विजयपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । उनी पूर्वमन्त्री तथा मुख्यमन्त्रीसमेत बनेका एमालेबाट उम्मेदवार बनेका शेरधन राईलाई पराजित गर्दै विजयी भएका हुन् ।

राईले १६ हजार ६६३ मत पाउँदा शेरधनले १४ हजार ७५० मत प्राप्त गरेका छन् । शेरधन नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री र कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । २०५४ सालदेखि पटकपटक उम्मेदवार बनेर निर्वाचित र कहिले पराजित हुँदै आएका मुख्यमन्त्री राई भने यसपटक पराजित हुन पुगेका छन् । ध्रुबराज राई २०७४ को स्थानीय तहको निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका राई पराजित बने । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मात्र एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका ध्रुबले भोजपुरबाट प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका हुन् ।

नेपाली कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ भोट ल्याए ।