काठमाडौं । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज (मङ्गलबार) १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आयोगले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा तथा तडकभडक नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई सुझाएको छ ।
आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन् ।
“मनोनयन दर्ता गर्न जाँदा देखिने बाजागाजा, भीडभाड र प्रदर्शनजस्ता गतिविधि कानून र निर्वाचन आचार–संहिताले पूर्णरूपमा निषेध गरेको छ” उनले भने, “उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक हुन्छन् । यो कानून र आचार–संहिताले निषेध गरेको छ । कुनै दलहरूले नगर्नुहोला ।” आचार–संहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिँदै उनले निष्ठापूर्वक आचार–संहिता पालना गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १ सय ६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
भोलि (माघ ७ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने भोलि नै दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन–पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कुलप्रसाद जिसीले बताए ।






























