काव्यदोषको चर्चा गर्नुअघि एउटा अति नै चर्चित गीतबाट सुरूवात गर्ने अनुमति चाहन्छु । गीत हो...
तिमी मलाई प्रलय नै मन पर्ने
तिम्ले भने छड्के आँखाले नहेर्ने..

खासमा काव्यदोष के हो ? कसरी उत्पन्न हुन्छ ? यस गीतमा काव्यदोष छ कि छैन ? आदि चर्चा गर्नु आजको सन्दर्भमा वान्छनीय भएको छ । गायक प्रकाश सपूतको यो गीतले निकै चर्चा कमाएको थियो । हरेकको मुखमुखमा झुण्डिएको यो गीत प्रौढपुस्तादेखि नवपुस्तासम्मले मन पराए ।

यो गीत झट्ट सुन्दा साँच्चै नै राम्रो पनि छ । तर यस गीतमा रचनाकारले भयङ्कर काव्यदोष सिर्जना गरेका छन् । यहाँ प्रयोग भएको पद ‘प्रलय’ को अर्थ चाहिनेभन्दा धेरै, अति नै भन्ने अर्थमा प्रयोग भइरहेको छ । तर समाजको रूढ भएको यो शब्दको खास अर्थ चाहिँ महाविपत्ति, विपत्, आपत्को सन्दर्भमा प्रयोग हुन्छ । विपत् र आपत् पनि सामान्य नभएर एकदमै भयङ्कर खालको आपत् वा विपत् । यस्ता शब्दको छनौटका कारण यहाँ अर्थको अनर्थ लाग्ने गरी प्रयोग गरिएको छ ।

खासमा यसैलाई हामी काव्यदोष मान्दछौँ । काव्यदोषको सन्दर्भमा पूर्वीय तथा संस्कृत साहित्यको सन्दर्भमा पूर्वीय आचार्यहरुले विहङ्गम दृष्टिगोचर गरेका छन् । काव्यदोषको सन्दर्भमा के भनिन्छ भने–जसको आगमनले काव्यको सौन्दर्य र गुणलाई नष्ट गर्दछ त्यसलाई दोष अर्थात् काव्यदोष भनिएको छ ।

विशेषगरी यो शब्दको प्रयोग पहिलो शताब्दीका आचार्य भरतले नाट्यशास्त्रमा प्रयोग गरेबाट त्यसपश्चात्का आचार्यहरुले गम्भीर मन्थन र चर्चा परिचर्चा गरेर यसका बारेमा थप पुष्टि गरेका छन् । काव्यदोषको सन्दर्भमा मिहिन ढङ्गले केलाइएको छ । अध्ययन अनुसन्धान गरिएको छ । काव्यदोषका सन्दर्भमा पूर्वीय आचार्यहरु नै विभक्त छन् । केही आचार्यहरु काव्यदोषका सन्दर्भमा कठोर छन् भने केही उदार छन् ।

कठोर धारणा प्रस्तुत गर्ने आचार्यहरुमा भामह, रूद्रट, दण्डी र वाग्वटलगायत छन् । यता रसवादी र ध्वनिवादी आचार्यहरु भने केही उदार छन् । यसमा पनि प्रथम शताब्दीका आचार्य भरत र ध्वनिवादी आचार्य आनन्दवद्र्धन अग्रपङ्क्तिमा देखिन्छन् । यस्तै वामन, विश्वनाथलगायतका आचार्यहरु पनि उदारवादी धारणा राख्छन् ।

रसवादी आचार्य भरतले काव्यदोषको सन्दर्भमा भनेका छन्–“दोषको विपर्यय नै गुण हो ।” दोषको विपरीत नै काव्यको गुण हो भन्ने सन्दर्भमा व्याख्या गरेको पाइन्छ । अझ उनले यसलाई स्पष्ट पार्दै संसारमा कुनै पनि वस्तु दोषरहित नहुने भएकाले यसका विषयमा आलोचना तथा टिप्पणी गर्नुको औचित्य नभएको भनी बताएका छन् । दोषमुक्त संसार हुँदैन त्यसकारण दोषलाई स्वीकार गरेर जानुपर्ने तर्क गरेका छन् ।

उनको धारणामा वामनको धारणा केही मिल्दो किसिमको देखिन्छ । वामनले भनेका छन्–“गुणको विपर्यात्मक तत्त्व नै दोष हो ।” भरतको दोषसम्बन्धी मान्यतासँग नजिक रहँदै उनले गुणको विपर्यात्मक तत्त्वको रुपमा दोषलाई स्वीकार गरेका छन् । तर काव्यदोषले काव्यको सौन्दर्यलाई हानि गर्ने भएकाले स्वीकार्य नहुने उनको तर्क छ । उनी भामहको पङ्क्तिमा देखिने आचार्यमा पर्छन् । उनले दोषमुक्त काव्यलाई सम्पत्ति र दोषयुक्तलाई विपत्ति भनेर चित्रण गरेका छन् । यसकारण उनी काव्यको सौन्दर्य नष्ट गर्ने काव्यको रचना गर्नु नहुने तर्क अगाडि सारेका छन् ।

यता छैठौँ शताब्दीका आचार्य भामह भने काव्य पूर्णतः दोषमुक्त हुनुपर्ने भन्दै कठोर धारणा व्यक्त गरेका छन् । उनले काव्यमा एउटा शब्द पनि दोषयुक्त भएमा उक्त काव्य कुपुत्र झैँ निन्दायोग्य हुने बताएका छन् । माथिको चर्चित गीतमा प्रयुक्त ‘प्रलय’ शब्दका आधारमा आचार्य भामहको धारणा अनुसार यो काव्य पूर्णतः वर्जित काव्य हो । किनकि यहाँ प्रयुक्त ‘प्रलय’ शब्दले काव्यको सौन्दर्य मात्रै हैन, अन्तरालाई नै फरक पारेको छ । अर्थकै तहमा दोष देखिएको छ ।

उनले काव्य रचना नगर्नुलाई सामान्य ठानेका छन् तर काव्य रचना गर्ने हो भने दोषयुक्त काव्य मृत्युसमान हुने चर्चा गरेका छन् । यसकारण पनि काव्यदोषका सन्दर्भमा उनी निकै कठोर देखिन्छन् । उनलाई पछ्याउँदै दण्डीले पनि काव्यको सन्दर्भमा गुणको अभाव हुनु नै दोषयुक्त काव्य रहेको बताएका छन् । दण्डीले गुण तथा अलङ्कारयुक्त काव्यलाई कामधेनु गाईसँग तुलना गरेका छन् ।

ध्वनिवादी आचार्य आनन्दवद्र्धनले काव्यको सन्दर्भमा ध्वन्यात्मक रसभङ्ग सिर्जना गर्ने काव्यलाई काव्यदोष भनेका छन् । उनले काव्यको सन्दर्भमा नित्यदोष र अनित्यदोष भनी वर्गीकरण गरेका छन् । नित्यदोषलाई उनी पूर्णत वर्जित गर्छन् भने अनित्यदोषलाई सहजै स्वीकार गर्छन् । नित्यदोषका सन्दर्भमा उनी भन्छन्–“काव्यले ध्वन्यात्मक रसभङ्ग सिर्जना गर्ने काव्यलाई पूर्णतः वर्जित गर्नुपर्छ ।” अनित्यदोष भएको काव्यमा खास ध्यान दिइरहनु नपर्ने भन्ने तर्क गरेका छन् ।

आचार्य रूद्रटले काव्यमा अलङ्कार शून्य भए पनि निर्दोष र दोषमुक्त छ भने त्यस्ता काव्यहरुलाई मध्यमस्तरको काव्य हुने भनी चर्चा गरेका छन् । अलङ्कारले काव्यलाई सुन्दर बनाउने र सौन्दर्य सिर्जना गर्ने बताएका छन् । अलङ्कार खासगरी आभूषण, गहना, सुन्दरवस्त्रको रुपमा चित्रण गरिन्छ । शैलीविज्ञानलाई आधारमा मान्दा यसलाई बुनोटको रुपमा लिन सकिन्छ । अलङ्कारले युक्त काव्य दोषमुक्त हुने चर्चा उनले गरेका छन् ।

यसरी पूर्वीय आचार्यहरु काव्यदोषका सन्दर्भमा दुई धार देखिएकै कारण पनि सुधार गर्ने स्थानहरु राखेको देखिन्छ । काव्यदोषका सन्दर्भमा तीन प्रकारको काव्यदोष हुने चर्चा गरेका छन् । पहिलो शब्ददोष, दोस्रो अर्थदोष र तेस्रो रसदोष भनेर चर्चा गरिएको छ । शब्ददोषलाई पनि पददोष र वाक्यदोष भनी प्रशाखामा वितरण गरेको पाइन्छ । शब्ददोषको सन्दर्भमा भनिएको छ–“वाक्यमा प्रयुक्त पद, पदांश, वाक्यका कारण देखिने दोष नै शब्ददोष हो ।” यस्ता दोष हटाउनका लागि पद, पदांश तथा वाक्यलाई हटाएमा दोषमुक्त हुने चर्चा गरिएको छ ।

यस्तै अर्थदोषको सन्दर्भमा भने समख्याताले कुनै पनि पद, पदांश तथा वाक्यलाई कुन अर्थमा प्रयोग गर्न खोजेको हो उक्त अर्थ प्रदान हुन नसक्नु नै अर्थदोष भनिएको छ । अर्थदोष भाषिक अर्थका तहमा हुने दोष हो । यस्ता दोष पद, पदांश तथा वाक्य हटाउँदैमा दोष अन्त्य हुँदैन भन्ने चर्चा गरिएको छ । त्यस्ता शब्द हटाउँदा पनि दोष कायमै हुने भनिएको छ । यसकारण पनि भामहलगायतका आचार्यहरु कठोर देखिएका हुन सक्छन् ।

तेस्रो हो रसदोष । रस आस्वादनमा अवरोध उत्पन्न हुनु नै रसदोष हो । काव्यमा कुनै न कुनै रस उत्पन्न हुन्छ । ती रस आस्वाद्यमय हुन्छ । रसका सन्दर्भमा आचार्य भरतले ‘विभावअनुभावव्यभिचारभावसंयोगातरसनिस्पत्ति’ भनेर उल्लेख गरेका छन् । विभाग, अनुभाव, र व्यभिचारी भावको संयोगबाट रस उत्पन्न हुने चर्चा गरेका छन् । उनी रसवादी आचार्य भए पनि रसका विषयमा उनीपश्चात्का आचार्यहरुले व्यापक चर्चा परिचर्चा गरेर रसलाई स्थापित गरेका छन् ।

यसै कारण काव्यमा नवरसको सिर्जना हुन्छ भनिन्छ । यही रस आस्वादनयोग्य हुन्छ । कुनै रसमा अवरोध सिर्जना हुनेबित्तिकै रसदोष उत्पन्न हुन्छ ।

यसैकारण मम्मटले रसको अपकर्षण नै काव्यदोष भनी बताएका छन् । उनको विचारलाई अर्का आचार्य विश्वनाथले समर्थन गरेको देखिन्छ । रसको अवरोध गर्ने अवस्था नै काव्यदोष हो भनेर भनिएको छ । यस्ता अनेकन दोषका कारण काव्यको सौन्दर्य हराउँछ । जसले गर्दा काव्य सुन्दर, सुपाच्य बनाउनका लागि शब्दको छनौट पनि ठीक किसिमले गर्न आवश्यक छ । अन्यथा काव्यदोष सिर्जना हुने र त्यसले साहित्यको मर्म र सैद्धान्तिक मान्यता माथि नै प्रश्न उठाउने अवस्था सिर्जना हुन्छ ।

पूर्वीय तथा संस्कृतका आचार्यहरुले लामो अध्ययन, अनुसन्धानबाट नै यस्ता विषयमा चर्चा गरेका छन् । आजको बजारमुखी, उत्पादनमुखी साहित्यले यस्ता विषयलाई सम्बोधन गरेको पाइँदैन । यसले गर्दा पनि नेपाली साहित्यको गरिमा र ओज खस्कँदो छ । अझ कृत्रिम बौद्धिकता (बौद्धिक सुझबुझ) ले पनि गीत, कविता, गजललगायतका साहित्यको रचना गरिदिँदा साहित्य कुन दिशातिर अग्रसर भइरहेको छ भन्ने प्रश्न पनि उठेको छ । यससन्दर्भका कारण पनि काव्यदोषको चर्चा गर्नु आजका दिनमा अपरिहार्य हुँदै गएको छ ।