विजयपुर । सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित एक इँटाभट्टाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार औराबनीस्थित इँटाभट्टा नजिकबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

प्रहरी टोलीलाई देखेपछि दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलका चालकले बोरा फालेर मोटरसाइकलसहित फरार भएका थिए । प्रहरीले उक्त बोरा खोलेर चेकजाँच गर्दा लत्ताकपडा तथा जुत्ता–चप्पल फेला पारेको जनाएको छ।

बरामद सामानको अनुमानित मूल्य १ लाख ६१ हजार ९ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।