धरान । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले वर्चश्व कायम गरेको छ । देशभरिका ७ वटै प्रदेशमा कुल ९५.६८ प्रतिशत मतदान भएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ पदका लागि आइतबार मतदान भएको हो ।
देशभरि काङ्ग्रेस–एमालेले गठबन्धन गरेका थिए । केही प्रदेशमा भने जनता समाजवादी पार्टीसँग पनि बनेको थियो । कोशी प्रदेशबाट पनि काङ्ग्रेस–एमाले गठबन्धनबाटै निर्वाचित भएका छन् । अन्य समूहबाट काङ्ग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा उनी पूर्वमन्त्रीसमेत हुन् । लामो समय संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विभिन्न देशमा सेवा गरेका थापा सन् २०११ मा राष्ट्रसङ्घको उच्च ओहोदाबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा धनकुटाबाट प्रत्यक्षमा निर्वाचित भएका थापा २०७४ मा देउवा सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । सुरुमा राप्रपामा रहेका उनी २०७७ सालमा नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए । हाल उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् । दलित कोटातर्फ एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुँदा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । पोर्तेलले सात हजार चार सय २३ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी खेम सुन्दासले दुई हजार ३७ मतभार प्राप्त गरे । झापाको हल्दिबारी निवासी सोम पोर्तेलसँग स्थानीय सरकार सञ्चालनको गहन अनुभव छ ।
२०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा काम गरिसकेका पोर्तेल कुशल सङ्गठक मानिन्छन् । २०३५ सालमा पाँचथरमा जन्मिएका उनको राजनीतिक यात्रा २०४७ सालदेखि अनेरास्ववियुबाट सुरु भएको थियो । हाल एमालेको भ्रातृ सङ्गठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव रहेका पोर्तेलले पार्टीको वडादेखि प्रदेश कमिटीसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
महिलातर्फ मेचेले सात हजार एक सय ७३ मतभार प्राप्त गर्दै निर्वाचित भइन् । नेकपाकी नमिता न्यौपानेले दुई हजार दुई सय ६८ मतभार मात्रै प्राप्त गरिन् । अल्पसङ्ख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनी मेचे झापा मेचीनगर–१२ की बासिन्दा हुन् । उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिसकेकी छन् । २०३८ सालमा जन्मिएकी मेचे विगत एक दशकदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । हाल एमालेको भ्रातृ सङ्गठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ’ की केन्द्रीय सदस्य रहेकी मेचेले राज्यको माथिल्लो सदनमा अल्पसङ्ख्यक र लोपोन्मुख समुदायको आवाज बुलन्द पार्ने सङ्कल्प गरेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा कुल ३ सय ५९ मतदाता रहेको कोशीमा ३ सय ४५ जनाले मात्र मतदान गरे । प्रदेश सभाका ९२ मध्ये ८७ र स्थानीय तहका २ सय ६७ मध्ये २ सय ५८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतदान नगर्ने १४ जनामा ५ प्रदेश सांसद् र ९ जना स्थानीय पालिकाका पदाधिकारीहरू रहेका छन् ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । अन्य समूहतर्फ सात हजार सात सय २५ मतभार प्राप्त गर्दै उनी विजयी भए । उनले प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेललाई हराएका छन् । उनले एक हजार आठ सय ५ मत पाएका छन् । ठाकुर काङ्ग्रेस–एमाले–जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । महिलातर्फ एमालेकी रेखा झा विजयी भएकी छन् । उनी सात हजार दुई सय २२ मतभार प्राप्त गर्दै विजयी बनिन् । नेकपाकी शमीकुमारी अग्रवालले एक हजार नौ सय ४४ मतभार ल्याइन् । यस्तै जनता समाजवादी पार्टीकी चन्द्रकलादेवी साहले तीन सय २२ मतभार प्राप्त गरिन् । झा महोत्तरीको सम्सी गाउँपालिका–४ गैढा भेटपुरकी हुन् ।
बागमती प्रदेशबाट एमालेका प्रेम दङ्गाल र काङ्ग्रेसकी गीता देवकोटा विजयी भएका छन् । दङ्गालले छ हजार ६२ मतभार प्राप्त गरी विजयी बन्दा देवकोटाले ६ हजार दुई सय ५ मत प्राप्त गर्दै विजयी बनिन् । दङ्गाल खोटाङको साकेला गाउँपालिकावासी हुन् । देवकोटा भने चितवनको रत्ननगर नगरपालिका–१४ वासी हुन् । गण्डकीमा काङ्ग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार उनीहरूले क्रमशः पाँच हजार ३३ मतभार र पाँच हजार १४ मतभार पाए । गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ जना मतदानमा सहभागी भएका थिए । यता नेकपाकी महिलातर्फ गोमा घिमिरेले ९ सय ४१ मतभार प्राप्त गर्दा अन्यमा कपिल लामाले नौ सय ४१ मतभार प्राप्त गरे । जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाए भने सोही पार्टीकी लक्ष्मी सापकोटाले पनि समान मत पाइन् ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ एमालेकी रामकुमारी झाँक्री विजयी भएकी छन् । उनी छ हजार ३ सय ३ मतभार पाई विजयी भएकी हुन् । लुम्बिनीका तीन वटै सिटमा काङ्ग्रेस–एमाले गठबन्धनबाट निर्वाचित भए । अपाङ्गतर्फ काङ्ग्रेसका वासुदेव घिमिरेले पाँच हजार ३ सय २२ मतभार प्राप्त गर्दै विजयी भए । यस्तै अन्यतर्फ काङ्ग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनले ५ हजार ९ सय ७७ मतभार प्राप्त गरेका हुन् ।
कर्णाली प्रदेशबाट काङ्ग्रेस–एमाले गठबन्धनबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । कर्णालीबाट गठबन्धनका उम्मेदवार ललितजङ शाही निर्वाचित भएका छन् । काङ्ग्रेसका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी भए । नेकपाका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरे । यता महिलातर्फ दैलेखकी मीनासिंह रखाल निर्वाचित भइन् । उनले एमालेबाट प्रतिनिधित्व गरेकी थिइन् । उनले प्रदेशसभातर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १ सय ५२ मा ९३ मत प्राप्त गरिन् । प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन् । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।
यस्तै सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्यमा अन्य समूहबाट काङ्ग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । खातीले तीन हजार नौ सय ६९ मतभार प्राप्त गर्दै विजयी भए । उनले नेकपाका टीकाराम जैसीलाई हराए । जैसीले एक हजार आठ सय पाँच मतभार प्राप्त गरे । महिलातर्फ एमालेकी लीला भण्डारी निर्वाचित भएकी छन् । भण्डारी ३ हजार ९ सय ८४ मतभारसहित विजयी हुँदा प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६ सय ७६ मतभार प्राप्त गरिन् ।
गठबन्धनमा ‘फ्लोर क्रसिङ’
अनिल श्रेष्ठ
विराटनगर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा काङ्ग्रेस–एमालेबीच गठबन्धन भए पनि मतदानमा ‘फ्लोर क्रसिङ’ भएको छ ।
गणितीय रूपमा एमालेका उम्मेदवार विजयी भए पनि नैतिक रूपमा नेपाली कम्प्युनिष्ट पार्टीले गठबन्धनको किल्लामा आफ्नो मतभार उल्लेख्य बढाएको छ । विराटनगरमा आइतबार सम्पन्न निर्वाचनमा नेकपाकी महिलातर्फकी उम्मेदवार नमिता न्यौपाने र दलिततर्फका उम्मेदवार खेम सुन्दासले काङ्ग्रेस र एमालेको ‘कोर’ भोट काट्दै आफ्नो पार्टीको वास्तविक मतभारभन्दा बढी मत ल्याए ।
महिलातर्फकी नमिता न्यौपानेले पार्टीको मतभारभन्दा ६ सय ८३ बढी मत प्राप्त गरिन् । नेकपाको आफ्नो मतभारबाहेक उनले काङ्ग्रेस–एमाले गठबन्धनका ५ जना प्रदेश सांसद् र २२ जना पालिका पदाधिकारीको मत आफ्नो पक्षमा पारिन् । उनले प्रदेश सभाबाट २ सय ६५ र स्थानीय तहबाट ४ सय १८ गरी थप ६ सय ८३ मतभार बटुलेकी हुन् ।
दलिततर्फका उम्मेदवार खेम सुन्दासले पनि गठबन्धनको मत तान्न सफल भए । उनले एक जना प्रदेश सांसद्को ५३ मतभार र २१ जना स्थानीय तहका पदाधिकारीको मत आफ्नो पक्षमा पारे । यसरी सुन्दासले कुल ४ सय ५२ थप मतभार प्राप्त गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन् । कोशी प्रदेशमा नेकपाका १७ सांसद्को मतभार ९ सय १ र स्थानीय तहका ३६ पदाधिकारीको मतभार ६ सय ८४ गरी कुल १ हजार ५ सय ८५ मात्रै सुरक्षित मत थियो । तर परिणाम आउँदा दुवै उम्मेदवारले यो सीमालाई नाघेर गठबन्धनको भोट तान्न सफल भए । यसले काङ्ग्रेस र एमालेभित्रको आन्तरिक असन्तुष्टि र अन्तरघातलाई छताछुल्ल पारेको छ ।
काङ्ग्रेस र एमालेको कडा ह्वीपका बावजुद पनि अन्तरघातले गठबन्धनभित्र खैलाबैला मच्चाएको छ । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपाका उम्मेदवारले काङ्ग्रेसको भोट बढी तानेको स्वीकार गरेका छन् । थापाले राजनीतिक लेनदेनको सङ्केत गर्दै भने, “नेकपाले हाम्रो एकजना उम्मेदवार (सुनिल थापा) लाई खुल्लातर्फ निर्विरोध गराउन सहयोग गरिदिनुभयो, त्यसैको पैंचो स्वरूप यता केही भोट गएको हुनसक्छ ।”
मतदान नगर्ने सांसद र पदाधिकारीहरू
राष्ट्रिय सभाको निर्वाचनमा मतदान नगर्ने १४ जना जनप्रतिनिधिहरू रहेका छन् । प्रदेश सभातर्फ मतदान नगर्ने ५ जनामध्ये नेपाली काङ्ग्रेसकी लीलाकुमारी राई र नेकपा (एमाले)की यशोदा कायस्थ रहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसद्हरू सविना बजगाईं, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्माले पनि मतदान गरेनन् ।
राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्ट र राप्रपाकै सांसद् प्रेम थाम्सुहाङले भने मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मत खसालेका छन् । स्थानीय तहतर्फ ९ जना प्रमुख तथा उपप्रमुखहरू मतदानमा अनुपस्थित रहे ।
सूचना अधिकारी बुढाथोकीका अनुसार मतदान नगर्नेहरूमा एमालेबाट निर्वाचित भएका पाँचथरको याङ्वरक गाउँपालिकाका अध्यक्ष भीम योङ्हाङ, काङ्ग्रेसबाट निर्वाचित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट हल्दिबारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन, सोही पालिकाको उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाटै भद्रपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी राधा कार्की, भोजपुरको आमचोक गाउँपालिका उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाको प्रमुख राम थापा, काङ्ग्रेसबाट निर्वाचित सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको उपाध्यक्ष नावाङ लाक्पा शेर्पा र जसबाट निर्वाचित ओखलढुङ्गाका अध्यक्ष गोम्बु शेर्पा अनुपस्थित भएको सूचना अधिकारी बुढाथोकीले बताए ।
राप्रपाका अधिकांश सांसद् अनुपस्थित
राष्ट्रिय सभाको रिक्त पदका लागि भएको आइतबारको निर्वाचनमा राप्रपाबाट स्थानीय तहतर्फ प्रमुख, उपप्रमुख, साथै अध्यक्ष, उपाध्यक्ष र सांसद् बनेकाहरू उपस्थित भएनन् ।
आसन्न फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि सम्पूर्ण शक्ति सञ्चय गरिएकाले सहभागी नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् । उनले फागुन २१ को निर्वाचनको तयारीमा जुटेकाले पनि राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नभएको स्पष्ट पारे ।
राष्ट्रिय सभाको सदस्यका लागि कुनै पनि स्थानमा राप्रपाले उम्मेदवारी दिएको थिएन । राष्ट्रिय सभामा मतदान गर्ने अधिकार सम्बन्धित प्रदेशका प्रदेश सांसद् तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षहरूलाई हुने गरेको छ । एकल सङ्क्रमणीय मतका आधारमा हुने निर्वाचनमा सांसद्को मतभार र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार फरक–फरक कायम गरिएको हुन्छ ।
































