धरान । रोटरी क्लब अफ धरान र रोटरी क्लब अफ फुटहिलको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धरान–२० विष्णुपादुका क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको टोलीको सहकार्यमा शिविर कार्यक्रम गरिएको हो । शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, गाइनो, छाला, र आँखा रोगका बिरामीहरूलाई सेवा दिइएको छ ।
धरान–२० का वडाध्यक्ष पदम लिम्बूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २ सय ५० जनाभन्दा बढीलाई सेवा दिइएको थियो । धरानको ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
































