धरान । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारी दिने लहर देखिएको छ ।
सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मोरङमा एक सय १९ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । जसमा पार्टीसहित स्वतन्त्र उम्मेदवारसहित एक सय १९ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी क्षेत्र नम्बर ५ बाट २२ जनाले उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर २ बाट सबैभन्दा कम १७ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै झापाका ५ वटै निर्वाचन क्षेत्रमा २१ दलका ७९ जना उम्मेदवार र ११ जना स्वतन्त्र गरी कुल ९० जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रसाईंले जानकारी दिए । उनका अनुसार झापा १ मा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका छन् । झापा २ मा ३ स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएकामा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच प्रतिस्पर्धा हुँदै छ । घिमिरे एमालेबाट भने मगर रास्वपाबाट चुनावी मैदानमा छन् । झापा ३ मा दुई स्वतन्त्रसहित १७ जनाले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत डिल्ली प्रसाईंले जानकारी दिए । झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मनोनयन दर्ता गराएका छन् ।
झापा ४ मा एक स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै झापा ५ मा तीन स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका निवर्तमान नगर प्रमुख बालेन्द्र साह (बालेन) ले उम्मेदवारी दिएका छन् । यी दुईको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । यिनीहरूबीच कडा प्रतिस्पर्धा हुने बताइन्छ ।
चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा स्वतन्त्र, राजनीतिक दलहरूसहित एक सय ११ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी कुमारी आचार्यका अनुसार सुनसरीको क्षेत्र नम्बर १ बाट २५ जना, क्षेत्र नम्बर २ बाट २८ जना, क्षेत्र नम्बर ३ बाट २२ जना र ४ नम्बर क्षेत्रबाट ३४ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । यस्तै उदयपुरको दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट १८ जना र २ नम्बर निर्वाचन क्षेत्रबाट १३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । उदयपुरमा दुई निर्वाचन क्षेत्रबाट एक–एक जना गरी दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै दुई निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ बाट १३ र २ नम्बर क्षेत्रबाट १४ जनाको उम्मेदवारी परेको छ । यस्तै एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १८ जनाले उम्मेदवारी दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका एमालेका धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली काङ्ग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सानबहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले मनोनयन दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार धनकुटा जिल्लामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला गरी एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेका छन् ।
यस्तै तेह्रथुममा १२ जनाले उम्मेदवारी दिएका छन् । यहाँ राजनीतिक दलहरूले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । तेह्रथुममा ७३ हजार एक सय ३७ मतदाता छन् । पाँचथरमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सङ्खुवासभामा एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । यस्तै ताप्लेजुङमा १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै भोजपुरमा १२ जनाले उम्मेदवारी दिँदा ओखलढुङ्गामा ३ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सोलुखुम्बुमा भने १२ जनाको उम्मेदवारी परेको छ ।
मोरङमा नयाँ र पुरानाबीच प्रतिस्पर्धा
एक लाख २८ हजार ५ सय ४५ मतदाता रहेको मोरङ क्षेत्र नं. १ मा १८ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काङ्ग्रेसबाट खड्ग फागो, एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्बा र रास्वपाबाट यज्ञमणि न्यौपाने मैदानमा छन् । यसअघि काङ्ग्रेसका डिगबहादुर लिम्बूले जितेको यो क्षेत्रमा यसपटक ५ जना स्वतन्त्र उम्मेदवारले चुनौती थपेका छन् । काङ्ग्रेसबाट उम्मेदवारी दिएका फागो र नेकपाबाट उम्मेदवारी दिएका फागो पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार हुन् ।
उनीहरू प्रतिनिधि सभाको लागि नयाँ अनुहार हुन् । फागो उर्लाबारी नगरपालिकाका पूर्व नगर प्रमुख हुन् भने साम्बा पूर्व प्रदेश सांसद् हुन् ।
क्षेत्र नं. २ मा रोचक प्रतिस्पर्धा
गत निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल विजयी भएको यस क्षेत्रमा यसपटक काङ्ग्रेसले पूर्वमन्त्री डा. मिनेन्द्र रिजाललाई उतारेको छ । यसअघि पोखरेलसँग रिजाल पराजित भएका थिए । अहिले यस क्षेत्रबाट ऋषिकेष नउठेपछि एमालेबाट दीलिप बगडियालाई मैदानमा उतारेको छ ।
बगडिया रङ्गेली नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की मैदानमा छन् । ४ जना स्वतन्त्रसहित यहाँ १७ जना प्रतिस्पर्धामा छन् ।
शर्माको विरासत जोगाउने कसरत
मोरङकै सबैभन्दा बढी १ लाख ५८ हजार ५७ मतदाता रहेको यो क्षेत्रमा ७ स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । काङ्ग्रेसका बहालवाला सांसद् डा. सुनिल शर्मा आफ्नो साख जोगाउने दाउमा छन् भने एमालेका इरान राई, नेपाल कम्युनिष्ट पार्टीका डा. देवेन्द्र सम्बाहाम्फे र रास्वपाका गणेश कार्की उनलाई रोक्ने रणनीतिमा छन् ।
विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा
मोरङ क्षेत्र नम्बर ४ मा २१ जनाको उम्मेदवारी परेको छ । काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे र एमालेबाट जीवन घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । गत निर्वाचनका विजेता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी यसपटक पनि उम्मेदवार छन् । उनले यसअघि एमाले नेता विनोद ढकाललाई पराजित गरेका थिए ।
मोदीसँग पराजित भएका ढकाल अहिले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन् । त्यसैगरी यस निर्वाचन क्षेत्रमा रास्वपाबाट सन्तोष राजवंशी र ४ स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणित प्रभावित पार्न सक्ने देखिएको छ । यहाँ १ लाख १९ हजार २ सय ५५ मतदाता छन् । मोदी आफ्नो विरासत जोगाउने कसरतमा छन् भने अन्य उम्मेदवार उनको विरासत भत्काउने योजनाको साथ मैदानमा उत्रिएका छन् ।
मण्डल भर्सेस राजनीतिक दल
२२ जना उम्मेदवारसहित सबैभन्दा धेरै उम्मेदवारी परेको क्षेत्र ५ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा स्वतन्त्र जितेका योगेन्द्र मण्डल यसपटक आफ्नै ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ बाट मैदानमा छन् । उनलाई काङ्ग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल र रास्वपाकी आशा झाले चुनौती दिँदैछन् । यहाँ १ लाख १० हजार १ सय ७७ मतदाता छन् ।
‘हेभिवेट’ बीच भिडन्त
काङ्ग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आफ्नो अपराजित यात्रा कायम राख्न क्षेत्र ६ बाट पुनः मैदानमा उत्रिएका छन् । उनलाई एमालेका विनोद ढकालले कडा चुनौती दिने अनुमान गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय र रास्वपाबाट रुविना आचार्यसहित २० जनाले यहाँ मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयले मङ्गलबार साँझ उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ । अब उम्मेदवारको दाबी–विरोध, छानबिन र नाम फिर्ताको प्रक्रियापछि अन्तिम नामावली प्रकाशन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगरबाट अनिल श्रेष्ठ, भद्रपुरबाट उत्तम नेपाल र धनकुटाबाट सन्तवीर लामाको सहयोगमा ।
































