धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको संस्था परिक्रमा विद्यार्थी परिवारको आयोजनामा दुई दिने ‘सिम्पोजियम कम टक शो’ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

शुक्रबारदेखि प्रतिष्ठान परिसरमा सुरु भएको कार्यक्रममा विभिन्न चारवटा विषयमा ‘टक शो’ कार्यक्रम गरिएको छ । कार्यक्रमको औपचारिक सुरुवात बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा, विद्यार्थी कल्याणकारी समाजका अध्यक्ष नरेन्द्र देवलगायतले गरे । कार्यक्रममा शिक्षाध्यक्ष शर्माले विज्ञान प्रविधिको क्षेत्रमा संसारमा आइरहेको परिवर्तनलाई आत्मसात गरी मानवीय भावनालाई ध्यान दिएर कार्यक्रम गर्नु आफैमा चुनौतीपूर्ण रहेको बताए । उनले कार्यक्रमलाई शुभकामना पनि दिए ।

यसक्रममा “राष्ट्रका मौन सिल्पीहरू ः नेपाललाई रूपान्तरण गरिरहेका संस्थाहरू” विषयमा वार्तालाप गरिएको थियो । जसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डाक्टर मतिना जोशी वैद्य, आर्किटेक्ट तथा सहरी योजनाकार राहुलमुनि बज्राचार्य, डब्ल्युडब्ल्युएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङ र ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले सहजीकरण गरे । कार्यक्रममा खाद्यसम्बन्धी समस्याको विषय साथै कानूनी अवस्थाका बारेमा महानिर्देशक जोशीले जानकारी गराइन् । नेपालमा खाद्य प्रविधिले खाद्य परीक्षण गर्ने र सोहीअनुसार बजारमा अनुगमनहरू पनि गर्दै आएको बताइन् । यस्तै सहरी योजनाकार बज्राचार्यले नेपालका सहरहरू योजनाअनुसार निर्माण हुन नसकेको कारणले धेरै समस्याहरू आइरहेको बताए ।

यसमा राज्यका नीति तथा व्यवहारमा फरक भएका कारणले पनि समस्या आइरहेको बताए । यस्तै गुरुङले पानी बचाउन एकदमै आवश्यक रहेको बताए । प्रकृतिमा जीवहरूको अस्तित्व सङ्कटमा पर्दै गएकाले त्यसलाई जोगाउनका लागि मानवले नै काम गर्नुपर्ने बताए । उनले मान्छेले जङ्गली जनावरको व्यवहार नदेखाई मान्छेकै व्यवहार देखाउन आवश्यक रहेको बताए । उनी हिमचितुवाको गोठालोको उपनामले पनि चिनिन्छन् । उनले नेपालमा हिमचितुवा र बाघको सङ्ख्या वृद्धि गर्नमा महŒवपूर्ण भूमिका खेलेका छन् ।

त्यसबीचमा अर्थशास्त्री डा. प्रदीप पन्थीले नेपालको पछिल्लो ३० वर्षयताको अर्थतन्त्रको वास्तविकता प्रस्तुत गरेका थिए । उनले नेपालमा भ्रष्टाचारको अवस्था विगतदेखि हालसम्म नै एउटै अनुपात (रेसियो) मा गइरहेको बताए । यो देशका लागि खतराको सूचक रहेको र यसलाई अन्त्य तत्काल गर्न नसकिने भए पनि विस्तारै परिवर्तन गर्न जरुरी रहेको बताए ।

दोस्रो वार्तालापमा लोकगायिका तथा सङ्गीतकार झुमा लिम्बू, सेफ सन्तोष साह, अभिनेता तथा हास्यव्यङ्ग्यकार मनोज गजुरेल र लेखक तथा सांस्कृतिक आलोचक सुरज सुवेदी रहेका थिए । उनीहरूलाई लेखक तथा पत्रकार केदार शर्माले सहजीकरण गरेका थिए ।

दोस्रो दिन जेन जी विद्रोहः कसरी देश माथि उठ्ला भन्ने शीर्षकमा छलफल गरिएको छ । उक्त छलफलमा जेन जी अभियन्ता रक्षा बम, राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल, अर्थशास्त्री प्रदीप पन्थी र वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की रहेका थिए । उनीहरूले जेन जी विद्रोहले मानिसहरूको ‘माइन्ड सेट’ परिवर्तन गरेको बताएका थिए । रक्षा बमले आफूहरूको आन्दोलन सुशासन र भ्रष्टाचारको विरुद्ध रहेको बताइन् । उनले यो आन्दोलन विद्रोहपश्चात् अन्त्य नभई अब आउने सरकारले पूरा गर्दै लानुपर्ने बताइन् । “हामीलाई थाहा छ, छु मन्तरका भरमा भ्रष्टाचार अन्त्य हुँदैन । यो पूर्णतः अन्त्य हुन टाइम लाग्छ । तर सबैले आ–आफ्नो ठाउँबाट यसका लागि काम गर्नुपर्छ” –उनले भनिन् ।

राजनीतिक विश्लेषक बरालले जेन जी आन्दोलनका कारणले गर्दा आम मानिसहरूको धारणामा परिवर्तन आएको बताए । उनले भूराजनीतिक हिसाबमा नेपाल सुरक्षित नै रहेको बताए । “सामाजिक सञ्जालमा आएजस्तो भूराजनीतिक अवस्था होइन । हामी सेफ नै छौँ, यहाँ राजनीतिक नेताहरूले आफ्नो पक्षमा बल ल्याउनका लागि मात्रै भन्दै आएका छन् । तर त्यस्तो पनि छैन”–उनले भने । वरिष्ठ अधिवक्ता कार्कीले संविधान अकाट्य वस्तु नभई संशोधन गरेर पनि जनताका माग र इच्छाहरूलाई पूर्ति गर्न सकिने बताए । अहिलेकै अवस्थामा संविधान कामै नलाग्ने भन्ने अवस्थामा नरहेको उनले बताए । यस्तै अर्थशास्त्री पन्थीले नेपालमा अब आउने सरकारले पनि भ्रष्टाचार पूरै अन्त्य गर्न सक्छ भन्नेमा आफू आशावादी नभएको बताए । त्यस्तै अहिले सरकारले बनाएका विभिन्न प्रतिबद्धता पत्रहरू हेर्दा प्रतिव्यक्ति आय हास्यास्पद किसिमको रहेको बताए । “त्यो पाँच वर्षमा पूरा गर्न सकिने खालको छैन” उनले भने, “दलको प्रतिबद्धता पत्र हेर्दा प्रत्येक वर्ष १५ प्रतिशतले आर्थिक वृद्धिदर गर्नुपर्छ । त्यो नेपालमा सम्भव छैन । म के चाहिँ सम्भावना देख्छु भने केही वर्षसम्म ७ प्रतिशत आर्थिक वृद्धि गर्न सकियो भने १०–१५ वर्षमा पूरा होला ।”

यसबीचमा डब्ल्युडब्ल्युएफका नेपाल प्रतिनिधि घनश्याम गुरुङले आफ्नो जीवनका अनुभवहरू सुनाएका थिए । यस्तै दोस्रो वार्तालाप भने बीपी प्रतिष्ठानकै विषयमा रहेर गरिएको थियो । यसक्रममा बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रशासक अक्षय गौतम, प्रा.डा. कृष्णा पोखरेल, प्रा.डा. निलाम्बर झा सहभागी रहेका थिए । जसलाई अनिश अधिकारीले सहजीकरण गरेका थिए ।

परिक्रमा विद्यार्थी परिवार सन् १९९६ मा स्थापना भएको हो भने यो नवौँ सिम्पोजियम रहेको अध्यक्ष दीक्षान्त यादवले जानकारी दिए । विद्यार्थीहरूले मानविकीसँग जोड्नका लागि यस्ता कार्यक्रम गर्दै आएको छ । यसले वार्षिक रूपमा पुस्तकहरू पनि प्रकाशन गर्दै आइरहेको छ ।