सत्यवादीका रुपमा ख्याति आर्जन गर्न सफल युधिष्ठिरले जीवनमा एक पटक महत्त्वपूर्ण निर्णायक झुट बोलेका छन् । युधिष्ठिर धर्मका प्रतिबिम्ब मानिन्छन् । जुनसुकै अवस्थामा पनि उनलै कुुनै कारणले असत्यको साहरा लिएनन् तर आफ्नै गुरू द्रोणाचार्यलाई उनको वीर पुत्र अश्वत्वथामा मरेको हो होइन भन्ने विषयमा झुट बोल्न पुग्छन् । यस झुटले युधिष्ठिरलाई असत्य पक्षधर भएको आरोप लाग्यो । परशुरामका शिष्य द्रोणाचार्य तत्कालीन समयका शस्त्रविद्यामा कहलिएका व्यक्ति थिए । उनलाई युद्धमा मानवले त के देवताहरु पराजित गर्न सक्दैनथे । भनिन्छ–उनको मृत्यु स्वयम् उनले मात्र गर्न सक्थे । जति नै स्थित प्रज्ञा भए पनि सन्तान प्रेममा जो कोही वशीभूत हुनसक्छ भन्ने दृष्टान्त हुन् द्रोणाचार्य ।
उनका पुत्र अश्वत्थामा थिए र उनले चिरञ्जीवी हुने वरदान पाएका थिए । चिरञ्जीवीको आशय अन्यको तुलनामा चारओटै युगमा जीवित रहन पाउनु हो । यसको मतलब मर्दै नमर्नु या अमरत्व प्राप्त गर्नु भन्ने चाहिँ कदापि पनि होइन । किनभने यस धराधाममा आएका जीवको ढिलो चाँडो भौतिक शरीर नाश हुन्छ नै । वैदिक धर्ममा अष्टचिरञ्जीवीको स्थान विशेष छ । जन्मदिनका सन्दर्भमा वैदिक सनातन धर्मानुयायीहरु अष्टचिरञ्जीवीको पूजाअर्चना गर्ने गर्दछौँ । ती अष्टचिरञ्जीवी यश यस प्रकार छन्ः
अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषणः ।
कृपः परशुरामश्च सप्तैते चिरजीविनः ।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।
जीविद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।।
अर्थात् अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय यी आठ जना चिरञ्जीवी हुन् र यिनीहरुको पूजा गर्नाले आयु लामो हुन्छ ।
किंवदन्ती के पाइन्छ अश्वत्थामा श्रापित शरीर लिएर अहिले पनि यस धराधाममा विचरण गरिरहेका छन् । यी सबैलाई यथार्थको नजरबाट वर्तमान युगीन आँखाले नियाँल्ने हो भने तिलस्मी लाग्न सक्छ । अश्वत्थामा श्रापित शरीर लिएर हिँडेको काल्पनिक विषयलाई कृष्ण धरावासीले राधा उपन्यासमा उल्लेख गरेका छन् । राधा साहित्यिक कृति भएकाले र त्यसले विषयवस्तु पुराणबाट ग्रहण गरेकाले काल्पनिक भनेर मान्नुपर्ने हुन्छ ।
त्रेतायुगमै जन्मेर २१ चोटि क्षत्रियविहीन गरेका परशुराम द्वापरयुगमा पनि उत्तिकै प्रसिद्ध थिए । उनका तीन शिष्य र तत्कालीन भारत वर्षका महान् योद्धा कुरूक्षेत्रको युद्धमा कौरव पक्षबाट सहभागी थिए । भीष्म, द्रोणाचार्य र सूर्य पुत्र कर्ण तीनै जना परशुरामका शिष्य थिए । उनीहरु क्रमशः कौरव सेनाका सेनापति भए ।
महाभारत तीन चरणमा विकास भएको विश्वकै प्राचीनतम र विशालकाय ग्रन्थ हो । यसका बारेमा प्रसिद्ध कथन पनि छः यदीहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् अर्थात् जो यसमा छ त्यो अन्यत्र पनि छ र जो यसमा छैन, त्यो अन्यत्र कहीँ पनि छैन । यो पूर्णतः सत्य भनाइ नहुन सक्छ तर यसले महाभारतको विषय र व्यापकतालाई चाहिँ मुखरित गरेकै छ । जय, भारत र अन्तिममा यसलाई महाभारत भन्ने गरिएको पाइन्छ । यसका लेखक एक व्यक्ति विशेष नभएर कयौँ समयका अनेकविधा विषयको सङ्कलन हो । यसलाई प्राच्य साहित्यमा आर्ष महाकाव्य मानिन्छ । संस्कृत साहित्यका लागि रामायण र महाभारत उपजीव्य ग्रन्थ हुन् ।
संस्कृत साहित्यले धेरै विषयवस्तु महाभारत र रामायणबाट नै ग्रहण गरेका छन् । महाभारत विशालकाय स्वरुपको रहेको र यसमा अनेक विषयवस्तु प्रतिपादन भएको भए पनि यो कौरव र पाण्डवको युद्ध (धर्मयुद्ध र कुरूक्षेत्र) युद्धको पर्याय बनेको छ । यद्यपि महाभारतमा अनेक विषयवस्तु रहेका छन् । महाभारतको अङ्गी रस शान्त हो । यसमा अनेक युद्धको वर्णन भएकाले वीर रस प्रधान देखिने गर्दछ । यद्यपि यसको उपदेश भनेको शान्ति हो । शान्तिको विकल्प संसारमा अरु केही हुन नसक्ने तथ्यलाई यसले बढो मार्मिक ढङ्गले प्रस्तुत गरेको देखिन्छ ।
अब मूल प्रसङ्गतिर आऊँ, एकै वंशका दाजु भाइका छोराहरु पाण्डव र कौरव युद्धका लागि कुरूक्षेत्रमा एकत्रित हुन्छन् । यसको आफ्नै विशिष्ट पृष्ठभूमि विद्यमान छ । नेत्रहीन भएकाले तत्कालीन मान्यताअनुसार धृतराष्ट्र राजा बन्न पाउँदैनन् । त्यसैले माहिलो भाइ पाण्डु राजा बन्छन् । पाण्डुका पाँच जना छोरा क्रमशः युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव थिए भने धृतराष्ट्रका सय जना छोरा थिए । जसमा प्रमुख दुर्योधन थियो । धृतराष्ट्रको अवचेतनमा आफू राजा बन्न नपाएको हीनताबोध व्याप्त थियो । पाण्डुको अचानक निधन भएपछि धृतराष्ट्र राजा बन्छन् तर उनी पूर्ण राजा नभई पाण्डुका प्रतिनिधि मात्र थिए ।
जसलाई नायवी शासकका रुपमा बुझ्न सकिन्छ । उनी पूर्ण राजा नभएका र हस्तिनापुरका राजा पाण्डवका प्रतिनिधि हुनुका साथै तत्कालीन समयको राज्य व्यवस्थामा पहिलो पुत्र राजकुमार हुने र उहीँ नै पछि राजा हुने प्रचलन थियो । त्यही प्रचलन हाम्रो देशमा पनि राजतन्त्र रहुन्जेलसम्म थियो । हस्तिनापुर पाण्डुको भएको र उनको अल्पायुमा नै निधन भएकाले धृतराष्ट्र राजा बन्न सफल भए । उनी राजा बनेपछि आफ्नै ज्येष्ठ सन्तान दुर्योधनलाई राजा कसरी बनाउने भन्नेमा केन्द्रित भए । तथापि आयु र गुण दुवैले युधिष्ठिर श्रेष्ठ भएकाले धृतराष्ट्रको केही लागेन, युधिष्ठिर युवराज बने ।
युधिष्ठिर युवराज भए पनि पाण्डवविरूद्ध अनेकन षड्यन्त्र भइरह्यो । कुनै उत्सवको बाहना बनाएर वार्णावर्ततमा कुन्तीसहित पाँच पाण्डवलाई लाक्षागृृहमा जलाउने प्रयास भयो र सबैमा पाण्डवहरुको निधन भयो भन्ने समाचार व्याप्त भयो । यद्यपि हस्तिनापुरका महामन्त्री (वर्तमानमा प्रधानमन्त्री जस्तो पद) विदुरको कूटनीतिक चातुर्यले पाण्डवहरु सुरक्षित कतै बसेका थिए । हस्तिनापुर युवराजविहीन भएका कारण दुर्योधनलाई युवराज त बनाइयो तर पाञ्चाल देशको स्वयम्वरपश्चात् दौपद्रीसँग पाँच पाण्डवको विवाह भएपछि पाण्डवहरु जीवित रहेको समाचार फैलियो । एउटै राज्यमा दुई युवराज भएको अवस्था सिर्जना हुनगयो ।
बृहत् छलफलपश्चात् हस्तिनापुरलाई विभाजन गरी खाण्डप्रस्थ (इन्द्रपस्थ) पाण्डव र हस्तिनापुर कौरवसँग रहने निर्णय त भयो । खाण्डप्रस्थ त्यतिखेर अहिलेको मरूभूमि जस्तो बञ्जरभूमि थियो । त्यसलाई पाण्डवहरुले मिहिनेतले छोटो समयमा नै इन्द्रप्रस्थ बनाउन सफल भए । युधिष्ठिरको राज्यको बढ्दो प्रभावले दुर्योधनको अहंतामाथि प्रहार भइरहेको थियो ।
अनेक बाहना गर्दा पनि युधिष्ठिरको राज्य हडप्न नसकेपछि अन्तिममा छलकपटपूर्वक द्यूूत क्रीडामा पराजित गरी पाण्डवलाई १२ वर्ष वनवास र थप एक वर्ष अज्ञात वासमा पठाउन सफल भयो । यहाँबाट नै बीजावस्थामा रहेको महाभारतको युद्ध विधिवत् प्रकट हुन गयो । यसपछि दुवै पक्ष सैन्यशक्ति सशक्तीकरणमा लागेको पाइन्छ ।
महाभारत युद्ध १८ दिनसम्म चल्यो । यस युद्धमा तत्कालीन भारत वर्षका प्रायः सबै राजामहाराजाहरु कुनै न कुनै पक्षमा संलग्न रहेका थिए । कौरवका सेनापति भीष्म थिए भने पाण्डव पक्षको सैन्य नेतृत्व धृष्टद्युम्नले गरेका थिए । दश दिनसम्म भीष्म पितामहले सैन्य नेतृत्व गरेपछि अर्जुनले उनलाई बाणशय्यामा पठाउँछन् । त्यसपछि उनी युद्धमा सक्रिय रहन सक्ने अवस्था रहदैन । उनले पाण्डवलाई युद्धमा नमार्ने सङ्कल्प लिएका थिए ।
भीष्मले कौरव सेनाको नेतृत्व गरून्जेल युद्ध पूर्णतः नियममा नै चलेको थियो । जब द्रोणाचार्य जस्ता प्रबुद्ध व्यक्ति कौरवका प्रधानसेनापति भए तब युद्ध नीतिनियमभन्दा बाहिर निस्किन पुग्यो । यसै बिच दस जना महारथी मिलेर अभिमन्युको हत्या गरे । पाण्डवमा त्यसपछि प्रतिशोधको ज्वालाले सीमा नै उल्लङ्घन गर्न गयो ।
पाण्डवका सेनापति धृष्टद्युम्नको जन्म नै द्रोणाचार्यको अन्त्यका लागि भएको थियो तर सहज युद्धमा उनले द्रोणाचार्यलाई पराजित गर्न सक्ने अवस्था थिएन । द्रोणाचार्यको पुत्र अश्वत्थामा पनि युद्धमा संलग्न भई कौरव पक्षबाट लडिरहेका थिए । उनी पनि वीर र लडाकु थिए ।
द्रोणाचार्यले पाण्डव वध नगर्ने सङ्कल्प नगरेका भए पनि युधिष्ठिरलाई बन्दी बनाई युद्ध समापन गर्न चाहन्थे । द्रोणाचार्यको मुख्य समस्या नै पुत्रमोह थियो । यद्यपि उनका पुत्रले चिरञ्जीवी हुने वरदान प्राप्त गरेको भए पनि उनलाई त्यसमा त्यति विश्वास थिएन । कुनै पनि अवस्थामा युद्धमा द्रोणाचार्यलाई पराजित गर्न नसके पनि कृष्णले कि त युद्ध हार्नुप¥यो कि अर्धसत्य बोल्नुपर्यो भनेर युधिष्ठिरलाई उकास्छन् ।
सहज युद्धमा द्रोणाचार्य पराजय सम्भव नदेखिएपछि युधिष्ठिर अर्धसत्यका पक्षमा उभिन्छन् । माथि कतै उल्लेख भइसकेको छ । द्रोणाचार्यको पराजय स्वयम् उनीबाहेक अरुबाट सम्भव थिएन तर उनको कमजोरी अत्यधिक पुत्रमोह थियो । पुत्र अश्वत्थामाको मृत्यु भएको सुने भने स्वयम् उनी आफै नै शस्त्रास्त्र छाडेर मृत्युवरण गर्दथे ।
कृष्णले माहोल नै त्यस्तै सिर्जना गरे । त्यस युद्धमा रहेको एउटा हात्तीको नाम पनि अश्वत्थामा नै थियो । जुन स्थानमा युद्ध हुँदै थियो, त्यो विशाल क्षेत्र थियो । एक कुनामा भएको युद्ध अर्को कुनामा थाहा नहुने अवस्था थियो ।
अश्वत्थामा अन्तै युद्ध लडिरहेका अवस्थामा पाण्डवमध्येका भीमलाई कृष्णले अश्वत्थामा नाम गरेको हात्ती मारेर अश्वत्थामाको वध भयो भनेर हल्ला फिँजाउन लगाउँछन् साथै युधिष्ठिरलाई पनि यो आंशिक सत्य प्रस्तुत गर्न भन्छन् । युधिष्ठर यसलाई सुरूमा अस्वीकार गर्छन्
तर द्रोणाचार्यको पराजय यो भन्दा अर्को कुनै तरिकाले नहुने भएपछि यसलाई मान्न बाध्य हुन्छन् । भीमले हात्तीरुपी अश्वत्थामाको वध गरेर गुरू द्रोणाचार्य नजिक गई ठुलठुलो स्वरमा ’मैले अश्वत्थामाको वध गरेँ भनेर हावा फैलाउँछन् । यसमा मानव वा हात्ती कुन अश्वत्थामा भन्ने उल्लेख थिएन । सबै द्रोणाचार्य पुत्र अश्वत्थामाकै वध भएको मान्ने अवस्थामा हुन्छन् ।
द्रोणाचार्य स्वयमलाई यसमा विश्वास हुँदैन । युद्धमा पक्ष र विपक्षमा भए पनि युधिष्ठिर कुनै पनि अवस्थामा झुट बोल्दैनन् । उनीबाटै विषयको सुनिश्चितताका लागि जान्छन् । त्यतिखेर युधिष्ठिर यसो भन्छन्ः अश्वत्थामा हतः इति नरो वा कुञ्जरो वा अर्थात् अश्वत्थामाको मृत्यु भयो तर त्यो नर (मानिस) थियो वा कुञ्जर (हात्ती) ।
यहाँ युधिष्ठिरले कुञ्जर शब्द सानो स्वरमा भन्नुका साथै त्योभन्दा पाण्डव पक्षले अनेक प्रकारका बाजा बजाइदिएर ध्वनिमा स्पष्टता हुन दिएनन् । त्यसपछि द्रोणाचार्यले शस्त्रहरु छोडी मृत्यु आसनमा बस्छन् । त्यही अवस्थामा धृष्टद्युम्नले उनको हत्या गर्छन् । धृष्टद्युम्नको जन्म नै द्रोण र द्रुपदको वैमश्यताबाट भएको थियो । सुरूमा द्रोण र द्रुपद साथी थिए ।
युद्ध जहिल्यै निर्मम हुनुका साथै सभ्यता र संस्कृतिको विनाशक पनि हुन्छ । युद्ध कहिल्यै सत्यको बाटाबाट मात्र जित्न सकिँदैन रहेछ । सत्यवादीका रुपमा परिचित युधिष्ठिरसमेत यसको चपेटामा पर्न पुगे । साथै गुरू द्रोणाचार्यसमेत अद्र्धसत्यमा विश्वस्त हुन पुग्छन् । एउटा युद्धले व्यक्तिको संवेदनालाई कसरी तिरोभूत गरिदिन्छ भन्ने यो महाभारतको प्रसङ्ग एउटा गतिलो उदाहरण हो ।
तत्कालीन सत्यमा आधारित मानिने र धर्मका पक्षधर पाण्डवमध्ये पनि धर्मकै अवतार युधिष्ठिरले युद्ध जित्न झुटको साहरा लिनु पर्यो भने हाम्रो राजनीतिमा सत्य र न्याय भन्ने दूरदराजको विषय बनेको आजका दिनमा हामीले हाम्रो राजनीतिबाट के कति आशा र अपेक्षा गर्न सक्दछौँ त । महाभारतले राजनीतिका अनेक विधि र पद्धति प्रयोग गर्नुका साथै कूटनीतिका अनेक उदाहरण प्रस्तुत गरेको छ । सत्य सापेक्ष हुन्छ तर हामी निरपेक्ष सत्यका खोजमा छौँ ।
वस्तुसत्य बोध नभई एकाङ्गी भई निरपेक्ष सत्यका पक्षमा उभियौ भने द्रोणको हविगत हुन्छ । द्रोण स्थितप्रज्ञ थिए र उनमा भीमले अश्वत्थामाको हत्या गर्न नसक्ने साथै अश्वत्थामा चिरञ्जीवी भएको राम्रो ज्ञान हुँदाहुँदै पनि अर्धसत्यलाई मानेर जीवन समापन गरे । राजनीतिलाई नियाँल्न हामीमा सापेक्ष सत्यका पक्षधर हुनुपर्छ । बाह्यभन्दा त्यसभित्रको गूढतम रहस्य पहिल्याएर अगाडि बढ्नुपर्छ ।
। विज्ञेषु किमधिकम् ।
































