धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा आइतबार अपराह्न भएको बस दुर्घटनामा १८ महिने बालकसहित ५ जनाको ज्यान गएको छ ।
कोशी राजमार्गमा भेडेटारतर्फबाट धरानतिर आउँदै गरेको जनकपुरस्थित टाइम्स इन्टरनेशनल एकेडेमीको को.१ ख ७११९ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको ‘न्यू सभा मेडिकल’ मा ठक्कर खाँदा उक्त हताहती भएको हो ।
घटनामा मृत्यु हुनेमा बसमा सवार २ जना र मेडिकलमा बसिरहेका ३ जना रहेका छन् । मृत्यु हुनेमा महोत्तरी गैडादेवपुर–८ का रोहितकुमार मण्डलका १८ महिने छोरा रिसबकुमार मण्डल, महोत्तर गैडादेवपुर–८ का ३१ वर्षीय धैरियाकुमार यादव, सुनसरी वराहक्षेत्र नगरपालिका ३ का २० वर्षीय ओमेश राई, झापा मेचीनगर नगरपालिकाका १९ वर्षीय नयन थापा मगर, र मेडिकल सञ्चालिका धरान १३ की २४ वर्षीया सुवेक्षा सुब्बाको ज्यान गएको हो ।
दुर्घटनामा थप १२ जना घाइते भउका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको छ ।
घाइते हुनेहरूमा
रिना मण्डल (२५ वर्ष, जनकपुर–१२)
जितेन्द्र मण्डल (३८ वर्ष, धनौडी–२)
महमत मुलाल (२५ वर्ष, महोत्तरी–बस चालक)
सुनेना देवी मण्डल (४० वर्ष, जनकपुर–१)
कृष्ण मण्डल (२० वर्ष, जनकपुर–५)
यस्तै, मध्यम र सामान्य घाइते हुनेहरुमा लक्ष्मी मण्डल, राजा बाबु, मनिता देवी मण्डल, पुनिता मण्डल, रोहित मण्डल, रोहन मण्डल र मेडिकलमा कार्यरत यशोदा श्रेष्ठ रहेका छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो । बस अनियन्त्रित हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भेडेटार घुमेर फर्कँदै गरेको उक्त बसमा सवार अधिकांश यात्रुहरु जनकपुर क्षेत्रका रहेका छन् ।





























