धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकीकरणपश्चात् मङ्गलबार पार्टी कार्यालयमा एक कार्यक्रम गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाप्रति जनताको सदासयता बढ्दै गएको बताएका छन् ।
उनले आउँदो निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् । उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अगाडि बढ्ने बताएका छन् । उनले भ्रष्टाचारको अन्त्यका लागि पार्टी प्रतिबद्ध रहेको बताए । उनले सुशासन कायम गर्ने प्रतिबद्धता पनि जनाए । उनले राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने तर्क पनि गरे ।
“सामान्यरूपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एकठाउँमा उभिनु पर्छ । यो असम्भव भने छैन”–उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने । उनले आजको अवस्थामा राजसंस्थाको मुद्दा बलियो र लोकप्रिय बन्दै गएको बताए । उनले अबको निर्वाचनमा पहिलो शक्ति बनाएर अगाडि बढ्नका लागि सबैलाई आग्रह गरे ।
उनले विगतमा राप्रपाको फुटका कारण पनि चुनावमा उल्लेखनीय प्रगति गर्न नसकेको कुरालाई आत्मसात गर्दै पहिलो पटक पार्टी एक ठाउँमा उभिएका कारणले पनि पहिलो शक्ति बन्ने बाटोमा रहेको बताए ।
“पहिलो पल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ” उनले भने, “२०६२/०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ”–उनले राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्रको मुद्दालाई स्थापित गराएरै छाड्ने दाबी गरेका छन् ।
































