धरान । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न १८ वर्ष पूरा भएका नागरिकका लागि मतदाता परिचयपत्र जारी गरेको छ । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्यरूपमा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्यरूपमा लैजानुपर्नेछ । यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ । त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नु पर्नेछ ।
मतदाताले मतदान केन्द्रमा जाँदा आफूसित छ भने मतदाता परिचय पत्र लैजाने, सो परिचयपत्र हराएको, नासिएको छ भने नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अथवा लालपुर्जाको सक्कल प्रति लिएर जानु पर्नेछ । मतदान केन्द्रमा पुगिसकेपछि मतदाता नामावलीमा आफ्नो नाम भए–नभएको रुजु गरिसकेपछि पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र उपलब्ध गराइनेछ । त्यसमा गोप्य मतदान कक्षमा गएर आफूले मन पराएको उम्मेदवारको चिन्हमा मतदान गरिसकेपछि त्यसलाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नु पर्नेछ ।
त्यसपछि समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइनेछ । समानुपातिक तर्फको मतपत्रमा राजनीतिक दललाई मतदान गर्नुपर्ने भएको हुनाले आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिह्नमा गोप्य मतदान गरेर त्यहाँ राखिएको अर्को मतपेटिकामा खसाल्नु पर्नेछ । त्यसपछि मतदाताले प्रस्थान गर्नुपर्नेछ ।
मतदान केन्द्र भित्र प्रवेश गर्ने र बाहिर प्रस्थान गर्ने द्वारहरू पनि अलग–अलग हुनेगरी व्यवस्थापन गरिएका हुनेछन् । अनावश्यक भीड भई मतदातालाई मतदान केन्द्रमा जान असहज हुने अवस्था नआओस् भन्नका लागि प्रवेश र बाहिर निस्कने गेटहरू पनि फरक–फरक बनाइएका हुने छन् । मतदाताले एक गेटबाट प्रवेश गर्ने, मतदानको काम सम्पन्न गरिसकेपछि अर्को गेटबाट बाहिर निस्कनु पर्नेछ ।
































