काठमाडौँ । संस्थापन पक्षले कारबाही गरेको जानकारी गराइरहँदा नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्विरोध चयन भएका छन् । सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेपछि उनी पार्टीको नयाँ नेतृत्वमा निर्वाचित भएका हुन् । 

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले काङ्ग्रेसको नेतृत्व चयन गरेको हो । विशेष महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध चयन भएको सुनसरीका काङ्ग्रेस नेता सुजेन्द्र तामाङले जानकारी दिए । काङ्ग्रेस विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था छ ।

यस्तै, विशेष महाधिवेशनबाट उपसभापति पदमा फर्मुल्लाह मन्सुर चयन भएका छन् ।  काङ्ग्रेसका दुई उपसभापति रहनेछन् । सह–महामन्त्री दलित, महिला, आदिवासी जनजाति, खसलगायत गरी ८ जना चयन भएका छन् । 

विशेष महाधिवेशनले युवा पुस्तालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको तामाङले बताए । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहमतिमा टुङ्गो लगाइएको छ । १३ पदाधिकारीसहित १ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको छ । 

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो ।