विराटनगर । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । ‘जेन जी’ आन्दोलनपश्चात् अन्तरिम सरकारले तय गरेको फागुन २१ गतेको निर्वाचन मोरङमा शान्त र सुरक्षित तवरले सम्पन्न भयो । यसपटकको निर्वाचन विगतको तुलनामा निकै फरक र रोचक देखिएको छ ।
एकातर्फ देशभर ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने देशभरिमा १२ जना प्रभावशाली उम्मेदवार देखिए भने कोशी प्रदेशमा मात्रै ४ जनाले यो सफलता हात पारे । अर्कोतर्फ मोरङमा यस्ता उम्मेदवारको पनि लर्को देखियो, जसले ५० मतको सामान्य आँकडासमेत पार गर्न सकेनन् । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रिएका कुल एक सय १० उम्मेदवारमध्ये ३२ जनाले ५० मत पनि कटाउन सकेनन् ।
कुल ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा पाँच लाख ५५ हजार १४ मत खसेको थियो । यस पटकको निर्वाचनमा मोरङका ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ‘क्लिन स्वीप’ गरे । ५० मत पनि ल्याउन नसक्ने उम्मेदवारहरूको सङ्ख्या सबैभन्दा बढी क्षेत्र नं. ५ मा छ भने सबैभन्दा कम क्षेत्र नं. ६ मा देखिएको छ ।
मोरङ १ मा १७ जना उम्मेदवार रहेकोमा ६ जनाले ५० मत कटाउन सकेनन् । ‘दूरबिन’ चिह्नका स्वतन्त्र उम्मेदवार ईश्वर वाग्लेले ४०, ‘ढिकी’ चिह्नका यामप्रसाद दाहालले ३९, ‘कलश’ चिह्नका मिलन भण्डारीले ३१ र ‘घर’ चिह्नका फिबराज लिम्बूले ३० मत प्राप्त गरे । यस्तै, ‘कैँची’ चिह्नका पशुपति घिमिरे र मितेरी पार्टी नेपालका डिल्लीराम लिम्बू (ढोका चिह्न) ले समान १२ मत पाए । यस क्षेत्रबाट रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३ सय ३६ मतसहित विजयी भएका छन् । यहाँ ७७ हजार ५ सय ८५ मत खसेको थियो ।
मोरङ २ मा १७ जना उम्मेदवारमध्ये ३ जनाले ५० मत कटाउन सकेनन् । ‘आँप’ चिह्नका स्वतन्त्र उम्मेदवार राजन निरौलाले ४८, ‘कैँची’ चिह्नका बुधु ऋषिदेवले ३५ र ‘क्यामेरा’ चिह्नका नरेशकुमार साहले १८ मत प्राप्त गरे । यस क्षेत्रबाट रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९ सय २४ मत ल्याएर विजयी भए । यहाँ कुल ८१ हजार ३ सय ४५ मत खसेको थियो ।
मोरङ ३ मा १८ उम्मेदवारमध्ये ५ जनाले ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू ईश्वर वाग्लेले ४०, यामप्रसाद दाहालले ३९ र मिलन भण्डारीले ३१ मत पाए । यस्तै, नेपाल जनमुक्ति पार्टीका फिबराज लिम्बूले ३०, स्वतन्त्र उम्मेदवार पशुपति घिमिरेले १७ र मितेरी पार्टीका डिल्लीराम लिम्बूले १२ मत प्राप्त गरे । यस क्षेत्रमा रास्वपाका गणेश कार्की ३६ हजार ९ सय २४ मतका साथ विजयी भए । यहाँ कुल ९६ हजार ६ सय ७७ मत खसेको थियो ।
मोरङ ४ मा १९ जना उम्मेदवार रहेकामा ६ जनाले ५० मत कटाएनन् । स्वतन्त्र उम्मेदवार भक्तमणि दाहाल (मुडा चिह्न) ले ४० र ज्ञानेन्द्र खत्री (त्रिभुज/इस्टकोट चिह्न) ले २५ मत प्राप्त गरे । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका हरिनारायण चौधरीले ३८, नेपाल मजदुर किसान पार्टीका जयराम थारूले २९ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहरले ११ मत पाए । यस क्षेत्रबाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८ सय ३३ मत ल्याएर निर्वाचित भए ।
मोरङ ५ सबैभन्दा बढी उम्मेदवार रहेको यस क्षेत्रमा २२ मध्ये १० जनाले ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू राजकुमार राजवंशीले ४७, सुजितकुमार साहले २८, ममता यादवले १३, विकास श्रेष्ठले ११, सूर्यनारायण ठाकुरले ५ र जयनारायण शर्माले ३ मत मात्र पाए ।
यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनकी शकुन्तला श्रेष्ठले १७, नेमकिपाकी गङ्गाकुमारी राजवंशीले २२, राष्ट्रिय मुक्ति पार्टीका नरेशकुमार लभले २८ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मङ्गल ऋषिदेवले ३४ मत प्राप्त गरे । यस क्षेत्रमा रास्वपाकी आशा झा ३० हजार ४ सय ३४ मतसहित विजयी भइन् । यहाँ ७८ हजार ५२९ मत खसेको थियो ।
मोरङ ६ मा १७ उम्मेदवार रहेकोमा दुई जनाले मात्र ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवार किरण खड्काले ३९ र खडानन्द रिजालले ३५ मत प्राप्त गरे । यस क्षेत्रबाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५ सय १३ मतका साथ भारी मतले निर्वाचित भइन् ।































