अहिले मुलुक निर्वाचनतर्फ धकेलिएको छ । जेन जी आन्दोलनपछि बनेको चुनावी सरकारले यही फागुन २१ मा निर्वाचन गराउने प्रयास गरिरहेको बुझिन्छ । यद्यपि चुनाव निष्पक्ष र शान्तिपूर्ण होला कि नहोला भन्ने विषयले जनमानसमा अझै अन्योलता कायम रहेको छ । यही अन्योलताबीच नै राजनीतिक दलहरू चुनावी यात्रामा निस्केका छन् । गह्रौं मन लिएर दलहरू चुनावी यात्राका लागि अस्वासनका पोका बोकेर जनताका घरमा पुग्न थालेका छन् । मैदानमा उत्रिएकामध्ये नेपाली काङ्ग्र्रेसले गगन थापा, नेकपा (एमाले) ले केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साह र श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई अबको प्रधानमन्त्रीको रूपमा अगाडि सारेको चर्चा सबैतिर सुनिदै आएको छ । चारैजना प्रधानमन्त्रीको दौडमा रहेका छन् । लगभग नेपाली जनताले सबैलाई राम्ररी चिनेका पनि छन् । दौडमा भाग लिनेमध्येबाटै परिस्थिति अर्को बनेन भने प्रधानमन्त्री बन्ने पक्का छ । तर मुलुकमा देखिएको विद्यमान समस्याको निराकरण कसरी गर्ने, त्यसको सूत्र अर्थात् मापदण्ड के हो र म यसरी गर्छु भन्ने यथेष्ट तथ्यगत कुरा के के छन् भन्ने कुरा उम्मेदवारले जनतामाझ स्पष्टरूपमा ल्याउनु पर्छ । त्यसैले मुलुकले चाहेको प्रधानमन्त्री कसरी बन्ने र कस्तो बन्ने भन्ने विषय चाहिँ आम जनमानसमा विचारणीय छ । जहानियाँ राणा शासन, पञ्चायती एकात्मक शासन हुँदै निरङ्कुश शाही शासनसम्म झेल्दै आएका नेपाली जनताले गणतन्त्रात्मक व्यवस्थासम्मको स्वाद लिइसकेका छन् । हरेक निर्वाचनले जनतामा एउटा आशाको दियो बालिदिन्छ । शान्ति, न्याय र समानताका लागि बालिएको दियो निर्वाचनको मत परिणाम घोषणासँगै निभ्छ र अर्को निर्वाचन नआएसम्म बल्दैन । हामी नेपाली समुदायले यो कुरा राम्रोसँग बुझेका पनि छौँ । देशले के मागेको छ, समाजले के चाहेको छ, यो कुरा केवल उम्मेदवारलाई मात्र नभएर प्रत्येक मतदातालाई थाहा हुनुपर्छ र मतदान गर्दा विज्ञापनमा हैन, विकास र निकासमा भावी सन्ततीको भविष्य अनि आफू बाचुञ्जेल शान्ति र समानता कायम हुने गरिको मिसनसहितको भिजनमा मतदान गर्नुपर्छ । हाम्रो मत अमूल्य छ । त्यही एक मतले मुलुक बनाउने र बिगार्ने काम गर्छ । तसर्थ मतदान गर्दा विवेक प्रयोग गर्नुपर्छ । १ .मुलुकको अवस्था सात दशक लामो न्याय र समानताको सङ्घर्ष आजसम्म जारी छ । कुनै समय विश्व बजारबाट शान्तिको देश नेपाल हो भन्ने परिचय स्थापित गरेको मुलुकले त्यो साख जोगाउन सकिरहेको छैन । विश्व राजनीतिले चिनेको नेपालले आपसी सद्भाव न्याय र समानताको मर्म जोगाउन सकेको छैन । अझै मुलुक समस्याको जगमा उभिएको छ । बेरोजगारी समस्या, सुकुम्बासी समस्या, किसान, मजदुरका समस्या, समयमा स्थायी शान्तिको समस्या, मुख्यरूपमा बलियो आर्थिक भिजनको अभावमा मुलुक फसेको छ । आज मुलुकले यी कुराको निकास खोजेको छ । प्रस्तावित प्रधानमन्त्रीले यी कुरा गर्न सक्छन् ? पूरा गर्न सक्ने विश्वसनीय आधार के के छन् ? अब कुनै एक व्यक्तिले हैन, देश र जनताले जित्नु पर्छ । २ .प्रधानमन्त्रीलाई चुनौती देश अस्थिरताको सागरमा तैरिरहेको छ । यसको सही नेतृत्वले मात्र सफलरूपमा पार लगाउन सक्छ । देशलाई आर्थिकरूपमा बलियो बनाउन जरुरी छ । त्योसँगै बेरोजगारी सुकुम्बासी किसान मजदुरका समस्या मुख्य हुन् । यिनको दिगो समाधान नै सफल नेतृत्व हो । प्रधानमन्त्रीको दौडमा रहेकाहरूले अबको मुलुक निर्माणको स्पष्ट अनि मतदाताले पत्याउने खालको मार्ग बनाउन जरुरी छ । अहिलेका प्रधानमन्त्रीका उम्मेदवारले त्यो मार्गचित्र बनाएका छन् त ? प्रश्न यहाँनिर हो । निर्वाचन हुनु ठूलो कुरा हैन । जनतामा देखिएको निराशापन हटाउनु, व्याप्त समस्याको समाधान गर्नु र समाधानका लागि विश्वासयोग्य यी यी योजना छन् भनेर स्पष्टरूपमा अगाडि सार्नु ठूलो कुरा हो । ३. निर्वाचनको आवश्यकता निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो तर हाम्रोजस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकमा समय अगावै हुने निर्वाचनले ठूलो आर्थिक सङ्कटको सामना गर्नुपर्छ । हरेक निर्वाचनले एउटा सफल र विश्वसनीयता कायम गरेको जनप्रतिनिधि उत्पादन गर्नु पर्छ । तर देशको आर्थिक अवस्था सुधार गर्न निर्वाचन पद्दतिलाई पनि परिमार्जन गर्न जरुरी भएको छ । परिमार्जनअनुरूप आर्थिक भार रहित निर्वाचन पद्दति अपनाउन जरुरी छ । ४. निष्कर्ष देश अहिले ठूलो आर्थिक सङ्कटमा छ । बेलैमा सही मार्ग दिन सकिएन भने भावी सन्ततीले यसको असरलाई निर्मम सामना गर्नुपर्ने देखिन्छ । जसको अन्त्यका लागि केवल नेताले मात्र हैन, धेरै चाहिँ जनताले विवेक पु¥याउन जरुरी छ । यसका लागि निर्वाचन शान्तिपूर्ण र कम खर्चिलो बनाउन जरुरी छ । यसका केही उपायहरूः १. निर्वाचनमा हुने अवैध खर्च घटाउनेः हरेक निर्वाचनमा आ–आफ्नो स्थानीय तहका वडा कार्यालयमा पुगेर मतदाताले मतदान गर्ने । २. निर्वाचन क्षेत्र घटाउनेः एक जिल्ला, एक सांसद् मात्र बनाउने । ३.उम्मेदवारले मुलुक निर्माणका योजना डिजिटल प्रविधिमार्फत् सार्वजनिक गर्नेः सञ्चार माध्यममार्फत् जनतामा अपिल गर्ने, तडकभडक गरेर नारा जुलुस लगाई मतदातालाई प्रलोभनमा नपार्ने । ४. मतदाताले उम्मेदवार र समग्र उसको पार्टीको देश बनाउने नीति बुझेर मात्र मतदान गर्ने । ५. दलहरूले मुलुक निर्माणको मार्गचित्र सञ्चार माध्यममार्फत् सार्वजनिक गर्ने । यीबाहेक अन्य कुराले समेत मुलुक बनाउन सक्ने खालका योजना भए ल्याएर जनता माझ देखाउने गरी दलहरू चुनावमा लाग्नु पर्छ । चुनाव भन्नासाथ हाम्रो मुलुकमा निकै खर्चिलो हुने गरेको छ । यसको कटौती गर्न जरुरी छ । राजनीतिक दलहरूले निर्वाचनका तरिका परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ र जनताले त्यस्तो भूमिकाको अनुमोदन गर्नुपर्छ । यिनै कुरालाई आत्मसात गर्दै प्रधानमन्त्रीको दौडमा रहेका नेताहरूले विवेक पु¥याउन जरुरी छ । चुनाव कुनै नाटकमा अभिनय गरेजस्तो हैन, जहाँ अभिनयको तरङ्ग हुन्छ । यो त मुलुक बनाउने कुरा हो, मुख्य रूपमा अन्य मुलुकको सहारा विनै मुलुक बचाउने भिजन अहिलेको आवाश्यकता हो । नेपालीले दुई छाक खान र लाउन अर्काको देश जानुपर्ने बाध्यताको अन्त्य अबको प्रमुख चुनौती हो । यी कुराको चिरफार उम्मेदवारले गर्नुपर्छ । केवल सामाजिक सञ्जालको बाहुबाट मुलुक बनाउन सकिन्न भन्ने हेक्का राख्नु पर्छ । त्यो कुरा जनमानसमा पनि छर्लङ्ग हुन जरुरी छ । एक दिनको गलत निर्णयले जिन्दगीभर पश्चाताप नहोस् । हामी सबैले बुझ्ने कुरा सुन्तलाको बोटमा आँप फल्दैन । त्यसैले हामीले जे चाहेको हो, त्यसैको बोट रोप्नुपर्छ । निर्वाचन शान्तिपूर्ण बनाउन हरेक जनताले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । स्मरण रहोस्, अहिलेका समस्या अर्को निर्वाचनसम्म नराखी निर्वाचित हुनेले काम गर्नु उचित हुने छ ।
(लेखक कार्की नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष हुन् ।)
































