धरान । फागुन २१ गते सम्पन्न चुनावमा केही नेताहरू हारेर पनि राष्ट्रिय छवि बनाउन सफल भएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ का तीनजना उम्मेदवारले राष्ट्रिय छवि बनाएका हुन् । पार्टीले पहिलो पटक उम्मेदवार बनाएका नेपाली काङ्ग्रेसका सुजेन्द्र गोले तामाङ, नेकपा (एमाले) का टीकाराम लिम्बू र नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले राष्ट्रिय छवि बनाएका हुन् । विशेष महाधिवेशनबाट काङ्ग्रेस सभापति बनेका गगन थापाले ४९ वर्षीय गोलेलाई उम्मेदवार बनाएका थिए । यसअघि उनी नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर १ का नेता थिए । जिल्ला सचिवसमेत रहिसकेका उनी पछिल्लो समय क्षेत्रमा खटिएका थिए । तर, यो निर्वाचनबाट उनले राष्ट्रिय छवि बनाउन सफल भएका हुन् । २०७० ताका आदिवासी जनजाति महासङ्घ सुनसरी समन्वय परिषद्का अध्यक्ष थिए । आदिवासी नेताको रूपमा परिचित भए पनि पार्टीबाट उनले राष्ट्रिय छवि बनाउन सकेका थिएनन् ।
निर्वाचनमा उनी पाँचौं भएका थिए । उनले तीन हजार नौ सय ७० मत प्राप्त गरेका थिए । यसै पनि सुनसरी क्षेत्र नम्बर १ मा काङ्ग्रेसको उपस्थिति दर्बिलो छैन । विगतमा सुनसरी क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसले जितेको इतिहास छैन । यता नेकपा (एमाले) का विद्यार्थी नेताको रूपमा चिनिएका टीकाराम लिम्बू (माङ्ले) पनि राष्ट्रिय नेता बनेका छन् । चुनावी अभियानमा हिँडिरहँदा कतिपयले उनलाई चिनेका पनि थिएनन् । एमाले कार्यकर्ता तहमै नचिनिएका उनले अब भने राष्ट्रिय छवि बनाएका छन् । एमालेका एकजना क्रियाशील सदस्यले भनेका थिए, “हैन, टीका माङ्ले को रहेछ ? मैले नै चिनेको रैनछु, अनि सर्वसाधारणले कसरी चिन्लान् ?”
४१ वर्षीय माङ्ले चुनावी मैदानमा तेस्रो बनेका छन् । उनले ६ हजार चार सय ६३ मत प्राप्त गरेका छन् । एमालेको किल्लाको रूपमा रहेको सुनसरी क्षेत्र नम्बर १ मा विगत वर्षबाट इतिहास तोडिँदै आएको छ । यस पटक पनि चार महिनाअघि मात्रै निर्माण भएको सङ्गठन श्रम संस्कृति पार्टीले सुनसरी क्षेत्र नम्बर १ मा चुनाव जितेको छ । २०७९ को चुनावमा एमालेले जनता समाजवादी पार्टी नेपालको उम्मेदवार अशोक राईलाई सघाएको थियो । राईले चुनाव जितेर सांसद् बनेका थिए । तर यस पटक एमालेले आफ्नै उम्मेदवार उठाए पनि जित्न सफल भएन । यता नेपाली कम्युनिष्ट पार्टीले पनि सूर्यबहादुर भट्टराईलाई उम्मेदवार बनाएको थियो ।
चुनावी अभियानका क्रममा भने उनी परिचितमध्येमा पर्थे । धरान–१७ बाट वडाध्यक्ष बनेका उनी नगर प्रमुख हर्कराज राईसँग कार्यपालिका बैठकमा वादविवाद र तर्क गरेका कारण पनि केही परिचित थिए । तर, यसपटकको निर्वाचनले पनि उनी थप राष्ट्रिय छवि बनाउन सफल भए । ४२ वर्षीय भट्टराईले ६ हजार एक सय ८५ मत प्राप्त गर्दै चौथोमा सीमित भएका थिए । चुनावी अभियानमा जित्ने सम्भावना भएका उम्मेदवार भनिए पनि चुनावी परिणाममा उनी चौथोमा खुम्चिए ।
सुनसरी क्षेत्र नम्बर १ बाट सय मत नकटाउनेमा १५ जना रहेको अवस्थामा यिनीहरूले भने राष्ट्रिय छवि बनाउँदै आउँदो राजनीतिक यात्रालाई सहज बनाएका छन् । चुनावबाट पराजित भएलगत्तै पत्रकार सम्मेलन गर्दै सूर्यबहादुर भट्टराईले भनेका थिए, “अब अहिल्यैबाट राजनीतिक गतिविधिमा संलग्न हुन्छु । मेरो तयारी आजैबाट सुरु भयो ।”































