धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको स्थायित्वका लागि अक्षयकोष स्थापना गरेको छ ।

शनिबार २६ औं बुढासुब्बा गोल्डकपको समापन समारोहमा क्लबका महासचिव नविन राईले अक्षय कोष स्थापनाको अवधारणा प्रस्तुत गरे । क्लबले हरेक वर्ष गोल्डकप आयोजना गर्दा दाताहरूबाट सहयोग संकलन गर्दै आएकोमा दाताहरूकै सल्लाह र सुझावमा अक्षयकोष स्थापना गरिएको महासचिव राईले स्पष्ट पारे ।

अक्षयकोष नेपाल सरकारको आधिकारिक निकायमा कानुनसम्मत दर्ता गरी, एकवर्षे मुद्दती खाता खोली सञ्चालन गर्ने बताइएको छ । अक्षयकोषमा सहयोग गर्ने व्यक्ति, दाताहरू र संघसंस्थाहरू अक्षयकोषको सदस्य रहनेछन् । अक्षयकोष सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गरिने छ, जसमा धरान फुटबल क्लबबाट अध्यक्षसहित २ जना, दाताहरू युके, हङकङबाट दुई/दुईजना र धरानका एकजना प्रतिष्ठित व्यक्ति सदस्य रहने महासचिव राईले जानकारी दिए ।

यसैगरी अक्षयकोष सञ्चालनका लागि युके, हङकङ र धरान फुटबल क्लबबाट एक/एकजना गरी तीनजनाको अनिवार्य हस्ताक्षरबाट बैंक खाता सञ्चालन गरिने छ । अक्षयकोषबाट प्रत्येक वर्षको ब्याज रकमको ८० प्रतिशत बुढासुब्बा गोल्डकपमा खर्च गरिने छ । यस्तै, २० प्रतिशत आवश्यक खर्च कटाई कोषको मूलधनमा जम्मा गरिने महासचिव राईले जानकारी दिए । कार्यसमितिको कार्यकाल ४ वर्षको हुने र प्रत्येक ४ वर्षमा संस्थाको अधिवेशन गरी नयाँ कार्यसमिति छनोट गरिने छ । हाल अक्षयकोषमा दुई लाख ७१ हजार रुपैयाँ जम्मा भइसकेको छ । अहिले केही नयाँ दाताहरूले पनि दिने प्रतिबद्धता जनाएअनुसार दुई लाख ७१ हजारसहित १५ लाख जम्मा हुने राईले जानकारी दिएका छन् ।