विजयपुर । रुकुम पूर्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाचौं पटक सङ्घीय संसद प्रवेश गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड पाचौं पटक रुकुम पूर्वबाट निर्वाचित भएसँगै पुनः संसदीय यात्रा तय भएको हो । प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
पाँच निर्वाचनमा आठ क्षेत्रमा उम्मेदवार, सात क्षेत्रमा निर्वाचित
१० वर्षे जनयुद्धको नेतृत्व गरेका दाहाल नेपालका चर्चित कम्युनिस्ट नेता हुन् । पाँच वटा निर्वाचनमा ८ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रचण्ड सात वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा रोल्पा क्षेत्र नं. २ र काठमाडौं क्षेत्र नं. १० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै, २०७० सालमा भएको दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं क्षेत्र नं. १० र सिराहा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका थिए । यो निर्वाचनमा उनी काठमाडौंबाट पराजित भए भने सिराहाबाट थोरै मतले विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका थिए । एमाले–माओवादी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर दाहाल निर्वाचित भएका थिए ।
२०७९ सालको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा भने दाहाल पहिलोपटक रुकुमपूर्वबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् ।
तीन पटक प्रधानमन्त्री
दाहाल नेपालको तीन पटक प्रधानमन्त्री बनिसकेका नेता हुन् । २०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेपछि ’प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । प्रचण्ड २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । २०७९ पुसमा एमालेको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । तर, एमाले–कांग्रेस गठबन्धनको सरकार बनेपश्चात् प्रचण्ड अल्पमतमा परेका थिए । संसदमा विश्वास मत प्राप्त नगरे पश्चात गत असारमा सत्ता बाहिर पुगेका थिए । भदौ २३ र २४ मा जेनजी आन्दोलनपश्चात् प्रधानमन्त्री बनेकी सुशीला कार्कीले फागुन २१ मा निर्वाचन घोषणा गरेकी थिइन् । अहिलेको निर्वाचनमा पूर्वप्रधानमन्त्रीमध्येबाट हालसम्म प्रचण्ड मात्र निर्वाचित भएका छन्। अन्य पूर्वप्रधानमन्त्रीका उम्मेदवार फराकिलो मतान्तरसहित पछाडि परेका छन्।
































