धरान । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामार्फत् ओपीडी सेवाबाट उपचार गर्दा एक परिवारले २५ हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाइने सीमा निर्धारण गरेको छ ।
बोर्डको १९ माघमा बसेको बैठकले उक्त निर्णय गर्दै १ फागुनदेखि लागू हुने जनाएको छ । यसअघि एक लाखसम्म जति पनि ओपीडी उपचारबाट पनि खर्च गर्न पाउने प्रावधान रहेको थियो ।
बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध भएका एक परिवारका पाँच सदस्यले वार्षिकरूपमा २५ हजार रुपैयाँसम्मको ओपीडी सेवा लिन पाउनेछन् । यदि परिवारमा पाँच जनाभन्दा बढी सदस्य बिमामा आवद्ध छन् भने थप प्रत्येक एक सदस्य बराबर ५ हजार रुपैयाँसम्मको ओपीडी सेवा सुविधा उपलब्ध गराइने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
पछिल्लो समय ओपीडी सेवामा अत्यधिक खर्च बढ्दै गएपछि बिमा कोषमाथि आर्थिक दबाव परेको बोर्डले जनाएको छ । सोही कारण स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले खर्चको सीमा तोकिएको बिमा बोर्डका दाबी व्यवस्थापन तथा नीति योजना शाखा प्रमुख डा.पवनकुमार साहले जानकारी दिएका छन् ।
यो व्यवस्था सबै रोगका लागि लागू हुने छैन । अन्य आठ प्रकारका गम्भीर दीर्घरोगको उपचार भने स्वास्थ्य बिमा नियमावलीको अनुसूची–६ बमोजिम यथावत् रूपमा उपलब्ध हुनेछन् । बेड भर्ना गरेर उपचार गर्नुपर्ने हकमा भने सीमा तोकिएको छैन ।
ओपीडी सेवाको दुरुपयोग नियन्त्रण गर्न, सेवा वितरणलाई व्यवस्थित बनाउन र बिमित नागरिकलाई आवश्यक उपचार सुनिश्चित गर्न यस्तो नीति अघि सारिएको बोर्डले दाबी गरेको छ ।
































