही भू–भाग विजयपुरले जित्ने भइरहन्थ्यो । 

गोर्खालीहरूले विजयपुर राज्य सेन राजाहरूसित जितेका हुन् । विजयपुरका सेन राजाहरू पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनका सन्तान थिए । लोहाङ सेनले मकवानपुरमा पनि शासन गरेका थिए । कोशीपूर्वमा सेनहरूको विजयपुर राज्य थियो भने कोशी पश्चिमका सेनहरूको चौदण्डी राज्य थियो । पूर्वी नेपालका सेनहरूको राजधानी तराईमा हुन्थ्यो, तर उनीहरूका राज्यको उत्तरी सिमाना चाहिँ तिब्बतसँग जोडिएको हुन्थ्यो । सेन राज्यमा के चलन थियो भने तेह्रथुमका लिम्बू राजाहरू जहिले पनि विजयपुर राज्यका देवान वा मन्त्री हुन्थे । अर्थात् तराईमा सेनहरूले शासन गर्ने र पहाडको स्वायत्त शासन किरातीहरूले गर्ने थिति बसालिएको थियो । पहाडका किरातीहरूलाई सङ्कट पर्दा तराईबाट सेनहरूले सहयोग गर्ने र तराईका सेनहरूलाई सङ्कट पर्दा पहाडका किरातीहरूले सहयोग गर्ने सम्झौता थियो । किरातीहरूलाई ‘राई’ भन्ने पदवी सेनहरूले नै दिएका हुन् । ‘राई’ शब्द संस्कृतको ‘राजा’ शब्दबाट व्युत्पन्न भएको हो । विजयपुरका सेन राज्यकालका चिठीहरूमा लिम्बूहरू जनाउन पनि ‘राय’ शब्द प्रयोग भएको पाइन्छ । इमानसिंह चेम्जोङ (किरातकालीन विजयपुरको संक्षिप्त इतिहास) का अनुसार विजयपुरको नाम विजयपुरका प्रथम राजा विजयनारायण राईको नामबाट बनेको हो । उनी कोचे (राजवंशी) राजा हुन् र उनले पानबारा (बारातप्पा) बाट विजयपुर आफ्नो राजधानी सारेका हुन् ।

विजयपुर डाँडामा एउटा बूढासुब्बाको थान छ । बूढासुब्बाका पुजारी मगर छन् । पृथ्वीनारायण शाहले जुन जुन ठाउँ जिते, ती धेरैजसो ठाउँका मन्दिरका पुजारी मगरहरूलाई नै राखे । नेपाल भरिका धेरै देवीदेवताका मन्दिरमा मगर पुजारी छन् । बूढासुब्बाका पुजारीहरू पनि पृथ्वीनारायण शाहले नै नियुक्त गरेका हुन् । बूढासुब्बामा सुँगुर र कुखुराको बलि दिइन्छ । बूढासुब्बाका पुजारीहरू भाकल गरेका कुखुराको मुटु–कलेजो पल्टाएर जोखाना हेर्छन् र भाकल गर्ने भक्तका भूत, भविष्य अनि वर्तमान बताइदिन्छन् । त्यस जोखानाबाट भक्तहरूले चित्त बुझाएको देखिन्छ । अचेल बूढासुब्बाको थान भएका ठाउँमा मन्दिर बनाइएको छ । दन्तकाली मन्दिरमा नौरथामा भीड लाग्छ, पिण्डेश्वरमा साउन महिना र शिवरात्रिमा भीड लाग्छ भने बूढासुब्बामा हरेक शनिबार भीड लाग्छ ।

इमानसिंह चेम्जोङले बूढासुब्बालाई विजयपुर राज्यका अन्तिम देवान बुद्धिकर्ण राईको आत्मा मानेका छन् । नेपाल एकीकरणभन्दा केहीअगाडि विजयपुरका अन्तिम राजा कामदत्त सेनको हत्या गरी देवान बुद्धिकर्ण राई गद्दीमा बसेका हुनाले बुद्धिकर्ण राईसित लिम्बूहरू रिसाएका थिए । लिम्बुवान सजिलै जित्न गोर्खालीहरूले बुद्धिकर्ण राईको खोजी गरी विजयपुरमा हाल बूढासुब्बाको थान भएका ठाउँमा धनुष काँड हानेर मारे । इमानसिंह चेम्जोङको भनाइअनुसार अगति परेर मरेको किरातीको आत्माले स्थानीयहरूको भलो गर्छ भन्ने किरातीहरूको विश्वास भएकाले बूढासुब्बाका रूपमा देवान बुद्धिकर्ण राईका आत्माको स्थानीय बासिन्दाहरूले बूढासुब्बा मानेर पूजा गर्छन् । विजयपुरका पुराना मानिसहरू चाहिँ बूढासुब्बालाई एउटा सिद्ध लोक देवता मान्दछन् । 

विजयपुरको बस्ती सेनहरूले बसाएको मानिन्छ । पाल्पाका राजा मुकुन्द सेनका पुर्खाहरू प्रारम्भमा जुम्लाका खस राजाका रजौटाहरू थिए । पन्ध्रौँ शताब्दीमा खस राज्य टुक्रिएपछि पाल्पाली सेनहरू स्वतन्त्र राजा भएका हुन् । सेनहरूका दुई ओटा दरबारका अवशेषहरू अहिले पनि पञ्चकन्या र विजयपुर बजारमा बालकुमारी थान अगाडि देखिन्छन् । सेनहरूको पञ्चकन्याभित्रको दरबारलाई स्थानीय बासिन्दाले ‘भताभुङ्गे राजाको दरबार’ भनेर चिन्छन् । सेनहरूले नै दन्तकाली, पिण्डेश्वरको मन्दिर र बालकुमारी थान बनाएका हुन् । सेन राजाहरूले नै दन्तकाली र पिण्डेश्वर मन्दिरमा गुठीको व्यवस्था गरेका हुन् । दन्तकालीका पुजारीहरू (तुलारामका सन्तान) लाई सेनहरूले नै नियुक्त गरेर लालमोहर दिएका हुन् । सेन राज्य सकिएपछि शाह कालमा पनि त्यो थिति नै थमौती गरिएको हुनाले अहिले पनि त्यही व्यवस्था कायम छ । विजयपुरका सेन राजाहरूका गुरुपुरोहित चाहिँ धनकुटा कुरुलेका बराल थिए भन्ने कुरो योगी नरहरिनाथले ‘रुद्राक्षारण्य माहात्म्य’ को भूमिकामा लेखेका छन् । विजयपुरका सेन राज्यमा व्यापार गर्न विजयपुर बजार पुगेका चैनपुरे नेवारहरूले त्यहाँ एउटा भीमसेन थानको पनि स्थापना गरेका छन् ।

सेन राज्यको राजभाषा मैथिली थियो, त्यसैले विजयपुरका सेन राज्यका चिठीहरू सबै मैथिली भाषामा लेखिएको पाइन्छ । विजयपुर क्षेत्रको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग भएको गोर्खालीहरूले विजयपुर राज्य जितेपछि मात्र हो । इतिहासको कुनै चरणमा सरकारी राजकाजमा मैथिली भाषाको प्रयोग पाल्पादेखि विजयपुर अर्थात् गण्डकीदेखि टिस्टासम्म थियो । काठमाडौँ उपत्यकाका मल्ल राजाहरू पनि राजभाषाको रूपमा मैथिलीको प्रयोग गर्थे भन्ने पाइन्छ । ठाकुर पराजुलीको अनुसन्धान अनुसार पृथ्वीनारायण शाहको दरबारभित्र चल्ने भाषा पनि मैथिली (?) नै थियो ।

असमको राजधानी कुनै बेला कुचबिहार थियो । नरनारायण राई भन्ने कोचे अर्थात् राजवंशी राजाका पालामा कोशी नदीसम्म नै असम (कुचबिहार) को आधिपत्य थियो । नरनारायण राईका एउटा सौतेनी दाजु त नेपाल दरबारका नाति थिए भन्ने असमको इतिहास हेर्दा थाहा हुन्छ, तर बाबुको मृत्युपछि उनलाई राजा नबनाउन चिला राईले नरनारायणलाई उल्क्याए, जसले गर्दा भाइहरूले लखेटेपछि ती राजकुमार विजयपुरको नारायणपुरमा आएर बसे भन्ने कुरो कुचबिहारको इतिहासमा पाइन्छ । इमानसिंह चेम्जोङ (हिस्ट्री अफ द किरात पिपल) ले पछाडि ‘नारायण’ लेख्ने नारायणपुरका कोच राजाहरूको नामावली (जरै नारायण, इङ्दिङ नारायण,...आदि) लेखेका छन् । कोच र मेच जातिहरू दुवै असमका बोडो जाति हुन् भन्ने असमको इतिहासबाट बुझिन्छ । जुन बोडोले हिन्दु धर्म आर्य भाषा अपनायो, त्यसलाई राजवंशी भनिन्छ अनि जुन बोडोले आफ्नो भाषा र धर्म छोडेन त्यसलाई नेपालमा मेचे (बोडो) भनिन्छ । असममा मेच भाषा पनि कोच भाषा पनि बोलिन्छन्, तर नेपालमा मेचे (बोडो) भाषा मात्र बोलिन्छ । राजवंशीहरूको असमका कोचहरूसित नमिल्ने छुट्टै मातृभाषा छ, जसलाई मेची नदीको पूर्वतिर उत्तरी बाङ्ला भाषा पनि भन्ने चलन छ ।

धरानको उत्तर–पश्चिमतिर वराहक्षेत्र पर्दछ । वराहक्षेत्रको बयान वराह पुराणमा पनि पाइन्छ । जनकलाल शर्माले विजयपुरमा गुप्तकाल (सातौँदेखि नवौँ शताब्दी) का भाँडाकुँडाहरू भेटेका छन् । यस विवरणका आधारमा पनि गुप्तकालीन प्रभाव धरान र यसका छेउछाउका क्षेत्रमा परेको देखिन्छ । विजयपुरको इतिहास खोज्न उल्लिखित सामग्रीका अतिरिक्त दार्जिलिङ, पूर्णियाँ, बङ्गाल र सिक्किमका गजेटियरहरूको पनि तुलनात्मक अध्ययन गर्नुपर्छ । 

रेवामणि पोखरेलले सम्पादन गरेको पानी–पोखरेलको वंशावलीमा खोटाङ जिल्लाको खार्पा निवासी हरिनन्द पोखरेललाई पृथ्वीनारायण शाहले लेखेको ‘तिमीले जसरी सेनहरूको चौदण्डी राज्य जिताउन हामीलाई सघायौ, त्यसै गरी सेनहरूको विजयपुर राज्य जित्न पनि सघाऊ’ भन्ने बयानको चिठी पनि सङ्कलन गरिएको छ । 

बङ्गालको दिनाजपुरको शिलालेखमा हाम्रो वराहक्षेत्रका दुइटा गुठी राखिएको कुरो दिनेश चन्द्र सरकारले प्रकाशित गरेका छन् । त्यस्तै छैटौँ शताब्दीका गुप्त सम्राट (बुधगुप्त) का पालामा पूर्णियाँका एउटा सेठले वराहक्षेत्रमा गुरुवराह (?) को फुटेको मूर्ति जीर्णोद्धार गरेको अभिलेख पनि डिसी सरकार (सेलेक्ट इन्स्क्रिप्सन्स) ले प्रकाशित गरेका छन् । वराह पुराणमा कोका खोला र कोसीको दोभानको पानीको महात्म्यमा वराह भगवानले यो ठाउँ म एकछिन पनि छोड्न सक्तिन (क्षणञ्चापि न मुञ्चामि) भनेका कुरा र महाभारत र अनेक पुराणमा हाम्रो वराहक्षेत्रको वर्णन भएको कुरो हाम्रो संस्कृत विश्वविद्यालय र हाम्रा तीन तहका सरकारलाई माल पाएर चाल नपाउने स्थिति भएको छ । नेपाललाई आफ्ना तीर्थहरूको व्यापारीकरण गर्ने बुद्धि पलाएकै छैन । भारतले भए, ढुङ्गै पिच्छे संस्कृत भाषामा भगवानकै मुखबाट महात्म्यको प्रचार गरेर तीर्थ, बासिन्दा र राष्ट्रको आम्दानी बढाउन जान्दथ्यो ! हाम्रा पण्डितहरू त उतैको मानो खाए झैँ भारतकै तीर्थको प्रचार गर्ने संस्कृत श्लोक कण्ठ गराएर नेपालमा त देउतै बस्तैनन् भनेजस्तो पारेर उतैको अर्थतन्त्र बलियो बनाउनै निर्लिप्त भएर लागेका देखिन्छन् । योगी नरहरिनाथ मात्र यसका अपवाद देखिन्छन् । उनको पछि लाग्ने संस्कृतज्ञहरूको नेपालमा खाँचो छ । 

राणाकालमा र त्योभन्दा अघि नै पनि विजयपुरमा दन्तकाली–पिण्डेश्वर मन्दिरमा र गुरुहरूका घर–घरमा अनौपचारिकरूपमा संस्कृत पढ्ने गुरुकुलहरू भएको सङ्केत पाइन्छ । शारदा विद्यालय खोल्न धरानका शिक्षाप्रेमीहरूले गरेका अनेक प्रयासहरूमध्ये धरान पब्लिक हाइ स्कुल (२००३), शारदा बालिका विद्यालय (२००५), ‘राम संस्कृत पाठशाला’ (२००८) र पछि ‘पिण्डेश्वर संस्कृत महाविद्यालय’ र महेन्द्र कलेज (२०१२), शिक्षा सदन, शिक्षा निकेतन, भगवती मिडिल स्कुल, फुस्रेको पब्लिक हाइ स्कुल, डिपो हाइ स्कुलजस्ता अनेक शिक्षण संस्था, व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान (२०३०), चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रवीणता प्रमाणपत्र कार्यक्रम (२०३०) र त्यसपछि खुलेका अनेक शैक्षिक संस्थाहरूले धरानलाई ‘विद्यालोक’ बनाए । यातायातको सुविधा र कुनाकाप्चामा खुलेका विकासका गतिविधिले धरानको खँदिलो परिचय कुनै कुरामा राम्रो, कुनै कुरामा खोक्रो पनि बनाइरहेको छ ।

२००७ सालको परिवर्तनपछि धरानको एकदम छिटो विकास गराउने तŒवका रूपमा २०१० सालतिर धरानमा ब्रिटिस क्याम्प खुल्यो । त्यो एकातिर गोर्खा भर्ती केन्द्र थियो; अर्थात् त्यसले बेलायती सेनाका लागि नेपाली सिपाहीहरु भर्ती गथ्र्यो । अर्कातिर त्यसले आफ्नो पदबाट अवकाश पाएका सिपाहीहरूलाई निवृत्तिभरण (पेन्सन) दिन्थ्यो । तिनै अवकाशप्राप्त सिपाहीहरूका परिवारलाई निःशुल्क उपचार गर्न त्यहाँ एउटा अस्पताल पनि खोलिएको थियो । त्यस अस्पतालले गोर्खा सैनिकसँग साइनो नलाग्ने अरू बाहिरिया बिरामीहरूको पनि उपचार गथ्र्यो । धरानमा त्यस बेलायती क्याम्पलाई मलाया क्याम्प भन्ने चलन थियो, तर चालीस सालपछि धरानबाट त्यो ब्रिटिस क्याम्प हिँड्यो । 

संवत् २०४५ साल भदौको भूइँचालोले पनि धरानलाई ध्वस्त ग¥यो । त्यसपछि धरान झण्डै एक दशकसम्म सुक्यो । अहिले त्यो ब्रिटिस क्याम्प भएका ठाउँमा बी.पी. कोइराला मेडिकल कलेज खुलेको छ । त्यसले धरानको विकासमा अर्कै किसिमले प्रभाव पारिरहेको छ ।

यसरी धरानको विकास र गरिमाको इतिहासमा भारतीय गुप्त सम्राट्, असमका वैष्णव राजाहरू, सेन राजाहरू, नेपाल एकीकरण, देव शमसेरको पतन, भूइँचालो, मलाया क्याम्प र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता अनेक कारक तŒवहरू देखिन्छन् ।

भूपि शेरचनले धरानबारे एउटा कवितामा लेखेका छन्, “धरानमा चार थरी मान्छे बस्छन्ः लेफ्ट (वामपन्थी), राइट (दक्षिणपन्थी), लेफ्टराइट (पूर्व सैनिक) र स्ट्यान्ड–एट–इज (धरानमा जे भए पनि वास्ता नगर्नेहरू) ।” धरानको विकासमा ‘भिजनरी’ (विकासको चेत भएका) र ‘अल्वेइज एलर्ट’ (सधैँ चनाखो) प्रतिभाहरूको सङ्गठन कसरी बनाउने होला ?