निर्वाचनलाई लक्षित गर्दै सरकारले जनपद प्रहरी र सशस्त्र प्रहरीमा ‘निर्वाचन प्रहरी’ भर्ना अभियान सुरू गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि यही फागुन २१ गते हुन लागेको निर्वाचनमा चाहिने म्यादी (निश्चित समयका लागि) प्रहरीको माग भएसँगै अहिले जिल्ला–जिल्लामा म्यादी भिड्नका लागि महिला पुरूषहरुको भीड देखिन्छ । यो भीडले केवल म्यादी प्रहरीको आकर्षणलाई मात्रै उजागर गर्दैन, यसले त बेरोजगारीको चित्रलाई सङ्केत गरेको छ । म्यादी प्रहरीमा युवादेखि वयस्कसम्म देखिन्छन् । यसर्थ बेरोजगारीको सीमा कहाँ पुगेको छ भन्ने पनि यसले चित्रण गरेको छ । देशमा रोजगार नहुँदा नै युवाहरु विदेश पलायन भइरहेका छन् । यो पलायनलाई रोक्न सरकारले अहिलेसम्म कुनै ठोस कदम चालेको देखिँदैन । उल्टो विभिन्न देशमा मान्छे पठाउनका लागि सरकारले ‘डिल’ गरेर आइरहेको छ । यसले देशको बेरोजगारीको भयावह अवस्थालाई चित्रण गरेको छ । यसमा राज्य चिन्तित हुनुपर्ने अवस्था सिर्जना गरेको छ । निश्चित समयका लागि खुलेको जागिरमा यस्तो हालत छ भने स्थायी प्रकृतिको जागिरका लागि मानिसहरुको भीडको अवस्था कस्तो होला अनुमानभन्दा बाहिर छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाको सूचनाअनुसार देशभरिका लागि कुल एक लाख ३३ हजार नौ सय ८० जना निर्वाचन प्रहरी माग गरेको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाहरुलाई यसका लागि अवसर प्रदान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार देशको कुल जनसङ्ख्याको १५ वर्षदेखि ५९ वर्ष उमेरका ६१ दशमलव ९६ प्रतिशत रहेका छन् । यो भनेको काम गर्न सक्ने उमेर समूहभित्र पर्दछ । यतिका सङ्ख्यामा रहेको हाम्रो मुलुकले रोजगारको अवसर सिर्जना नसक्दा यस्ता उमेर समूहहरु दैनिक विदेश पलायन भइरहेका छन् । अहिले दैनिक २ हजारभन्दा पनि बढी मानिसहरु विदेश गइरहेको अवस्था छ । यो चित्रले हाम्रो देशको बेरोजगारीको सङ्ख्या मात्रै हैन, हामीले प्रजातन्त्रपछि देशका कति धेरै उद्योगधन्दा, कलकारखाना, उत्पादनमुखी कार्यलगायतमा काम गरेछौँ त भन्ने देखाएको छ । २०४६ सालको प्रजातन्त्र पुनर्बहालीपश्चात् पनि देशले उद्योगधन्दाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न नसकेको प्रतीत भएको छ । यसको अर्थ उद्योग खुलेनन् भन्ने होइन तर हाम्रो जनशक्तिलाई पर्याप्त मात्राका काम लगाउन सक्ने उद्योगहरु अझै खुल्न सकेनन् भन्ने चित्र हो ।
अहिलेको राजनीतिक व्यवस्था, अहिलेको सरकारको परिपाटी तथा कार्यहरुले पनि हाम्रो देशको प्रणाली कसरी धरासायी बनिरहेको छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । हामीले हाम्रा युवाशक्तिलाई जति धेरै परिचालित गर्न सक्छौँ, त्यति धेरै रोजगारको अवसर सिर्जना हुन्छ । आर्थिक समृद्धि हुन्छ । यसतर्फ चाहिँ राजनीतिक दलहरुको ध्यानाकृष्ट हुन सकेको देखिँदैन । यही निर्वाचन प्रहरीको माग र त्यहाँ आएका सङ्ख्यालाई आधार मानेर पनि हामीले हाम्रो नीति, पद्दति तथा काम गराइको रफ्तारलाई परिवर्तन गर्न आवश्यक छ । आज हरेक मानिस रोजगारको खोजीमा छ । उसको ल्याकतले भ्याउनेसम्मको रोजगार गर्न चाहन्छ । यसकारण पनि सरकारले त्यो वातावरण सिर्जना गर्नुपर्छ । हामीले हाम्रो विकृत अनुहारलाई परिवर्तन गर्न नसक्ने हो भने युवाशक्तिको पलायन रोकिँदैन । अवसरको खोजीमा मानिस पक्कै पनि अर्का देशहरुमा जान्छ । त्यसलाई रोक्नका लागि उद्योगधन्दा, कलकारखाना, प्रतिस्पर्धात्मक बजार, खुल्ला अर्थतन्त्रसँगै उत्पादनमुखी कार्यलाई प्रोत्साहन गर्नैपर्छ । अन्यथा हामी फेरि पनि विश्व बजारमा मानव सप्लाइ गर्ने देश मात्रै बन्नेछौँ । यसतर्फ चाहिँ अहिलेका सरकार तथा सरकारका प्रमुखहरुले सोचून् ।
































