धरान धरान उपमहानगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरणबाट १८ जना विद्यार्थी फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थी सहभागी छन् । 

आइतबार धरान-८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न छनोट चरणमा धरानका ११ वटा प्लस टु कलेजबाट २० जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये १८ जना विद्यार्थी फाइनल चरणका लागि छनोट भएका हुन्।

फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती माध्यमिक विद्यालय, पानवाराकी समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन माध्यमिक विद्यालयका सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्।

त्यस्तै विष्णु मेमोरियल माध्यमिक विद्यालयका सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत माध्यमिक विद्यालयका केवल मिश्र र सुमन भट्टराई, डिपोट माध्यमिक विद्यालयकी क्यासी राई, धरान-मेघा हिमालयनका दिविका राई र सन्जिना राई पनि फाइनलमा छनोट भएका छन्।

यसैगरी सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति माध्यमिक विद्यालयकी जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि फाइनल चरणमा प्रवेश गरेका छन्।

प्रतियोगिताको शीर्षक "हामी सचेत युवा कि भीड पछ्याउने पुस्ता?" रहेको थियो । अधिकांश प्रतिस्पर्धीहरूले विषय समसामयिक रहेको बताउँदै युवाहरू भीडको पछाडि अन्धाधुन्ध लाग्नुभन्दा सही-गलत छुट्याएर यथार्थको बाटो पहिचान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू भीड पछ्याउने होइन, भीडलाई सही दिशामा डोर्‍याउन सक्ने बन्नुपर्छ भन्ने धारणा व्यक्त गरे।

प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्की र भानु स्मृति माध्यमिक विद्यालयका शिक्षक ओमनाथ रिमाल रहेका थिए।

विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले याडिकल लाईट नेपाल प्रा.लि., धरानले प्रतियोगिता आयोजना गरेको हो। आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणमै धेरै विद्यार्थीलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर दिइएको बताए।

कार्यक्रमका अतिथि सहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह आफ्ना विचार राख्न सकेको भन्दै प्रशंसा गरे। उनले सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमका सपोर्टर सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. र धरान-३ स्थित चुबासा एजुकेसन अफेयर रहेका छन्। कार्यक्रम सञ्चालन पूजा लम्सालले गरेकी थिइन्।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वनालाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति माध्यमिक विद्यालयमा हुने जनाइएको छ ।