भद्रपुर । झापाको एउटै निर्वाचन क्षेत्रमा यसपटक चुनावी राजनीति असाध्यै रोचक बनेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नं. २ मा पूर्व सभामुखसँगै तीनजना प्रभावशाली महिला नेतृहरू आमनेसामने भएका छन् । सत्ता, अनुभव र राजनीतिक प्रतिष्ठाको यो भिडन्तले झापाको चुनावी माहोल तातेको छ ।

निवर्तमान सभामुख देवराज घिमिरेविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली काङ्ग्रेसकी पूर्व राष्ट्रियसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाईं र पहिलो संविधानसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा उत्रिएका छन् । एउटै क्षेत्रमा यति धेरै अनुभवी महिला नेतृहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनु आफैमा दुर्लभ संयोग मानिएको छ । चापागाईं नेकपाबाट उम्मेदवार बनेकी हुन् । नेकपा (एमाले)का प्रभावशाली नेता घिमिरेलाई महिला उम्मेदवारहरूको निकै चुनौती छ । 

यति मात्रै होइन, अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उपविजेता बनेका र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध स्वागत (भद्रप्रसाद) नेपाल पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस्तो अवस्थामा महिला उम्मेदवारहरूका लागि चुनाव जित्ने बाटो सजिलो छैन । तर, उनीहरूका लागि यो चुनाव शक्ति प्रदर्शन र राजनीतिक हैसियत प्रमाणित गर्ने अवसर भने बनेको छ । 

झापामा कुल ९० जना उम्मेदवारमध्ये जम्मा १५ जना मात्रै महिला छन् । सङ्ख्यात्मक रूपमा करिब १६ प्रतिशत भए पनि उनीहरूको राजनीतिक पृष्ठभूमि, अनुभव र क्षमता पुरुष उम्मेदवारभन्दा कम छैन । अझ कतिपय महिला उम्मेदवारहरू राष्ट्रिय राजनीतिमा पहिल्यै चिनिएका अनुहार हुन् ।

झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले एमालेका रामचन्द्र उप्रेती र काङ्ग्रेसका केशवराज पाण्डेसँग कडा प्रतिस्पर्धा गर्दैछिन् । सहकारीविज्ञ उप्रेती र काङ्ग्रेसका जिल्ला उपसभापति पाण्डेविरुद्ध डाँगीको चुनौती कम छैन । बिघटित प्रतिनिधिसभामा कान्छी सांसद्को रूपमा परिचित डाँगी यसअघि समानुपातिक सांसद् थिइन् भने यसपटक पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दैछिन् ।

त्यस्तै झापा क्षेत्र नं. ५ मा नेपाली काङ्ग्रेसकी नयाँ अनुहार मन्धरा चिमरियाको यात्रा झनै कठिन देखिन्छ । यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेका छन्, जसले चुनावलाई राष्ट्रिय चासोको विषय बनाइदिएको छ ।

महिला उम्मेदवारीको तथ्याङ्क हेर्दा सात राजनीतिक दलबाट १३ जना र दुई जना स्वतन्त्र गरी १५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा धेरै महिला उम्मेदवार झापा–२ मा देखिएका छन्, जहाँ पाँचवटा दलबाट पाँच महिला उम्मेदवार मैदानमा छन् । यस क्षेत्रमा रास्वपाबाट इन्दिरा राना मगर, काङ्ग्रेसबाट सरिता प्रसाईं, नेकपाबाट धर्मशीला चापागाईं, नेपाल किसान मजदुर पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती उम्मेदवार छन् ।

यस्तै झापा–३ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला साँवा, नेपाल किसान मजदुर पार्टीकी धर्मलक्ष्मी लघु र जनता समाजवादी पार्टीकी बिनिताकुमारी राजवंशी उम्मेदवार छन् । झापा–५ मा काङ्ग्रेसकी मन्धरा चिमरिया, स्वतन्त्र उम्मेदवार सञ्जना गौतम र शोभा भण्डारी मैदानमा छन् । झापा–४ मा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई र नेपाल मजदुर किसान पार्टीकी तुलसीलक्ष्मी दुमरुले उम्मेदवारी दर्ता गराएका छन् ।

इतिहास हेर्दा अघिल्लो निर्वाचनमा झापाबाट कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेनन् । मुख्य दलहरूले महिलालाई प्रत्यक्ष उम्मेदवारी नै नदिएको आरोप लाग्दै आएको छ । २०७४ सालको निर्वाचनमा झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी पार्टीकी धर्मशीला चापागाईंले जित हासिल गरेकी थिइन् । त्यसयता झापाको संसदीय राजनीतिमा महिला प्रतिनिधित्व कमजोर रहँदै आएको छ ।

यसपटक भने झापाको चुनावी मैदानमा महिला उम्मेदवारहरूको उपस्थिति, अनुभव र प्रतिस्पर्धाले पुरानो इतिहास बदल्न सक्छ कि सक्दैन भन्ने चासो सर्वत्र छ । चुनावी नतिजाले झापामा मात्रै होइन, समग्र नेपाली राजनीतिमा महिला सहभागिताको सन्देश पनि दिनेछ ।