विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।


पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम रहेको छ ।


झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ सय ८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १ सय २९ मत प्राप्त गरेका छन् ।


झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन् ।


झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि छिन् । नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईले १९१ मत प्राप्त गरे ।


झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा रहेका छन् । राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।


झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि छन् । नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन् । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस