धरान । काठमाडौं महानगरको नगर प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका बालेन साहको पूर्वमा क्रेज बढेको छ ।
झापा–५ नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रबाटै प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका साह यतिबेला पूर्वका विभिन्न सहर र गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट मागिरहेका छन् । माघ ५ गते राजीनामा दिएर उनी जनकपुर आएर मैथिली भाषामा भाषण गरे । माघ ६ गते आफ्नो मनोनयन दर्ता गरेर उनी इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेर फर्केका थिए ।
उनी पुगेका स्थानमा युवाहरूको भीड हुने गरेको छ । ताप्लेजुङबाट उनी तेह्रथुम हुँदै सङ्खुवासभाको मुडेमा शनिबार भएको कार्यक्रममा सम्बोधन गरेर फर्कने क्रममा उनले धरानमा केहीबेर आफ्ना समर्थकहरूसँग भेटघाट गरेका थिए । उनलाई स्वागत गर्न युवाहरूको भीड लागेको थियो । धरानको भानुचोकमा केहीबेर उत्रिएका बालेनसँग हात मिलाउने, खादा लगाउने र अटोग्राफ लिनेको भीड लागेको थियो ।
प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मे नै परेको थियो । उनलाई लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन मावोहाङले पनि पालिकाले बनाएको चोत्लुङ पार्कमा स्वागत गरेका थिए । त्यस्तो कुनै औपचारिक कार्यक्रम भने थिएन ।
धरानमा समर्थकहरूसँग भेटघाट गरेर उनी मोरङको लक्ष्मी चोक पुगेर विराटनगर हुँदै शनिबार नै काठमाडौं फर्किएकोे रास्वपा धरानका उपाध्यक्ष राम कार्कीले जानकारी दिए ।
लामो समयदेखि पटक पटक चुनाव जित्दै आएका ओलीलाई झापा–५ मा बालेनको चुनौती हुँदै आएको छ । युवाशक्ति बालेनको पक्षमा हुँदा ओलीलाई यस पटक चुनाव जित्न सकस भएको स्थानीय बताउँछन् ।
































