नेपाली साहित्यको समसामयिक धारमा सक्रिय र प्रतिबद्ध स्रष्टाका रूपमा हन्नाह छेत्रीलाई चिनिदै आएको छ ।  भारतको दार्जिलिङमा जन्मिएर हाल सिलिगुडी, देवीडाँडामा बसोबास गरिरहेकी हन्नाह छेत्रीले नेपाली साहित्यमा विशेषतः कविता विधामार्फत् सशक्त उपस्थिति जनाउँदै आएकी छन् । उनका साहित्यिक कृतिहरूले जीवन, समाज, समवेदना र समकालीन यथार्थलाई सरल तर गहिरो भावबोधका साथ उजागर गर्छन् ।

छेत्रीको साहित्यिक यात्रा सामूहिक कृतिहरूबाट सशक्तरूपमा अघि बढेको देखिन्छ । साहित्य सेतु (२०२२) संयुक्त कवितासङ्ग्रहमार्फत् उनले नेपाली कविताको समकालीन प्रवाहमा आफ्नो पहिचान बनाइन् । यस कृतिमा उनका कविताहरूले भावनात्मक गहिराइ, सामाजिक चेतना र भाषिक सौन्दर्यलाई सन्तुलितरूपमा प्रस्तुत गरेको पाइन्छ ।  त्यसपछि प्रकाशित व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह,२०२३) र टुक्का छन्दहार (संयुक्त टुक्का कवितासङ्ग्रह २०२४) र अल्हादित (टुक्का कवितासङ्ग्रह, २०२५) सशक्त टुक्का कविता सङ्ग्रहहरूले टुक्का कविताको क्षेत्रमा उनको अझ उचाइ थपेको छ । टुक्का जस्तो संक्षिप्त तर अर्थगर्भित विधामा उनको कलम तीखो र प्रभावकारी देखिन्छ ।

विशेषगरी टुक्का कवितामार्फत् छेत्रीले सामाजिक विसङ्गति, राजनीतिक चेतनाको अभाव, मानवीय पीडा र समयको विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेकी छन् । उनका टुक्काहरू छोटा भए पनि तीभित्र गहिरो सन्देश, कटाक्ष र भावनात्मक चोट समेटिएको पाइन्छ । यसले पाठकलाई सोच्न बाध्य बनाउँछ र साहित्यलाई केवल सौन्दर्यको साधन नभई सामाजिक ऐनाको रूपमा स्थापित गरेको हुन्छ ।

एकल टुक्का कवितासङ्ग्र्रह आह्लादित (२०२५) छेत्रीको साहित्यिक यात्राको महŒवपूर्ण उपलब्धि हो । यस कृतिमा उनले जीवनका विविध अनुभूति—दुःख, सङ्घर्ष, आशा, प्रेम र चेतनालाई सशक्त टुक्काहरूमा रूपान्तरण गरेकी छन् । ‘आह्लादित’ ले उनको सिर्जनशीलता, अनुभूतिको परिपक्वता र भाषामाथिको पकडलाई स्पष्ट देखाउँछ । यस कृतिले टुक्का कवितालाई केवल प्रयोगात्मक विधा होइन, सशक्त अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न मद्दत पु¥याएको छ ।

कविता मात्र नभई छेत्री गद्य कविताहरू, मुक्तक, लघुकथा तथा साहित्यिक लेखहरूमा पनि सक्रिय छिन् । उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै पनि आएका छन् । जसले उनको साहित्यिक बहुआयामिकतालाई पुष्टि गर्छ । उनका गद्य कवितामा भावनात्मक प्रवाह स्पष्ट देखिन्छ भने लघुकथामा सामाजिक यथार्थ र मानवीय मनोविज्ञानको सूक्ष्म चित्रण पाइन्छ । लामो समयको साहित्यिक यात्रामा उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । साहित्यमा विशिष्ट योगदानबाट उनले विभिन्न समयमा पाएको सम्मान र पुरस्कारले उनलाई उत्साहित बनाएको छ । 
हन्नाह छेत्रीको साहित्यिक योगदानलाई विभिन्न सम्मानहरूले पनि पुष्टि गरेका छन् । मणि खवास साहित्य स्मृति सम्मान (२०२३), टुक्काश्री साहित्य सम्मान (२०२३) र टुक्का साहित्य प्रवद्र्धन सम्मान (२०२४) जस्ता सम्मानहरूले उनको सिर्जनशीलता र साहित्यप्रतिको समर्पणलाई उच्च मूल्याङ्कन गरेका छन् । विशेषगरी टुक्का साहित्य प्रवद्र्धनमा उनले पु¥याएको योगदान उल्लेखनीय मानिन्छ ।

सङ्गठनात्मक रूपमा पनि उनी साहित्यिक क्षेत्रमा सक्रिय छिन् । विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखामा प्रचार सचिवको भूमिकामा रहेर उनले नेपाली साहित्यको प्रचार–प्रसारमा योगदान दिइरहेकी छन् । साथै, दार्जिलिङ टुक्का साहित्य संस्थामा संस्थापक संयोजकका रूपमा उनको भूमिका टुक्का साहित्यको संस्थागत विकासका लागि अत्यन्त महŒवपूर्ण मानिन्छ ।

समग्रमा भन्नुपर्दा, हन्नाह छेत्री समसामयिक नेपाली साहित्यकी सक्रिय, सचेत र संवेदनशील स्रष्टा हुन् । उनका कृतिहरूले नेपाली साहित्यलाई विषयगत, शिल्पगत र भावगत रूपमा समृद्ध बनाएका छन् । विशेषतः टुक्का कविताको क्षेत्रमा उनको योगदान उल्लेखनीय छ, जसले यस विधालाई नयाँ उचाइमा पु¥याएको छ । निरन्तर सिर्जनशीलता, साहित्यिक प्रतिबद्धता र सामाजिक चेतनासहित अघि बढिरहेकी हन्नाह छेत्रीबाट नेपाली साहित्यले अझ धेरै सशक्त र अर्थपूर्ण कृतिहरू पाउने अपेक्षा गर्न सकिन्छ ।

‘आह्लादित’ः प्रयोग र परिष्कारको सङ्गम
दार्जिलिङ निवासी हन्नाह छेत्रीद्वारा सिर्जना गरिएको ४ सय वटा टुक्का कविताहरू समेटेर तयार पारिएको टुक्का कविता सङ्ग्र्रह ‘आह्लादित’ नेपाली कविता साहित्य विशेष गरेर टुक्का कविता विधामा उल्लेखनीय योगदानका रूपमा प्रस्तुत भएको पाइन्छ । साहित्यिक चेतनाले समृद्ध दार्जिलिङको सांस्कृतिक भूमि र छेत्रीको भाषिक अभ्यासले यस सङ्ग्रहलाई थप मौलिकता र प्रामाणिकता प्रदान गरेको पाइन्छ ।

‘आह्लादित’ शीर्षक आफैमा सकारात्मक ऊर्जा, उत्साह र अनुभूतिको सङ्गम हो । यसले पाठकलाई मनोरञ्जन वा भावनात्मक रसास्वादन गराउनुको साथै जीवनका विविध पक्षहरू—प्रेम, बिछोड, समय, समाज, अस्तित्व, सङ्घर्ष र आत्मानुभूतिको बोध गराउने प्रयत्न गरेको पाइन्छ ।

सरल भाषाशैली, व्यङ्ग्य, सङ्घर्षका कथा यसमा समेटिएका मुख्य विषय हुन् । यो टुक्का कवितामार्फत् केवल कलियुगको आलोचना मात्र नभएर सामाजिक चेतना जगाउने काव्यिक प्रयास कविले गरेको पाइन्छ । यसले पाठकलाई आत्मसमीक्षा गर्न बाध्य बनाउँछ ।

छेत्रीले आफ्ना टुक्का कविताहरूमा विधागत अनुशासनको पूर्ण पालना गर्दै सरल भाषामा गहिरो भाव समेट्नु उनको साहित्यिक उत्कृष्टता हो । उनेका लेखनमा शब्दको मितव्ययिता मात्र होइन, अर्थको सम्पन्नता पनि उच्च छ । यस सङ्ग्रहमा टुक्काहरूले विविध विषयको उठान गर्दै व्यङ्ग्यात्मक दृष्टिकोण तथा तत्कालीन सामाजिक यथार्थलाई सशक्त र सशक्त रूपमा उजागर गर्ने काम गरेको छ ।

डिजिटल युगमा छोटा विधाको प्रयोग र पहुँचको नयाँ सम्भावनाबीच ‘आह्लादित’ टुक्का कविताले नेपाली कविता लेखनमा नवप्रवृत्तिको अभ्यास तथा समय सान्दर्भिक परिष्कार पनि दर्शाएको अनुभूति हुन्छ । यसले नेपाली भाषाभाषी पाठक, विद्यार्थी, नवकवि तथा साहित्यानुरागीहरूलाई छोटो काव्य संरचनाभित्र भावको गहिराइ अनुभूत गराउने प्रेरणा र अथाह ज्ञान सागरको अनुभूति हुन्छ ।

उनले ‘आह्लादित’ टुक्का कविताको माध्यमबाट नेपाली कवितामा नवीनताको खोज, भावनाको पुनर्संयोजन र भाषाको सौन्दर्य प्रयोग गर्ने कलाको उदाहरण प्रस्तुत गरेको टुक्का साहित्यका प्रवर्तक ताराप्रसाद चापागाईंले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् ।