भद्रपुर । नेपाली राजनीतिमा एकछत्र राज गर्दै आएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र हालै काठमाडौँ महानगरबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा होमिएका बालेन्द्र साह (बालेन) बीचको भिडन्तले झापा ५ नम्बर क्षेत्र सबैको चासोको केन्द्रमा छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्ने–हार्ने भन्दा पनि पुरानो शक्ति र नयाँ शक्तिबीच भिडन्त हुँदै छ । नेपाली राजनीति अब नयाँ पुस्ताले सम्हाल्ने कि पुरानै पुस्ताको हातमा रहने भन्ने प्रश्नको उत्तर आसन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मात्रै दिनेछ । तीन वर्षअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको प्रमुख बनेका बालेन परम्परागत दल–राजनीतिलाई चुनौती दिने अनुहार बने । राजनीतिक यात्राको पहिलो चरणमा बालेनले गृह प्रदेश मधेसलाई प्राथमिकतामा राखे ।
झापा ५ को निर्वाचनले विशेष अर्थ राख्छ । किनभने यही क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८ सालदेखि प्रतिनिधित्व गर्दै आइरहेका छन् । जसको राजनीतिक पकड बलियो छ भने बालेनको झापा–५ बाट उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा होइन, यसलाई परम्परागत शक्तिकेन्द्रमाथिको सिधा चुनौतीको रूपमा हेरिँदैछ । यो पटक नयाँलाई मौका दिने मन भएको मतदाता बताउँछन् । भदौ २३ को आन्दोलनले पनि युवाको नेतृत्व नै चाहेको हुँदा पार्टीभन्दा पनि युवा र काम गर्नसक्ने उम्मेदवारलाई मत दिनुपर्ने ती क्षेत्रका मतदाताहरूको भनाइ छ ।
परिवारभित्रै अहिले मत विभाजन देखिएको एउटा उदाहरण बुधबार राष्ट्रिय युवा सङ्घ दमकका अध्यक्ष छवि खतिवडा, उपाध्यक्ष विजय तामाङ, सचिव कमल गैरेसहित लगभग सिङ्गो टिम, त्यस्तै बुधबार नै नेपाली काङ्ग्रेस कमलका सचिव महेन्द्र बुढाथोकी पनि पार्टी परित्याग गरी बालेनलाई सघाउने गरी रास्वपामा प्रवेश गरेका छन् । त्यसैगरी दमक नगर उपप्रमुख रेगिना भट्टराईका श्रीमान् एवम् नेपाली काङ्ग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं पद त्यागेर रास्वपामा गएका छन् । उनीसँगै धेरै जना बालेनलाई सहयोग गर्न आउन लागेको बताएका छन् ।
कोही एमालेकै पक्षमा देखिरहँदा केही परिवर्तनको पक्षमा उभिएका छन् । दमकमा सडक, भ्युटावर, योजना ल्याउने नेता ओलीबाहेक कोही छैन भन्ने ओली समर्थकहरूको भनाइ छ । तर आलोचकहरूको भनाइ पनि कम छैन, अर्बौँको लगानीमा १८ तले दमक भ्युटावर अहिलेसम्म पूर्ण सञ्चालनमा नआएको, नेपाल–चीन औद्योगिक पार्क शिलान्यास भयो, काम अघि बढेन । रङ्गशाला, सभागृह, नमुना सहर धेरै सपना तर सबै अधुरा र उपयोगविहीन भएका कारण ओलीको विकल्प खोज्ने यो अवसर भएको बताउँछन् ।
ओली झापा–५ मा २०४८ देखि २०७९ सम्म छ पटक निर्वाचित भए । २०७९ मा २८ हजारभन्दा बढी मतान्तरले जितेका थिए । साह झापा–५ को स्थानीय नभए पनि ‘जेन–जी’ का लागि भूगोलभन्दा ठूलो नाम बनेको छ । काठमाडौँमा प्रमुख बनेपछि उनले देखाएको शैली कडा, छरितो, परम्परागत राजनीतिभन्दा फरक युवालाई आकर्षित जेन–जी आन्दोलनपछि युवाको एउटा धारणा बलियो हुँदै गएको समर्थकको भनाइ छ ।
झापा ५ मा कसको पल्ला भारी ?
दमक नगरपालिका, कमल गाउँपालिका गौरादह नगरपालिकाका १ देखि ८ वडा र गौरीगञ्ज गाउँपालिका ३ देखी ६ नम्बर वडा मिलेर क्षेत्र नम्बर ५ बनेको छ । झापा–५ मा कुल मतदाता एक लाख ६३ हजार छन्, जसमा नयाँ मतदाता करिब १० हजार छन् । यही समूह निर्णायक बन्न सक्छ । गत निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १८ हजारभन्दा बढी मत पाएको थियो । अब त्यो मतमा बालेनको व्यक्तिगत ब्रान्ड थपिँदा सन्तुलन बदलिने देखिन्छ ।
झापा ५ मा रहेको कुल मतदाता सङ्ख्या एक लाख ६३ हजारमध्ये करिब ७० प्रतिशत अर्थात् एक लाख १४ हजार एक सय मत खस्न सक्छ । जसमा करिब ३ प्रतिशत मत बदर हुनसक्छ । अब बाँकी रह्यो एक लाख १० हजार छ सय ७७ मत । जसमध्ये एमाले, काङ्ग्रेस, राप्रपा, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीमा बाँडिन्छ । यो हिसाबले ३० देखि ३५ हजार मत ल्याउने उम्मेदवारले चुनाव जित्ने निश्चित छ ।
यो हिसाबलाई हेर्दा अघिल्लो निर्वाचनमा रास्वपाले समानुपातिक मत १८ हजारभन्दा बढी प्राप्त गरेका थिए । जसमा नवयुवा मतदाता १० हजार थपिएका छन्, जो बालेनको पक्षमा रहने अवस्था छँदैछ । तर यो प्रतिस्पर्धा केवल ओली र बालेनबीचको होइन । श्रम संस्कृति पार्टी, हर्क साम्पाङको छायाँ, आदिवासी जनजाति मत र सम्भावित एमाले–राप्रपा तालमेल–सबैले समीकरण जटिल बनाउँछन् । हर्क साम्पाङले खुलेआम ओली र बालेन दुवैलाई हराउँछौ भन्ने भाषणका कारण यसले वैकल्पिक मतलाई विभाजन गर्ने सम्भावना पनि बढाएको छ ।
































