धरान । टमाटर उत्पादनको मुख्य सिजन मानिने समयमै नेपाली बजार भारतीय टमाटरको भरमा चलेको छ । स्वदेशी उत्पादन घटेपछि पूर्वी नाका हुँदै भारतबाट भित्रिने टमाटरको आयातले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को पाँच महिनामै पूर्वी नाकाबाट टमाटरको आयात ९ सय ३२ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
धरानस्थित कृषिउपज बजार केन्द्रमा हाल दैनिक करिब १० टन टमाटर भित्रिने गरेको छ । बजार केन्द्रका अनुसार यसमध्ये करिब १० प्रतिशत टमाटर भारतबाट आयात हुँदै आएको छ । पाँच–छ जना व्यापारीमार्फत् आयात हुने टमाटरको दैनिक मूल्य सरदर ८ लाख ५० हजार रुपैयाँ बराबर पर्न जान्छ ।
यतिबेला उत्पादन बढेर मूल्य सस्तो हुनुपर्ने भए पनि धरान कृषि बजारमै टमाटरको थोक मूल्य प्रतिकेजी ८० रुपैयाँ पुगेको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । खुद्रा बजारमा भने १ सय २० देखि १ सय ५० रुपैयाँसम्म टमाटर बिक्री भइरहेको छ । गतवर्ष पुस–माघको सिजनमा भने टमाटरको मूल्य प्रतिकेजी ३२ रुपैयाँ मात्र थियो । खुद्रा मूल्य ४० देखि ६० रुपैयाँसम्म मात्र भएको कृषि बजार उपज स्थलले जनाएको छ ।
यसवर्ष झापाको बिर्तामोड कृषि बजारमा नेपाली टमाटरको थोक मूल्य प्रतिकेजी ७७.५ रुपैयाँ छ भने भारतीय टमाटरको मूल्य ७२.५ रुपैयाँ रहेको छ । मूल्य सस्तो भएकै कारण व्यापारीहरू भारतीय टमाटरतर्फ आकर्षित भएको देखिन्छ ।
धरान कृषि उपज बजार केन्द्रका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार भदौदेखि कात्तिकसम्म पूर्वी पहाडी जिल्लाबाट टमाटर आपूर्ति हुँदै आएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायतका जिल्लाबाट धरान टमाटर आउने गरेको छ । पहाडमा उत्पादन सिजन सकिएको व्यवसायीहरूले बताएका छन् । पुसदेखियता भने तराईबाट आउने टमाटरले बजार धान्ने गरेको छ । तर यस वर्ष तराईमा भदौ–असोजमा बेर्ना सार्ने समयमा परेको अविरल वर्षाले खेत डुबानमा परेपछि किसानले टमाटर लगाउनै पाएनन् । त्यसको असर अहिले बजारमा देखिएको व्यवस्थापक भट्टराई बताउँछन् ।
“तराईका जिल्लाबाट टमाटर आउन नसकेपछि हाल कोशी टप्पु क्षेत्रको उत्पादनले मात्र धरान बजार धानेको छ” भट्टराईले भने, “बेर्ना पानीले ध्वस्त पारेपछि तराईमा टमाटर उत्पादन कम भयो । त्यसको असर बजार भाउमा परेको छ ।”
भारतमा समेत यसवर्ष टमाटरको उत्पादन उत्साहजनक छैन । बेर्ना सार्ने समयमा त्यहाँ पनि बाढी आएपछि उत्पादन प्रभावित भएको छ । त्यसैले भारतबाट आउने टमाटर पनि महँगो मूल्यमा नै उपलब्ध हुँदै आएको व्यापारीहरू बताउँछन् । अन्य तरकारीलगायतका सामग्रीमा भारतीय उत्पादन नेपाली उत्पादनभन्दा दुईगुना, तीनगुणजस्तो हुने गरेको भए पनि टमाटरको भाउ भने प्रतिकेजी ५–१० रुपैयाँ मात्र फरक रहेको छ । भाउ उच्च हुनुले भारतीय बजारमा पनि टमाटर उत्पादन कम भएको व्यवसायी अनुमान गर्छन् ।
२०८० सालमा भने भारतमै टमाटरको अभाव हुँदा नेपालबाट चोरी निकासी गरेर भारत लैजाने गरिएको थियो । टमाटर अभाव चर्किएपछि भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नै संसद्मा बोल्दै नेपालबाट टमाटर आयात गरिएको स्वीकार गरेकी थिइन् ।
समाचार संस्था रोयटर्सका अनुसार सीतारमणले संसद्मा नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट बनारस, लखनऊ र कानपुर पुगेको जानकारी दिएकी थिइन् । त्यतिबेला भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म वृद्धि भएको थियो ।
पूर्वी नाकाबाट आयातको आँकडा
मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा भारतबाट २६ लाख ७६ हजार ५ सय २० केजी टमाटर आयात भएको छ । उक्त परिमाणको टमाटरको कुल मूल्य ६ करोड ८४ लाख ७४ हजार रुपैयाँ बराबर रहेको छ भने आयातबाट ८२ लाख ७३ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
यसको तुलनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतबाट केवल १ लाख ३८ हजार ६ सय ५० केजी मात्र आयात भएको थियो, जसको मूल्य ३७ लाख ३० हजार रुपैयाँ बराबर रहेको थियो । भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आ.व.मा समग्र तरकारी आयात पनि बढेको छ । पाँच महिनामा पूर्वी नाकाबाट १ अर्ब १८ करोड ३ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ, जुन गत वर्षभन्दा बढी हो ।
टमाटरबारे जानी राखौं
टमाटर (गोलभेडा) तरकारीको एक प्रकार जो साना–साना बोटमा फल्ने फल हो । प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो । विकिपिडियाका अनुसार टमाटरको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम ‘टमाटर’ हिन्दी भाषा हो । नेपाली भाषामा ‘रमभेडा’ भन्ने गरिन्छ ।
भारतको महत्वपूर्ण तरकारी
टमाटरमा धेरै पौष्टिक तत्व पाइन्छ । जुनसुकै तरकारीमा पनि यसको प्रयोग हुन्छ । आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी मानिन्छ । तर ‘केप्ड भेजिटेबल’ मा यसको पहिलो स्थान राखिएको छ । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ । पोर्तुगालीहरूले टमाटरलाई भारतीयहरूलाई चिनाएका बताइन्छ । अहिले यो भारतमा एक महŒवपूर्ण तथा लाभकारी सब्जीको रूपमा परिचित छ । उत्तर प्रदेश, महाराष्ट्र, कर्णाटक, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य मानिन्छन् । सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिने बताइएको छ ।
जलवायुको आवश्यकता
टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापकरूपमा उत्पादन गर्न सकिने कृषिविज्ञहरूले बताएका छन् । यसको बोटले धेरै तुषारो सहन सक्दैन । २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यो फस्टाउँछ । तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिने कृषिविज्ञहरूले बताएका छन् ।
टमाटर विभिन्न प्रकारको माटोेमा उत्पादन गर्न सकिन्छ । बलौटे उर्वर माटो, दोमट माटो, कालो माटो र राम्रो पानी बहने व्यवस्था भएको कालो माटोमा यसको खेती गर्न सकिने कृषिविज्ञहरूले बताएका छन् ।
तर राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ । टमाटरले ठिक्कको अम्लता र क्षार भएको माटो सहन सक्छ । अम्लताको मात्रा ५.५ देखि ७.५ भएको माटोमा यसले उत्तम उत्पादन दिन्छ । सिक्किमको माटो अम्लीय प्रकारको भएकाले त्यहाँ टमाटरको उत्पादन उच्च रहेको भारतीय कृषि विभागले जनाएको छ ।
टमाटरका फाइदा
तरकारीलाई स्वादिलो बनाउनका लागि टमाटरकोे प्रयोग आजभोलि अनिवार्यजस्तै भएको छ । सूपको रूपमा, अचारको रूपमा तथा शृङ्गारको सामानको रूपमा समेत टमाटरका प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्टेरोल कम गर्न पनि सहयोग पुग्ने बताइन्छ ।
मानिसलाई वजन घटाउन पनि टमाटर फाइदाजनक छ । तर टमाटरको सबैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।
टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो शरीरलाई विभिन्न रोगहरूसँग लड्न मद्दत गर्दछ ।
































