विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजअगाडि दर्ता खारेजी गरेर चलाएका औषधि पसलहरूले ‘ठगीधन्दा’ मच्चाएको भेटिएको छ ।
औषधि व्यवस्था विभाग (डिडिए) मा दर्ता खारेज गरेर अवैधरूपमा फार्मेसी सञ्चालन गरी ठगी गरिरहेको भेटिएको हो । औषधिको मूल्यभन्दा बढी असुलेर बिरामीलाई ठगी गरेको अभियोगमा विराटनगर–४ मा सञ्चालित ‘मित्र फार्मेसी’ सञ्चालक विवेक शर्माविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–४ घर भएका शर्माले औषधिको कृत्रिम मूल्य कायम गरेर ठगी गरेको भेटिएपछि कारबाही अगाडि बढाइएको हो । मोरङको बेलबारी–११ की ७५ वर्षीया तीर्थकुमारी राईलाई मङ्सिर २७ गते राति मस्तिष्क घात (ब्रेन ह्यामरेज) भएपछि नोबेल अस्पताल भर्ना गरिएको थियो । २८ मङ्सिरमा उनको शल्यक्रिया भयो । बिरामीको जीवन र मरणको दोसाँधमा रहेका बेला अस्पतालबाहिरका फार्मेसीले ‘सस्तोमा औषधि दिने र पछि पैसा तिर्दा पनि हुने’ भन्दै परिवारलाई जालमा पारे ।
बिरामीका छोरा डम्बरका अनुसार सुरुमा ७५ हजार रुपैयाँ बुझाए पनि फार्मेसीले पछि एक लाख ५६ हजार रुपैयाँको बिल थमायो । “मलाई शङ्का लागेर अस्पताल र औषधिबारे जानकारसँग बुझ्दा २५ रुपैयाँ पर्ने औषधिलाई धेरै पैसा लिएको पाइयो” डम्बरले भने, “चार हजार पर्ने औषधिलाई १२ हजारसम्म लिएर हामीमाथि ठगी गरिएको रहेछ ।” ठगीको रहस्य खुलेपछि हाल सञ्चालक शर्मा फरार छन् भने पसल बन्द गरिएको छ ।
ठगी गर्ने नियतले दर्ता खारेजी
ठगी गर्ने ‘मित्र फार्मेसी’ ले नेपाल औषधि व्यवस्था विभागमा दर्ता खारेजी गरेर ठगी गरेको पाइएको छ । सञ्चालक शर्माले २०८२ असारमा विभागबाट अनुमति लिए पनि ७ महिनापछि अर्थात् कात्तिक १४ गते नै पसल दर्ता खारेज (रद्द) गरिसकेका थिए ।
तर विभागबाट पसल दर्ता खारेज गरेर पनि शर्माले दुई महिनादेखि अवैधरूपमा औषधि बिक्री गरिरहेका थिए । दिनभर पसल बन्द गर्ने र राति बिरामीका आफन्तलाई अस्पतालभित्रै पुगेर ‘छुट’ को प्रलोभन दिँदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । शर्माले नोबेलअगाडि यस्ता ४ वटा पसल दर्ता विनै सञ्चालन गरिरहेको स्रोतको दाबी छ ।
दर्ता विनाका फार्मेसी छ्यापछ्याप्ती
नोबेल मेडिकल कलेजअगाडिका फार्मेसीहरूको सञ्जाल जताततै छ तर तीमध्ये आधाजसो अवैध रहेको पाइएको छ । स्थानीय व्यवसायीहरूका अनुसार त्यस क्षेत्रमा करिब १ सय ५ वटा औषधि पसल सञ्चालनमा छन् । तर औषधि व्यवस्था विभागको तथ्याङ्कमा भने मात्र ६५ वटा पसल दर्ता भएका देखिन्छन् । बाँकी ४० वटा पसल विना दर्ता वा खारेज भइसकेका अनुमति पत्रका आधारमा सञ्चालन भइरहेका छन् ।
नेपाल औषधि व्यवसायी सङ्घ मोरङका अध्यक्ष देशबन्धु ढकालले दर्ता विनाका पसलले गर्दा दर्ता गरी सञ्चालन गर्ने व्यवसायीको समेत बदनाम भएको बताए । “हामीले गैरकानूनी ढङ्गले सञ्चालन गर्नेलाई कारबाही गर्न माग गरेका छौँ” उनले भने, “उपभोक्ताले पनि औषधि खरिद गर्दा अनिवार्यरूपमा आधिकारिक बिल माग्नुपर्छ ।” उनले बिरामी ठगी गर्ने र अवैध धन्दा चलाउनेलाई कानूनी कारबाही गर्नुपर्ने बताए ।
बिरामी ठगीको उजुरी परेपछि औषधि व्यवस्था विभाग विराटनगरले अनुसन्धान तीव्र पारेको छ । विभागका सूचना अधिकारी दीपेन्द्र खड्काले पीडितको लिखित उजुरीका आधारमा जिल्ला अदालत मोरङबाट सञ्चालकविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको पुष्टि गरे । “बिरामी ठगी गर्नेलाई कुनै हालतमा पनि छोडिने छैन” खड्काले भने, “हामीले चालु आर्थिक वर्षमा मात्रै दर्ता विना सञ्चालित दुई दर्जनभन्दा बढी औषधि पसलहरूमा शिलबन्दी गरिसकेका छौँ ।”
































