विराटनगर । मङ्गलबार बिहान ११ बज्नै लाग्दा मोरङको धनपालथान–६ दादरबैरियामा एउटा भिन्नै रौनक थियो । लहरै मिलाएर राखिएका १५ वटा माटाका भाँडाबाट एकैसाथ सेतो बाफ उड्न थाल्यो । लिपपोत गरेर सजाइएको चोक, छेउमा थुपारिएको दाउरा र चामलको सुगन्धित पिठो । जब ती भाँडाबाट तातोतातो ‘भक्का’ बाहिर निस्किए, त्यहाँ उपस्थित सयौँका अनुहारमा एउटा सांस्कृतिक गौरवको चमक देखियो ।

यो दृश्य थियो— नवौँ राष्ट्रिय भक्का दिवसको । कोच राजवंशी समुदायको पहिचानसँग जोडिएको यो परिकारलाई उत्सवका रूपमा मनाउन झापा, मोरङ र सुनसरीका सयौँ मानिस दादरबैरियामा भेला भएका थिए ।

भक्का पकाउन रुक्मणी, मीना र रन्जिता राजवंशीलगायतका महिलाहरू निकै व्यस्त देखिन्थे । हातमा पिठोको डल्लो पार्ने, त्यसलाई कपडाले बेरेर प्वाल भएको माटोको भाँडामा राख्ने र केही मिनेटमै सुपाच्य भक्का तयार पार्ने उनीहरूको सीप हेर्नलायक थियो । राजवंशी समाज विकास समितिकी अध्यक्ष सुनिता राजवंशी कार्यक्रमको संयोजन गर्दै पाहुनालाई भक्का चखाउन तल्लीन थिइन् ।

“हाम्रा लागि भक्का केवल खाजा मात्र होइन, यो हाम्रो सभ्यता र पुर्खाको नासो पनि हो” सुनिताले भनिन्, “पुस २९ गते नै यो दिवस मनाउनुको विशेष कारण छ । पौराणिक कालदेखि नै माघे सङ्क्रान्तिको अघिल्लो दिन छोरीबेटीलाई घरमा बोलाएर भक्का खुवाउने चलन थियो । त्यही परम्परालाई हामीले दिवसको रूप दियौँ ।”

भक्काको साइनो पौराणिक कथासँग पनि जोडिएको छ । अध्यक्ष सुनिताका अनुसार महाभारतको युद्धपछि भीष्म पितामहले देह त्याग गर्ने बेलामा आफ्नो शक्ति प्रकृतिमा छोड्दै चामलको भक्का चढाउन आग्रह गरेका थिए । “जसले मलाई चढाएको भक्का खान्छ, उसले मेरो शक्ति प्राप्त गर्छ भन्ने जनश्रुति छ” उनले थपिन्, “त्यसैले यो हाम्रो सनातन संस्कारसँग पनि अभिन्नरूपले जोडिएको छ ।”

पछिल्लो समय भक्काले जातीय घेरा नाघेर राष्ट्रिय स्वरूप ग्रहण गर्दैछ । झापाका तीनवटा पालिकाले भक्का दिवसमा सार्वजनिक बिदा दिनु र विगत तीन वर्षदेखि प्रधानमन्त्रीस्तरबाटै शुभकामना सन्देश जारी हुनुले यसको महŒव झल्काउँछ । अहिले विभिन्न पात्रोहरूमा समेत भक्का दिवस उल्लेख हुन थालेको छ ।

६ हजार भक्काको स्वाद

यस वर्षको उत्सवका लागि २ सय ५० केजी चामलको पिठो तयार पारिएको थियो । आयोजकका अनुसार करिब एक हजारभन्दा बढी सहभागीलाई ६ हजार थान भक्का निःशुल्क वितरण गरियो । “एक केजी चामलबाट करिब २० देखि २५ वटा ठूला आकारका भक्का बन्छन्” सुनिताले तथ्याङ्क सुनाइन्, “सबैलाई अघाउन्जेल खुवाउन वडा कार्यालयले पनि आर्थिक सहयोग गरेको छ ।”

पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने भूमिपुत्र कोच राजवंशीहरूको यो प्रिय खान्की अहिले सबै समुदायको साझा बनेको छ । बिहानीको चिसोमा तातो भक्का, गोलभेँडाको चटनी वा नुन–खुर्सानीसँग खानुको आनन्द बेग्लै हुन्छ ।

पहिचानसँगै भक्का धेरैका लागि जीविकोपार्जनको माध्यम पनि बनेको छ । तराईका चोक–चोकमा हिउँद महिनाभरि भक्का बेचेर घरखर्च चलाउने महिलाहरूको सङ्ख्या उल्लेख्य छ । बिहानको खाजाका रूपमा लोकप्रिय भक्काले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याएको छ ।

“हाम्रो यो मौलिक खानालाई विश्वभर फैलाउनसके नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्छ”–अध्यक्ष राजवंशीको विश्वास छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने हुनाले यो स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक मानिन्छ ।

तराईको शीतलहर र कुहिरोबीच बाफिँदै गरेको भक्काले एकातिर पुर्खाको इतिहास बचाइरहेको छ भने अर्कोतिर आधुनिक पुस्तालाई आफ्नो मौलिक स्वादसँग जोड्ने काम गरिरहेको छ । “धनपालथानमा देखिएको त्यो उत्सवमय दृश्यले संस्कृति तब मात्र जीवित रहन्छ, जब त्यसलाई भान्सा र समाजले गर्वका साथ अँगाल्छ” भक्का दिवसमा पुगेका आमसञ्चार तथा सामाजिक अध्ययन विषयविज्ञ जितेन्द्र साहले भने, “भक्का तराई–मधेसको मौलिक पहिचान बोकेको पारम्परिक खाजा हो, जसको नाता पूर्वी तराईका आदिवासी समुदायसँग गाँसिएको छ । चामलको पिठो बाफमा पकाइने भएकाले यो तेलरहित, हल्का र सुपाच्य हुन्छ ।”

Messenger_creation_EA9317D1-DE21-4DF0-B687-F5F76196E619

Messenger_creation_CF8B0BD2-D80F-4795-BA1A-3549B4E20AF0

Messenger_creation_EC1FEA7D-1581-49CC-BD44-9DCF691ADA85