विराटनगर । मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता लिएको छ। पछिल्लो परिणाम अनुसार रास्वपाकी उम्मेदवार रुविना आचार्यले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पार्दै अग्रता कायमै राखेकी छिन्।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो २ बजे सार्वजनिक गरेको १७ हजार ६३८ मतगणनाको विवरण अनुसार घण्टी चिह्न भएकी आचार्यले ९ हजार ५०४ मत प्राप्त गरेकी छिन्। उनी आफ्ना प्रतिस्पर्धी भन्दा ७ हजार ३७६ मतले अगाडि छिन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले हालसम्म २ हजार १२८ मत मात्र प्राप्त गरेका छन्। कोइराला र आचार्यबीचको मतान्तर निकै बढेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

त्यस्तै, अञ्जुलीमा रहेको माटो चिह्न भएका श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २ हजार २० मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार विनोद प्रसाद ढकाल २ हजार ७ मतका साथ चौथो स्थानमा रहेका छन्।

अन्य उम्मेदवारहरूमा राप्रपाका सबिन निरौलाले ३६६ मत र नेकपाका ओपेन्द्रकुमार रायले २७८ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएको १७ हजार ६३८ मतमध्ये १६ हजार ५७० मत सदर भएको छ भने १६८ मत बदर भएको छ। अहिले उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको छ।