नकारात्मक आवाजहरू चिर्न सजिलो हुँदैन । चुनौती केवल आलोचनाको होइन, सुरुवात कहाँबाट र कसले गर्ने भन्ने हो । सबैभन्दा पहिले नेतृत्व तह—जुनसुकै स्तरको भए पनि—लोकप्रियता खोज्ने सतही अभिव्यक्ति बन्द हुनुपर्छ । कोरा आदर्शमा सीमित भएर होइन, व्यवहारिक धरातलमा उभिएर काम गर्न सक्नुपर्छ ।
एउटा सक्षम र इमानदार व्यक्तिलाई चारैतिरबाट घेराबन्दी गरी निरन्तर नकारात्मक आरोप लगाइयो भने ऊ पनि अन्ततः कमजोर बन्न सक्छ । ठीक यही अवस्थाको उपमा लामो समयदेखि सामुदायिक विद्यालयहरूलाई दिइँदै आएको छ । यथार्थमा भने सामुदायिक विद्यालयमा शैक्षिक विज्ञता भएका, अनुभव र क्षमतायुक्त शिक्षकहरूको कुनै कमी छैन ।
शिक्षकहरू आफैलाई खारेर, तिखारेर एउटा सबल नागरिक तयार गर्ने प्रतिबद्धतासहित विद्यालय प्रवेश गर्छन् । आफ्ना ज्ञान, सीप र कार्यकौशल प्रस्तुत गर्न चाहन्छन् । तर कतिपय विद्यालय वा कार्यक्षेत्रमा त्यो महŒवाकाङ्क्षा प्रयोग हुन पाउँदैन भने कतिपय स्थानमा सहज वातावरण पाइन्छ । जहाँ नेतृत्व तहले शिक्षकको आकाङ्क्षा, क्षमता र सम्भावनाको सदुपयोग गर्ने सोच राख्छ, त्यस्ता विद्यालयहरू नमुनाका रूपमा विकास भएका उदाहरणहरू प्रशस्त भेटिन्छन् । ती विद्यालय हेर्नलायक मात्र होइन, अरूले अनुसरण गर्नलायक पनि बनेका छन् ।
परिणाममुखी अभ्यासले सकारात्मक नतिजा दिन सक्छ भन्ने उदाहरण धरान–१२ चतरालाइनस्थित पब्लिक हाइस्कुलले प्रस्तुत गरेको छ । यद्यपि आजको समयमा यस्तो नतिजा हासिल गर्न निकै सङ्घर्ष गर्नुपर्छ भन्नेमा दुई मत छैन । पढाउने शिक्षक, विद्यालयको नेतृत्व र अभिभावकबीच समन्वय कायम हुनसकेमा, एकअर्काको भावना बुझ्न सकिएमा र शिक्षकको कामको सही मूल्याङ्कन हुनसकेमा चाहिएको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने निष्कर्षमा पब्लिक हाइस्कुल पुगेको छ ।
यो अभ्यास एक–दुई वर्षको प्रयोग होइन । २०७१ साल वैशाख २६ गतेदेखि गरिएको अध्ययन र त्यसले तयार पारेको मार्गचित्रको निरन्तर पालना नै यसको आधार हो । सोही अध्ययनका निर्देशनहरूलाई कार्यान्वयन गर्दै आएको परिणामस्वरूप आज पब्लिक हाइस्कुल अभिभावकको रोजाइ र खोजाइको सामुदायिक विद्यालय बनेको छ । २०७६साल यता २०८० भित्र ३६ जना विद्यार्थी जो यहाँबाट एईई गरेर विभिन्न विश्व विद्यालयहरूबाट चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका विषयमा उच्चशिक्षा हासिल गरी देशको सेवा गरिरहेका छन् ।
यस अनुभवले एउटा कुरा स्पष्ट गराएको छ—सामुदायिक विद्यालयको दीर्घकालीन भिजन अनिवार्य छ । अहिले उठिरहेका प्रश्नहरू, जस्तैः ‘सामुदायिक विद्यालयमा सुधार कसरी सम्भव छ ?’, ‘पढाइलाई रोजगारीसँग कसरी जोड्न सकिन्छ ?’, ‘अभिभावकको आर्थिक भार कसरी कम गर्न सकिन्छ ?’ भन्ने विषयमा अब गम्भीर सोच आवश्यक छ । साथै नैतिक शिक्षाको पाटोलाई सुदृढ गर्दै अभिभावकमा रहेका विभिन्न विज्ञता र अनुभवलाई पनि विद्यालयको विकास प्रक्रियामा समेट्न सके मात्र सामुदायिक विद्यालयप्रति आकर्षण नभए पनि विश्वास अवश्य बढ्ने अपेक्षा गर्न सकिन्छ ।
पब्लिक हाइस्कुल भौतिक पूर्वाधारमै मात्र केन्द्रित छ, शैक्षिक सुधारमा ध्यान छैन भन्ने नकारात्मक आवाजहरू उठिरहेका बेला यहाँ देखिएको परिणामले ती आरोपलाई केही हदसम्म भए पनि सम्बोधन गरेको छ । यसले विद्यालय समुदायलाई राहतको सास फेर्न मद्दत पुर्याएको छ ।
विद्यालयका अन्य शैक्षिक तथा संस्थागत गतिविधिहरू र उपलब्धिहरू समय–समयमा सार्वजनिक हुँदै जानेछन् । शैक्षिक सुधारको मापकका रूपमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९२ प्रतिशत नतिजा हासिल हुनु पब्लिक हाइस्कुलको यात्रामा महत्वपूर्ण उपलब्धि हो । यो परिणाम सुधार सम्भव छ भन्ने विश्वासको प्रमाण पनि हो ।
(लेखक कार्की पब्लिक स्कुल धरान–१२ का निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।)
































